स्थानीय चुनाव कुनै हालतमा रोकिँदैनः प्रधानमन्त्री

काठमाडौँ, फागुन २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

बिहीबार राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तनको अनुभूति जनताको तहसम्म पुर्‍याउन स्थानीय चुनाव अपरिहार्य रहेको बताए । साथै उनले चुनाव सम्पन्न गर्ने काममा केन्द्रित हुन पनि मातहतका निकायलाई निर्देशन दिएका छन् ।

संविधानले स्थानीय तहको निर्वाचन हुँदै केन्द्रीय तहको निर्वाचन गर्ने व्यवस्था गरेकाले त्यसमा दायाँबायाँ गर्ने अवस्था नरहेको उनले बताए ।

बिहीबार राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने-‘राजनीतिक संक्रमण लम्बिँदै जाँदा जनतामा निरासा छाउँछ, पश्चगामी शक्तिले टाउको उठाउने प्रयास गर्दछन् । नयाँ संविधानले स्थानीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहित महत्वपूर्ण अधिकार दिएको छ । ती अधिकारको कार्यान्वयनका लागि निर्वाचनको कुनै बिकल्प छैन । स्थानीय तहको निर्वाचनले मात्र सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा लैजाने वातावरण बन्छ । त्यसैले स्थानीय निर्वाचन अपरिहार्य छ ।’
सूचनाको हक लोकतन्त्रको स्तम्भ भएकोमा प्रधानमन्त्रीले जोड दिनुभयो ।

प्रधानमन्त्रीले भने-‘सूचना र सूचनाको हक प्रभावकारी भयो भने मात्रै लोकतन्त्र बलियो हुन्छ ।

लोकतन्त्र संस्थागत गर्न निर्वाचनको कुनै बिकल्प नभएको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले भने–‘लोकतन्त्रको व्यवहारिक प्रयोग भनेकै निर्वाचन हो । हामीकहाँ घोषणामा लोकतन्त्रलाई स्वीकार्ने तर लोकतान्त्रिक संस्कृतिको निर्माण र अवलम्बन गर्ने कुरामा समस्या छ । लोकतन्त्रका लागि निर्वाचन र राजनीतिक प्रतिस्पर्धालाई सहजतापूर्वक आत्मसात गर्न जरुरी छ ।’

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमूख आयुक्त कृष्णहरि बाँस्कोटा, आयुक्तहरु यशोदादेवी तिम्सिना, किरणकुमार पोखरेलले सूचनाको हकसम्बन्धि प्रतिवेदनलाई व्यवस्थापिका–संसदमा छलफल विषय बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!