कैलारीका किसान बगर खेतीबाट सन्तुष्ट

387 पटक पढिएको

कैलाली,वैशाख २७ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ का स्थानीयले बगर खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । छोटी पलिया, बिसनपुर र बड्का पलिया गाउँका स्थानीयले मोहना नदीको किनारमा बगर खेती गरेर आम्दानी गर्न थालेका हुन । गतविगतबाटै बगर खेतीमा अभ्यस्त सो ठाउँका स्थानीयवासीले गतवर्षदेखि भने व्यावसायिक रुपमा बगर खेतीलाई विस्तार गरेका छन् ।
तीन वटै गाउँका गरी ६० जना किसानले व्यावसायिक रुपमा बगर खेती गरिरहेको जनाइएको छ । उनीहरुले मोहना नदीको बगरमा तरबुज, काँक्रो, करेला, लौका, फर्सी फलाएर आम्दानी गरिरहेका छन् ।
बगर खेतीमा संलग्न प्रायः सबै किसानले अहिले आफ्नो बारीको उत्पादन धमाधम बिक्री गरिरहेको विसनपुर गाउँका मञ्जु बखरियाले जानकारी दिए । उनले आफ्नो परिवारले समेत चार कट्ठा जमिनमा बगर खेती गरेको उल्लेख गर्दै उत्पादन प्रशस्त भए पनि बजारसम्म पु¥याउन नसकिएको बताए ।
‘अरु किसानले विभिन्न गाउँ र बजारमा लगेर धमाधम आफ्नो उत्पादन बिक्री गरिरहेका छन्’, उनले भने ‘उत्पादन बढी भए पनि हामीले भने बजारमा पठाउन सकि रहेका छैनौं ।’
गतविगतमा आएको बाढीका कारण साविकको पवेरा गाविसमा पर्ने यी गाउँका अधिकांश जमिन बगरमा परिणत भएको थियो । बलौटे जमिनमा अन्न उत्पादन नभएपछि जिविकोपार्जनका लागि स्थानीयलाई बगर खेतीतर्फ अग्रसर गराइएको हो ।
गाउँमा विभिन्न समूह गठन गरेर उनीहरुलाई बगर खेतीबारे प्राविधिक ज्ञान समेत दिइएको थियो । तर, व्यक्तिहरुले बगर खेती भने सामूहिक रुपमा गरेका छैनन् । उनीहरुले आ–आफ्ना जमिनमा उक्त खेती व्यक्तिगत रुपमा गर्दै आएको जनाइएको छ ।
जनजिविका चलाउन सहज हुने उद्देश्यका साथ लापा अन्तर्गतको नेपाल जलवायु अनुकूलन परिवर्तन सहयोग कार्यक्रम (एनसीसीएसपी) मार्फत स्थानीयलाई बगर खेतीमा अग्रसर गराइएको हो । बगर खेतीको आम्दानीले घर गुजारा गर्न सजिलो भएको छोटी पलियाका भागीराम चौधरीले बताए ।
विगतको बाढीका कारण उत्पादनयोग्य जमिन बिग्रेको स्मरण गर्दै उहाँले बगर खेती गर्दा राहत महसुस भएको उल्लेख गरे ।
‘बगरमा मिहिनेत गरेपछि मिहिनेत अनुसार फल प्राप्त हुने रहेछ’, सोही गाउँका बालिराम चौधरीले भने ‘अहिले बारीमा भएको उत्पादन बिक्री गर्न भ्याइ नभ्याइ भएको छ ।’
बगर खेतीमा सक्रिय ती कृषकहरुले तरबुज प्रति किलो २५ रुपियामा बिक्री गरिरहेका छन् । त्यसैगरी, गाउँघरमा गहुँसंग बराबरमा तरबुज साटी रहेका छन् । बगर खेतीले आफूहरु जस्ता विपन्न परिवारलाई ठूलो राहत भएको छोटी पलियाका तेजराम चौधरीले बताउनुभयो । उहाँले बारीमा उत्पादित कृषि उपज बिक्री गरेर बालबच्चा पढाउन सजिलो समेत भएको बताए ।
‘हामी कृषकलाई कृषि सामाग्रीको जोहो र बालबच्चा पढाउनेबारे नै बढी चिन्ता हुने गर्दछ’, उहाँले अगाडि थप्नुभयो–‘गत वर्षदेखि व्यावसायिक रुपमै बगर खेती गरेपछि सजिलो भएको छ । समयमै बालबच्चाको पढाई खर्च जोड्न सकेका छौं ।’
विक्रम सम्वत २०६४÷०६५ मा लगातार दुई वर्ष आएको ठूलो बाढीले यी गाउँहरुलाई नै तहस नहस पारेको थियो । त्यो बेलाको बाढीले मानवीय बस्तीमात्रै बिगारेन, उनीहरुले गुजाराका लागि खेतीपाती गर्ने जमिन नै बगरमा परिणत गरेको थियो । बाढीले घर खेत बिगारेर दिएको चोटमा बगर खेतीले मलम–पट्टी गर्ने काम गरिरहेको कृषक बालिरामको भनाइ छ ।
‘उर्वरभूमि बगरमा परिणत भएपछि भोकमरीको चिन्ताले साह्रै सताएको थियो’, उनले अगाडि थपे ‘बगर खेतीबाट केहि राहत भएपछि बाढीले दिएको चोटमा मलम–पट्टी लागेको महसुस गरेका छौं ।’
सङ्कटासन्न ठाउँका स्थानीयहरुको जिविकोपार्जन अनुकूलनमा सहयोग पु¥याउने उद्देश्यले व्यावसायिक बगर खेतीलाई प्राथमिकता दिइएको पवेराका लापा सहजकर्ता रामशरण चौधरीले बताए । पवेरा भरी ६० जना किसानले व्यावसायिक रुपमा बगर खेती गरेको जानकारी दिए । बगर खेतीमा किसानहरुलाई सहयोग पु¥याउने उद्देश्यका साथ नेपाल जलवायु अनुकूलन परिवर्तन सहयोग कार्यक्रमले तालिम र बीउबिजनको व्यवस्था गरि दिएको थियो । किसानहरुले सीप सिकेपछि मात्रै व्यावसायिक बगर खेतीमा सक्रिय भएको जनाइएको छ । प्रत्येक गाउँका एक किसानले कम्तीमा पनि तीनदेखि चार कट्ठा जमिनमा बगर खेती गरेको लापा सहजकर्ता चौधरीको भनाइ छ । अहिले सबैले आफ्नो उत्पादन बिक्री गरिरहेको उहाँले जानकारी दिए ।

सम्बन्धित् समाचार  निगमले दुई वाइडबडी विमान खरिद गर्ने

कमेन्ट गर्नुहोस्