चुनावमा होमियो कांग्रेस, तत्काल मिति घोषणा गर्न माग

काठमाडौं, कांग्रेसले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आगामी दुई महिनाभित्र स्थानीय निर्वाचन हुनुपर्ने विषयमा छलफल भएको महामन्त्री डा. शशाङ्क कोइरालाले जानकारी दिए ।

निर्वाचन स्थानीय तहको नयाँ वा पुरानो कुन संरचनामा गर्ने भन्ने बहसमा कांग्रेसले पुरानै संरचना अर्थात् तहको निर्वाचन गर्दा सजिलो हुने निष्कर्ष निकालेको महामन्त्री डा कोइरालाले बताए । कांग्रेसले जसरी भए पनि स्थानीय निर्वाचन गराउनुपर्ने सरकारसँग माग गरेको छ । स्थानीय निर्वाचन घोषणा गर्दा हाल संसद् अवरुद्ध गर्दै आएका एमाले लगायत विपक्षी दलमाथि संसद् खोल्न दबाब पर्ने कांग्रेसको रणनीति छ ।

निर्वाचन मिति घोषणा गर्ने सम्बन्धमा कांग्रेसले एमाले, माओवादी केन्द्र लगायत दलसँग छलफल गरी राष्ट्रिय सहमति खोज्ने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । संविधान संशोधन विधेयकमाथि संसद्‍मा छलफल गर्न दिनुपर्ने पनि उनको भनाइ छ । संसद् खोल्ने सम्बन्धमा कांग्रेसले सबै दलसँग छलफल सुरु गर्ने निष्कर्ष निकालेको छ । बैठक भोली सोमबार पनि बस्नेछ । रासस

कमेन्ट गर्नुहोस्