मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन स्थानीय तहको संख्या बढाइयो–प्रधानमन्त्री

“कुनै पनि राजनीतिक दलको कार्यक्रममा व्यवधान गर्नु हुँदैन, कुनै अप्रिय घटना हुन नदिन सरकार गम्भीर छ ”

विराटनगर, फागुन २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि हालतमा स्थानीय निर्वाचन स्थगन नहुने स्पष्ट पारेका छन् ।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनका लागि छलफल भइरहेको र स्थानीय तहको सङ्ख्यामा वृद्धि गरिएपछि मोर्चा निर्वाचनमा सहभागी हुने बताए ।

स्थानीय तह पुनःसंरचना आयोगले आज प्रतिवेदन बुझाउने र तराई–मधेसमा केही तहको सङ्ख्या वृद्धि हुने प्रधानमन्त्रीले बताए । उनले भने– प्रान्तीय र संसदीय निर्वाचनका लागि संविधान संशोधन आवश्यक छ तर अहिले हामी स्थानीय तहको निर्वाचनमा जुटेका छौं यो निर्वाचनका लागि संशोधन गर्नैपर्छ भन्ने छैन ।’ पत्रकारको जिज्ञासमा प्रधानमन्त्री प्रचण्डले आफ्नै नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन गराउने बताए ।

मधेसको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले भने, “राष्ट्रको भविष्य र राजनीतिक स्थिरताका लागि मधेस–पहाड र हिमाललाई मिलाएर मधेसी र थारुको मागलाई सम्बोधन गर्न सरकार दृढ छ । ”

संविधान संशोधनको प्रस्तावलाई परिमार्जन गर्ने विषयमा छलफल भइरहेको र संसद्मा मतदान गराएर असफल गराउनुभन्दा दलहरुबीच समझदारी गराएर प्रस्ताव पारित गराउने आफ्नो योजना रहेको उनको भनाई थियो ।

उनले नेकपा (एमाले)को मेची–महाकाली अभियानलाई सकारात्मक रुपमा लिनुपर्ने प्रचण्डले बताए । उनले भने एमालेको अभियानलाई गलत रुपमा लिनु हुँदैन, बरु मोर्चाले अभियान गर्ने वातावरण बनाउनुपर्छ । कुनैपनि हालतमा द्वन्द्वको अवस्था सिर्जना हुन दिनुहुँदैन। “कुनै पनि राजनीतिक दलको कार्यक्रममा व्यवधान गर्नु हुँदैन, एक अर्काको सम्मान गर्नुपर्ने लोकतन्त्रको नीति हो, कुनै अप्रिय घटना हुन नदिन सरकार गम्भीर छ ”, प्रधानमन्त्री प्रचण्डले भने । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!