राष्ट्रियताका लागि विचारको लडाईं लड्नुपर्ने बेला आएको छः अोली

काठमाडौ, पुस १८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीले राष्ट्रियताका लागि विचारको लडाईं लड्नुपर्ने बेला आएको बताएका छन् ।

एमाले स्कुल विभागद्वारा आइतबार तुल्सीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा ‘नेपाल बुद्धिजीवि परिषद्को प्रशिक्षण समापन’ कार्यक्रममा बोल्दै उनले नेपालको राष्ट्रिय सन्दर्भमा महाभारत खडा गर्न थालिएकाले बुद्धिजीवीले विचारको लडाईं लड्नु पर्ने बताए ।

“अर्जुनसँग सधैँ धनुष हुन्थ्यो । उनले धनुषको प्रयोग महाभारतमा मात्र गरे”– उनले भने– “तपाई बुद्धिजीवीसँग पनि धनुषको रुपमा विचार रहेको छ । देशमा पनि महाभारतको स्थिति खडा गरिँदैछ । तपाईँहरु पनि विचारको गान्डीव धनुष प्रयोग गर्नुहोस् ।”

ओलीले नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएकाले आफ्नो निर्णय आफैँ गर्न पाउनुपर्ने भएता पनि अहिले पाइलैपिच्छे हस्तक्षेप भइरहेको बताए । उनले सरकार विदेशीलाई खुशी पार्न लागिपरेको आरोप पनि लगाए ।

अध्यक्ष ओलीले आफू देश र जनताको पक्षमा रहेपनि नेपालका ठूला सञ्चारमाध्यम एमालेविरुद्धको प्रचार अभियानमा लागेको बताए। “हामी सञ्चार क्षेत्रमा कमजोर छौँ । लगानी पनि छैन”– उहाँले भन्नुभयो, “हामीले भनिरहेको जस्तो भएको छैन । हाम्रा विपक्षमा सञ्चारमाध्यम लागेका छन् ।”

तीन दिनसम्म भएको प्रशिक्षणमा ४२ जनाको सहभागिता रहेको थियो । प्रशिक्षणमा १३ विषयमा प्रशिक्षण दिइएको स्कुल विभाग सचिव ईश्वरी रिजालले जानकारी गराए । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!