हिजै ३ महिने छोराको मृत्यु, आज वडाध्यक्षमा विजयी, अबीर लगाउन सकेनन् सोमनाथले

1129 पटक पढिएको

गोकर्ण भट्ट, कपिलवस्तु, असार १८ ।

मान्छेको जिन्दगी, जे भए पनि सहनै पर्छ । यस्तै भएको छ वाणगङ्गा नगरपालिका वडा नं. ११ का सोमनाथ अर्याललाई ।

कपिलबस्तु जिल्लाको वाणगङ्गा नगरपालिका वडा नं. ११ का माओवादी उम्मेदवार हुन अर्याल ।

ओदारी घर भएका अर्याल वडाध्यक्षमा विजय भएको घोषणा गरिरहँदा उनका आँखामा आँसु रसाइरहेका थिए । यता जीतको खुशी, अर्कोतर्फ हिजोमात्रै तीन महिने छोराका मृत्यु । दुख र सुखको संयोग एकैपटक । न रुन सकिने, न त धीत मरेर हाँस्न नै । “स्तब्ध अवस्थामा छु । छोरालाई केही नभएको भए कति खुसी भइन्थ्यो होला ।” सोमनाथ भन्नुहुन्छ ।

वडामा उनले एक हजार ६ सय सन्ताउन्न मत प्राप्त गरे । प्रतिष्पर्धि नेपाली कांग्रेसले ११ सय ६३ मात्रै ल्याउन सक्यो । जनतामाझ लोकप्रिय मानिन्छन् अर्याल । जिताए पनि । तर व्यक्तिगत जीवनमा भने उनले ठूलै कुरा गुमाए ।

उनी चुनाव प्रचार र मतगणनाको चटारोमा छँदा सुत्केरी बस्न श्रीमती गुल्मीको सिमलटारे गएकी थिइन । उनी यता चुनावमा व्यस्त । घरदैलो, आमसभा, कोणसभा, भेटघाट । तर यही बीचमा आत्तिने गरी समाचार सुने उनले, “छोरा सिकिस्त छ रे, पाल्पा या बुटवल लैजानुपर्यो ।”

बच्चालाई खोप लगाएपछि ज्वरो सुरु भएर निमोनिया भएको रहेछ । दुई तीन दिनसम्म घरमा निको नभएपछि मावलीकाले पाल्पा प्रबास पुर्याए । “तर बचाउन सकिएन, आइसियुमा राखेको ५ मिनेटमैं बित्यो ।” वहाँ भन्नुहुन्छ ।

“२० वर्षपछि छोरा पाएको, त्यो पनि छोडेर गयो । यता जनताले जिताएका छन् । म स्तब्ध अवस्थामा छु ।”

र, यो घटनाको ठीक भोलीपल्ट आज सोमनाथ अत्यधिक मतान्तरले विजयी भएको घोषणा भयो । अरु बेला भएको भए उनी अहिलेसम्म रंगिई सक्थे होलान् । तर उनले अबीर दल्न सकेनन् । हिजो मात्रै त्यति ठूलो शोक । “यस्तोमा अबीर नदल्ने सामाजिक परिपाटी र संस्कार छ, मनले पनि मानेन्, त्यसैले ५ दिनपछि औपचारिक रुपमा विजय मनाउँछौं ।” वहाँले भने ।

तीन महिना अघि छोराको जन्म हुँदा परिवारमा नै उल्लास छाएको थियो सोमनाथको । यसअघि उनका कुनै बच्चा भएका थिएनन् । भन्नुहुन्छ, “२० वर्षपछि छोरा पाएको, त्यो पनि छोडेर गयो । यता जनताले जिताएका छन् । म स्तब्ध अवस्थामा छु ।”

२० वर्षपछि छोरा पाएपछि हर्षित थिए सोमनाथ । दुई वर्ष एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका सोमनाथले छोरा जन्मेको खुशी मनाइरहेकै बेला माओवादी केन्द्रले उनलाई वडाध्यक्षमा टिकट दिने निर्णय गर्यो । यसले झनै थपियो खुशी । पश्चिमाञ्चलको चलन, सुत्केरी बारेपछि श्रीमती छोरा लिएर माइत गइन । उनी भने यता चुनावमा होमिए । मावलीमा छोरा श्रीमती भएकोले ढुक्क हुने अवस्था थियो । चिन्ता केही थिएन । तर…।

“बच्चामा लगाउने डिपिटी हो या के खोप लगाएछन् । त्यसको टाइमिङ बिग्रयो कि के भयो, छोरालाई ज्वरो आएछ । बढ्दै गयो, जोगाउन सकिएन ।” अर्यालले एभरेष्टदैनिकडटकमसँग कुरा गर्दै भन्नुभयो ।

५ दिनपछि भने अर्यालले विजयोत्सव मनाउने स्थानीय पार्टीले तयारी गरेको छ । अहिले उनको दुखमा स्थानीय पार्टीले पनि साथ दिएको छ ।

दुखी भएपनि जनतासँग गरेका वाचा र प्रतिबद्धता पुरा गर्न भने यो दुखले झनै आँट दिएको सोमनाथ बताउनुहुन्छ । “मेरो व्यक्तिगत क्षति भएपनि जनताले भरोसा गरेर जिताएका छन् । वडा नं. ११ र सिँगो नगरपालिकाका लागि मेरो भूमिका झनै सशक्त बनाउने अठोट लिएको छु ।”

कमेन्ट गर्नुहोस्