गल्ती स्वीकारे टोपबहादुरले, प्रचण्डको आदेश मान्ने

रायमाझीले संसद अवरुद्ध गर्नु अराजनीतिक कदम भएको टिप्पणी गरे

कठमाडौं पौष ९,। सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विरोधमा सडकमा देखिएका माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफूले पार्टी अध्यक्ष प्रचण्डको आदेश पालना गर्ने बताएका छन् ।

शनिबार दाङको घोराहीमा माओवादी केन्द्रले गरेको प्रशिक्षणमा प्रचण्डपछि बोल्दै नेता रायमाझीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा नेता रायमाझीले भने, ‘अध्यक्षले धेरै कुरा भनी सक्नुभएको छ । यसमा मेरो बिमति छैन । तपाईहरुलाई थाहा छ, पाँच नम्वर प्रदेशमा आन्दोलन छ, म पनि आन्दोलनमा छु । पार्टीभित्र वादविवाद, बिमति हुन सक्छन् । तर, त्यसलाई हामीले रुपान्तरणको विधिबाट हल गर्छाैं । म पार्टी र अध्यक्षको निर्देशन बाहिर जान्न । अध्यक्षको आदेश पालना गर्न म तयार छु, यसमा तपाईहरु ढुक्क हुँदा हुन्छ ।’

प्रशिक्षणमा प्रचण्डले टोपबहादुरजीले सडकको मोर्चा सम्हाल्नु भएको छ भन्ने कुरातर्फ संकेत गर्दै नेता रायमाझीले भने, ‘अध्यक्षले टोपबहादुरजीले सडकको मोर्चा सम्हालिरहेको छ भन्नुभयो । हो, मैले सडकको मोर्चा सम्हालेको छु । जनता सडकमा छन्, यसलाई कसैले दुरुपयोग गरेर साम्प्रदायिकतामा नलैजाओस् भन्ने मेरो चाहना छ । संघीयता पनि कार्यान्वयन हुने जनमत पनि जोगाउने मेरो प्रयास हो । अरु मेरो केही छैन, विवादले रुपान्तरणमा लैजान्छ, म रुपान्तरणकै पक्षमा छु र हुनेछु ।’

प्रशिक्षणमा रायमाझीले संसद अवरुद्ध गर्नु अराजनीतिक कदम भएको टिप्पणी गरे । रायमाझीले भने, ‘अध्यक्षले भनिसक्नु भयो, कि प्याकेजमै सहमति कि विधि, योभन्दा अर्को बिकल्प छैन । सदन अवरुद्ध गरेर संविधान संशोधन र निर्वाचन रोक्नु हुँदैन । संसद विधिमा चल्न दिनुपर्छ, अलोकतान्त्रिक तरिकाद्धारा समस्याको हल हुँदैन ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!