सभामुखले फेरी डाकिन सर्वदलीय बैठक

काठमाडौं, पुष १० ।
संविधान संशोधन प्रस्तावमाथि देखिएको विवाद अन्त्य गर्न सभामुख ओनसरी घर्तीमगरले दलहरुबीच फेरी छलफलका लागि बैठक बोलाएकी छिन् ।

यसअघि सभामुखले शीर्ष तीन दलसँग छलफल गरेपनि नतिजा निस्केको थिएन ।

सभामुखले अवरुद्ध संसद खोल्ने र असहमतिलाई संसदको मञ्च प्रयोग गरेर हल गर्ने सुझाव सहित यसअघि बैठक बोलाएकी थिइन । तर प्रतिपक्षी नेकपा एमालेको अडानका कारण बैठकमा कुनै निश्कर्ष निस्केन ।

सभामुख ओनसरी घर्तिमगरले सोमवार फेरि दलहरुको बैठक बोलाएर अवरुद्ध संसद र संशोधन प्रस्तावका बारेमा छलफल गर्ने भएकी हुन ।
संविधान संशोधनको सरकारी विधेयकको विरोधमा प्रमुख विपक्षी एमाले लगायतका दलहरुले मंसिर १६ देखि लगातार संसद अवरुद्ध पार्दै आएका छन् । बिडम्बनाको कुरा त के भने सरकारले संसद खोल्न कुनै पहल नगरेको समेत उनीहरुले आरोप लगाइरहेका छन् ।
दलहरुबीच सहमति जुटन नसकेपछि सूचना प्रकाशित गरेर बैठक स्थगित गर्दै आएकी सभामुख घर्तिले आईतवार निर्धारित संसद बैठक सारेर दलहरुको बैठक बोलाएकी हुन । संसदमा १० भन्दा बढी सांसद भएका ७ दलका शीर्ष नेता र प्रमुख सचेतकहरुको बैठक सोमवार बोलाइएको सभामुख घर्तिका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

संसदमा अख्तियारका निलम्बनमा परेको प्रमुख आयुक्त लोकमानमाथिको महाअभियोग, निर्वाचन र संशोधन प्रस्तावलगायतका छलफलका प्रस्ताव दर्ता छन् । सदन अवरुद्ध भएका कारण महाअभियोग प्रस्तावमा समेत छलफल हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!