धनगढीकाे स्थानीय चुनाव: एमाले खस्कियो, माओवादीको सुधार

3232 पटक पढिएको

लोकेश धामी

धनगढी,  २०७० सालमा भएको संविधानसभाको उपनिर्वाचनमा धरौटीसमेत जफत भएको नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनसम्म आईपुग्दा क्षेत्र नम्बर ६ अर्थात धनगढी उपमहानगरपालिकामा आफ्नो अवस्थामा सुधार गरेको छ ।

स्थानीय चुनावमा उसले धनगढीका ५ वटा वडामा जितेको छ भने प्रमुखमा एमालेको भन्दा बढी मत पाएको छ । शुरुदेखि नै मेयरमा तेस्रो रहँदै आएका एमालेका मेयरका उम्मेदवार दुर्गा जोशीलाई अन्त्यमा पछि पार्दै माओवादीका रामसमझ राना तेस्रो भए । रानाले १०२०९ मत पाउँदा जोशीले ९९४६ मत प्राप्त गर्दै चौथोमा सीमित भए ।

क्षेत्र नम्बर ६ अन्तरगत पर्ने फूलबारी र उर्मालाई गाँभेर धनगढी उपमहानगरपालिका बनाइएको छ । काँग्रेस सभापतिसमेत रहेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले छाडेपछि भएको संविधानसभाको उपनिर्वाचनमा माओवादी यहाँ राप्रपा नेपाल भन्दा पनि पछाडि थियो ।
उपनिर्वाचनमा माओवादीले १ हजार ७ सय मत ल्याएर धरौटीसमेत जोगाउन नसक्दा एमालेले भने काँग्रेसलाई कडा टक्कर दिएको थियो । १४७८४ मत ल्याएर काँग्रेसका पुष्करनाथ ओझा विजयी हुँदा एमालेका महेश्वर पाठकले ११९५९ मत पाएका थिए । उक्त निर्वाचनयता नयाँ मतदाता संख्या पनि धेरै थपिएको छ ।
उपनिर्वाचनको तुलनामा अहिलेको अवस्थामा सुधार आए पनि अप्रत्यासित भने नभएको नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज रमेश धामीले बताए । ‘संविधानसभाको पहिलो चुनाव हामीले जितेका थियौं त्यसकारण अप्रत्यासित सुधार होइन ।’ उनले भने–‘तर उपनिर्वाचनसम्म आईपुग्दाको अवस्थालाई हेर्ने हो भने हामीले आफ्नो धनगढीमा आफ्नो स्थितिलाई बलियो बनाएका छौं ।’
उनले आफ्नो पार्टीको एजेण्डा जनतालाई बुझाउन सक्दा माओवादीको जनमत बढे पनि माओवादीका एजेण्डा जनतालाई बुझाउन अझै मेहनत गर्नुपर्ने देखिएको बताए । ‘धनगढीमा चुनाव जित्छौं भन्ने हाम्रो योजना थियो तर योजनाअनुसार केन्द्रीत हुन सकेनौं र आफ्नो मत सुरक्षित गर्न नसक्दा हार व्यहोर्नु प¥यो ।’ माओवादी केन्द्रीय सम्मेलन आयोजक समिति सदस्यसमेत रहेका धामीले भने–‘थोरै बढी मेहनत गर्न सकेको भए चुनाव जित्न सकिन्थ्यो ।’

सम्बन्धित् समाचार  कांग्रेस–एमालेकै जमानत जफत !

जिल्लाका १३ वटा तहमध्ये ७ वटामा जितेर पहिलो पार्टी बनेको एमालेको अवस्था भने धनगढीमा खस्किएको देखियो । एमालेको बलियो पकड ठानिएका कतिपय वडामै एमाले पराजित भयो । एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीले जनमतले एमालेको अवस्था खस्किएको देखिएको उल्लेख गर्दै आन्तरिक कारणले एमाले कमजोर देखिएको बताए । धनगढीमा रहेका पार्टीका नेता–कार्यकर्ताहरु एकतावद्ध हुन नसक्दा एमाले कमजोर हुन पुगेको अध्यक्ष सोडारीले बताए ।

उनले हारको समीक्षा गरेर पार्टीको प्रचारप्रसारमा नलाग्ने नेतालाई कारबाही गरिने बताए । ‘धनगढीमा रहेका हाम्रो पार्टीका नेताहरुले एकतावद्ध भएर चुनावी अभियान संचालन गर्न सकेनन् । हारको समीक्षा गर्छौं र आफूलाई एमाले भन्ने तर पार्टीको प्रचारप्रसारमा नलाग्नेलाई पार्टीबाट विदा गर्छौं ।’ सोडारीले भने ।
एमालले कम मत ल्याउनुको कारण सामाजिक रुपमा परिचित व्यक्तिलाई उम्मेदवार नबनाउनु रहेको कतिपयको टीप्पणी छ । मतगणना हुँदै गर्दा एमालेका उम्मेदवारको अपेक्षित मत नआएपछि एमालेकै कतिपय नेता, कार्यकर्ताले सामाजिक रुपमा परिचित अनुहारलाई उम्मेदवार नबनाउनुको परिणाम भएको टीप्पणी सामाजिक संजालहरुमा गरेका थिए ।

तर अध्यक्ष सोडारी भने यसमा सहमत छैनन् । उम्मेदवारले मात्र नभई पार्टीले चुनाव जित्ने भएकाले उम्मेदवारले धेरै फरक नपार्ने उनको तर्क छ । एमालेले सामाजिक रुपमा धेरै नचिनिएका विद्यालय संचालक जोशीलाई उम्मेदवार बनाएको थियो ।

मेयरमा एमाले उम्मेदवार जोशी ९९४६ मत पाएर चौथो हुँदा उपमेयरका उम्मेदवार रुक्मणी देवकोटाले १२७६३ मत ल्याएर दोश्रो भइन । उपमेयरमा विजेता शुसीला मिश्र भट्टले १७४०८ मत ल्याइन ।

कमेन्ट गर्नुहोस्