चिन्ह नपाए चुनाव हुन दिन्नौं : भट्टराई

272 पटक पढिएको

गोरखा, वैशाख ९ । नयाँ शक्ति पार्टीका संयोजक बावुराम भट्टराईले साना दलहरुले चुनाव चिन्ह नपाए निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

पार्टीले शनिबार पालुङटारमा आयोजना गरेको जनसभामा बोल्दै नेता भट्राइले चिन्ह प्राप्तिका लागि जस्तो सुकै संघर्ष पनि गर्न तयार रहेको बताउँदै भने, ‘चुनाव लड्छु भन्दा भन्दै चिन्ह नदिएर निर्दलीय पञ्चायती व्यवस्था ल्याउन खोजिको छ । त्यस्तो म हुन दिन्न ।’ उनले भने, ‘हामी चुनावको विरोधी होइनौ, तर चिन्ह पाइएन भने अरुलाइ पनि किन चुनावमा होमिन दिने ?’

चुनाव जितेर नयाँ शक्ति पार्टी सत्तामा पुगिछाड्ने उनले दावी गरे । ‘चुनाव जसरी पनि गर्नुपर्छ, तर सत्ताधारीहरुले सार्न खोजिरहेका छन’, उनले कार्यकर्ताहरुलाई भने, ‘चुनावको तयारीमा जुट्नु होस ।’

नयाँ शक्तिले तराई, पहाड र हिमाल जोडेर राष्ट्रियता जोगाउने भट्टराईले बताए । ‘नयाँ शक्ति चुनाव जितेर देशलाई समृद्ध बनाउने लिगलिगे दौडमा छ’, उनले भने, ‘प्रचण्ड, शेरबहादुर देउवा र केपी ओलीले सत्ताको खेल छाडून् ।’

पार्टी निर्वाचन आयोगमा दर्ता भएर पनि चुनाव चिन्ह नदिएको प्रति उनले आक्रोश व्यक्त गरे । ‘भगवान कृष्णको विरुद्ध कंशहरुको हर्कत सुरु भएको छ, प्रचण्ड कंश भए’, उनले भने । सत्ताको दुरुपयोग गरेर चुनाव चिन्ह नदिएको उनको भनाई थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  विकासको मुल फुटाउन बामपन्थीको स्थायी सरकार : श्रेष्ठ