दुई-दुई जना पूर्व मालिकसँग चुनावी प्रतिस्पर्धामा जग्गुराम

894 पटक पढिएको

गोकर्ण भट्ट

बीस वर्ष अघि यतिखेर उनी खेतमा कोदालो चलाई रहेका हुन्थे । बारिको डीलमा उभिएका हुन्थे मालिक– अरे जग्गु, थोडा और हात चला ।

ऋृतु फेरिए, समय फेरियो । हिजो मालिकको खेतमा पसिना चुहाउने तिनै जग्गुराम अहिले भने आफ्नै मालिकको समकक्षी चुनावमा उभिएका छन् ।

“कमैया राखेका मान्छेसँग चुनाव लड्न पाउँदा अर्कै अनुभूति भइरहेको छ, भन्छन् उनी ।

त्यसो त उनले कहिल्यै यो कुरा कल्पना समेत गरेका थिएनन् । जिन्दगी यस्तै न हो हामीहरुको, कमैया जिन्दगी । मालिकको जुठोपुरो खाएर उनको खेतमा जोतिनुपर्ने । सोच्थे उनी । उनीमात्रै होइन, उनीजस्ता हजारौं कमैयाहहरुले यही सोच्थे । तर माओवादी युद्दको ज्वारले यो सबै परिवर्तन गर्यो ।

सशस्त्र युद्दको रापसँगै २०५७ सालमा शेर बहादुर देउबाले कमैया मुक्तिको घोषणा गरे । कमैयाहरुमा माओवादी प्रभाव रोक्ने यो रणनैतिक कदम थियो देउबाका लागि ।

यता जग्गुराम भने त्यसअघि नै मालिककको घर छोडर मिलमा काम गर्न थालिसकेका थिए । उनका मालिक धीर बहादुर पालको घरबाट निस्किए उनी । पालहरु आफूलाई ठकुरी बताउने, यताका सामन्त । जग्गुका अगाडि कुनै विकल्प थिएन । र,नले नजिकै सानो झुप्रो ठड्याएर जीविकाका बाटाहरु पहिल्याउनतर्फ लागे ।

र, यही बीचमा उनी माओवादीको सम्पर्कमा पुगे । यो उनको जीवनको युगान्तकारी मोड थियो । उनले योसँगै शोषण, दमनलगायतका कुराहरु सुने, बुझे । अनुभूति त आफ्नै जीवनमा उनले धेरैपल्ट गरिसकेका थिए ।

जीविकाका खोजीमा जग्गु काम गर्न पुगे स्थानीय मिलमा । कुटानी पिसानी गर्ने मिलमा उनले काम शुरु गरे । यता माओवादीसँगको सम्पर्क भन्दै सेनाले गिरफ्तार गर्यो संकटकालमा । एक महिनामा रिहा भए उनी । त्यसपछि फेरी उही मजदूरको जिन्दगी । दश वर्ष बिताए उनले त्यही मिलमा ।

सम्बन्धित् समाचार  नयाँ शक्तिमा गएका सबै पूर्व माओवादीहरु केन्द्रमा फर्किने प्रचण्डको खुलासा

संयोग नै भनौं मिलका मालिकसँग पनि अहिले यिनै जग्गुराम प्रतिष्पर्धी भएर चुनावमा उठेका छन् ।

“मान्छेका जिन्नगी, पैलाको मालिक र पछिको मालिक दुबैसँग चुनाव लड्दैछु ।” चिम्सिएका आँखामा बेग्लै चमक देखिन्थ्यो उनको ।

५ वर्ष कमैया बनेका धीर बहादुर पाल अहिले भीमदत्तनगर पालिका वडा नं. १९ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् । त्यसपछि १० वर्ष मजदूरको रुपमा काम गरेका मालिक दामोदर महरा भने नेकपा एमालेबाट उम्मेदवार छन् । उनी भने माओवादी केन्द्रबाट ।

“दुवै मालिकविरुद्ध लडिराछु सबैले माया गरेका छन् जितिन्छ पक्कै” पूर्ण आशावादी छन् उनी ।

जन्मदेखि मरुञ्जेलसम्म मालिकको दयामायामा जीन्दगी बिताउनुपर्ने नियती बोकेका जग्गुराम आफू मालिककै विरुद्ध चुनाव लड्न सक्षम हुनेको श्रेय भने माओवादीलाई दिन्छन्। कमैया त धेरै मुक्त भए तर शोषणबाट मुक्तिको बोध भने माओवादीले दिएको बताउँछन् उनी ।

जग्गुरामको उम्मेदवारीले दुबै मालिक भने हतास भएको स्थानीय अशोक दमाई बताउँछन् । “म मालिक र तिमीहरु रैती, हलिया, कमैया भन्ने मानसिकतालाई प्रहार गरेका हुन जग्गुरामले । अहिले दुबै मालिक आत्तिएका छन् ।” उनी भन्छन्, “यसले हामी गैर थारुहरुलाई समेत ठूलो प्रेरणा मिलेको छ ।”

जग्गुरामको उम्मेदवारीले वडा नं. १९ मा रहेका दलित, गरीब, सुकुम्बासी र आर्थिकरुपमा विपन्नहरुलाई निकै ठूलो उर्जा मिलेको छ । जिन्दगीमा परिवर्तन पनि हुने रहेछ र विपन्न, असहाय र दुखको नियती भोग्न बाध्यहरुले पनि केही गर्न सक्ने रहेछन भन्ने सन्देश जग्गुरामको उम्मेदवारीले दिएको अशोक बताउँछन् ।

वर्षौदेखि वडा नं. १९ मा बस्दै आएका जग्गुरामको वडाको विकासको राम्रो सोच देखिन्छ । आफै समस्या झेलेका कारण उनलाई आम वडावासीले के खोजेका छन् भन्ने कुरा राम्रोसँग बुझेको उनी बताउँछन् । “१९ नम्बर वडा हेपिएको वडा हो नगरपालिकामा । यो क्षेत्रमा सामूहिकरुपमा खासै पहल भएन पनि । समाज विभाजित छ । त्यसैले विकास पनि त्यति हुन सकेको छैन । म आफैले यहाँको सबै कुरा बुझेको छु । जितेपछि के गर्ने भन्ने योजना बनाएको छु ।” उनी भन्छन् ।

सम्बन्धित् समाचार  मिडियाबाटै चुनाव आचारसंहिता उल्लंघन– निर्वाचन आयोग

जग्गुका अनुसार, १९ नम्बर वडाको सबैभन्दा ठूलो समस्या भनेको पूर्वाधारको विकास नहुनु हो । नगरपालकाका कतिपय वडामा पक्की सडक भएपनि बेल्डाँडीसँग जोडिने छोटो सडक समेत रहेको यो वडा भने उपेक्षित भएको उनी बताउँछन् । सडक कालोपत्रे गर्न सकेमात्रै अकालमैं ज्यान गुमाउने अवस्थाबाट मुक्त हुने उनी बताउँछन् ।

आरक्षसँगै जोडिएको छ वडा नं. १९ । शुक्लाफाँटा बन्यजन्तु आरक्षको सीमाका कारण यो क्षेत्र सधैं भयभीत नै रहने उनी बताउँछन् । यसको व्यवस्थापन उनको मुख्य जिम्मेवारी हुने छ । यति मात्रै नभएर खानेपानीको समेत ठूलो समस्या रहेको उनी बताउँछन् । आर्सेनिकयुक्त पानी खान बाध्य छन् जनताहरु । व्यवस्थित खानेपानीको योजना, आर्सेनिकको परीक्षण, गुणस्तरीय शिक्षाका लागि प्राविधिक शिक्षालयको व्यवस्था, वडा नं. १९ मा सार्वजनिक स्वास्थ्यमा पहुँचका लागि व्यवस्था, दलित, महिला, सुकुम्बासीलगायतलाई रोजगारीका लागि पहल उनका अरु प्राथमिकता हुन ।

नगरपालिकाभित्र उनले आफ्नो पक्षमा जनमत निर्माण गर्न कसरत गर्नुपरेपनि विजय भएपछि जनताको साथले धेरै काम गर्न सक्ने सपना बुनेका छन् उनले ।

“मालिकहरु रिसा का होलान नि ?” भन्ने प्रश्नमा जग्गु भन्छन्, “कहिल्यै पो खुशी भएका थिए र उनीहरु ? मेरो लडाई उनीहरुसँग व्यक्तिगतरुपमा होइन, बरु कोही मालिक कोही दास नहुने प्रणालीका लागि हो ।”

कमेन्ट गर्नुहोस्