आफ्नै इतिहासमा बञ्चरो हान्दै रामकुमारी

त्यस्ती रामकुमारी कसरी यस्ती भइन ?

निर्वाचनको परिणामलगत्तै चर्चाको बजारमा भोजराज सरले स्थान पाए । भोजराज सर एकाएक चर्चामा आए । आफू चर्चामा आएकोमा भोजराज सर खुशी छन् या दुखी, त्यो भने कतै चर्चामा आएन, तर पनि उनी मज्जैले चर्चामा आए । भोजराज सरको घर, भन्ने थेगो नै बन्यो सामाजिक सञ्जालमा । घरको तस्वीर समेत सार्वजनिक भयो ।

भोजराज सर आफूले भने चर्चामा आउने कुनै काम गरेका थिएनन् । धन्यवाद दिनुपर्छ एमाले नेतृ रामकुमारी झाँक्रीलाई, जसले भोजराज सरलाई चर्चामा ल्याइदिइन । दोश्रो जनआन्दोलनको बेलाकी जल्दोबल्दो संघर्षशील नेतृ हुन रामकुमारी झाँक्री । कुनै बेला खगेन्द्र संग्रौलाको साहित्यकी संघर्षमयी महिला । गगन थापा र रामकुमारी झाँक्री रोलमोडेल नै बने कतिपयका लागि । बागबजारमा उनको टाउकोमा धेरैपल्ट लाठी बर्सियो । रक्ताम्य मुहारको उनको तस्वीरले ठूलो चर्चा पायो र सम्मान पनि ।

रामकुमारी विद्यार्थी आन्दोलनमा सक्रिय नेतृ । उनी अनेरास्ववियूको नेतृत्वमा छँदा अखिलको छवि संघर्षमयी संगठनको थियो । त्यही बेला जनआन्दोलन । महिला पनि संघर्षमा पुरुषभन्दा पछि छैनन् भन्ने दरिलो उदाहरण दिइन झाँक्रीले ।

तर त्यसपछिका दिनमा भने झाँक्रीको त्यो संघर्षशील व्यक्तित्व देख्न सकिएन । एमालेभित्रको घात अन्तर्घातको चक्रब्यूहमा झाँक्रीजस्ता व्यक्तित्वहरु हराए । झाँक्रीहरु भन्दा अन्य महिलाहरु एकाएक नेतृत्व र सुविधाजनक स्थानमा देखिए । खासगरी ओली प्रभावले गर्दा झाँक्रीहरु एकाएक पाखा पारिए । संयोग नै भनौं, एमालेभित्र झाँक्रीहरुको योगदानको अवमूल्यन भएकै कारण उनकै समकक्षी गगन थापा स्वास्थ्य मन्त्रीको सफल कार्यकालको प्रशंसा बटुलिरहेको बेला झाँक्री भने भोजराज सरको घरको चर्चाले आलोचित बन्दै थिइन ।
झाँक्री र एकजना शिक्षकबीचको कुराकानीमा झाँक्रीले आफ्नो हैसियत र स्तरभन्दा निकै तल ओर्लेर भाषा प्रयोग गरेपछि उनको आलोचना व्यापक भयो । झाँक्रीलाई सम्मान गर्नेहरुले पनि उनले त्यस्तो भाषा प्रयोग गरेकोमा दुख मनाए । त्यो भाषा राजनैतिक भाषा थिएन जुन झाँक्रीबाट अपेक्षा हुन्थ्यो । यसमा कता कता कुण्ठा देखिन्थ्यो । उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, “यो झाँक्रीको मूल व्यक्तित्व होइन, बरु व्यक्तिगत र राजनीतिक जीवनमा सोचेजस्तो हुन नसकेको र व्यक्तित्व खुम्चिएको चरणमा निस्किने कुण्ठायुक्त भाषा हो । नत्र झाँक्री त्यसरी बोल्ने मानिस होइनन् । विगत केही समययता सामान्य बोलीचालीमा समेत रामकुमारीको बोली गैर राजनीतिक भएको हामीले महसुस गरेका छौं ।”

उनको नजिकका मित्रहरु भन्छन्– रामकुमारीले भोजराज सरको घर बोलेको अडियामा व्यक्त गरेको भाषाबारे मृदु भाषामा आत्मलोचना गर्नु जरुरी छ । साथै भविष्यमा घटनाहरुमा प्रतिक्रिया व्यक्त गर्दा राजनीतिक भाषा प्रयोग गर्नु जरुरी छ ।

संघर्षशील राजनीतिक व्यक्तित्व रामकुमारीको मनमा आक्रोश कुण्ठाले डेरा जमाएको कारण उनी बिस्तारै गैर राजनीतिक हुँदै गएको उनका नजिकका मित्रहरु बताउँछन् । केही समयअघि उनले यस्तै प्रकृतिका केही अन्य फेसबुक स्टाटस राख्दा समेत उनको आलोचना भएको थियो । झाँक्रीले यो स्तरको भाषा बोल्न नहुने भन्दै उनका फेसबुक स्टाटसमा टिप्पणीहरु व्यापक भएको धेरै भएको छैन । अहिले आएर यो टेप प्रकरणले उनी झनै आलोचित भएकी छिन् ।

झाँक्री राम्रो सम्भावना भएकी संघर्षपूर्ण इतिहास बोकेकी नेतृ हुन । त्यसैले उनले आफूलाई राजनीतिक बनाउनु अति जरुरी छ । उनको यस्तै बोली, भाषा र व्यवहारले उनले आफ्नै संघर्ष र जीवनलाई अबमूल्यन गर्दैछिन् । यसले पार्टीभित्र समेत उनलाई पछार्नेहरुलाई हौसला मिल्छ । उनी राजनीतिक व्यक्तित्व बन्नु जरुरी छ ।

र, यही बीचमा संघर्षकै जगमा राजनीतिमा स्थापित भएकी अर्की महिला पनि विवादमा तानिइन । १६ करोडको गाडीको चर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्यो ।

कतिपयले उनलाई अत्यन्तै तल्लोस्तरको भाषा समेत प्रयोग गरे । राष्ट्रपति कार्यालयले बुलेटप्रुफ गाडी मागेको तर मूल्य नतोकेको स्पष्टिकरण दिएपनि उनीमाथिको आलोचना रोकिएन । राष्ट्रपति भनेको गरिमामय पद हो । हिजो को कुन पार्टीमा थियो भन्ने कुराले अर्थ राख्दैन । त्यसैले राष्ट्रपतिले समेत विवादमा आउने काम गर्न नहुने कतिपयले बताउँछन् । अहिलेका उपराष्ट्रपति हिजोका कुशल योद्दा हुन । बन्दूकबाहेक उनको ध्यान कतै हुँदैनथ्यो कुनै बेला । तर अहिले उनले आफ्नो पदको मर्यादा उत्कृष्ट ढंगले निर्वाह गरेका छन् । उनले न कुनै राजनीतिक टिप्पणी गरेका छन् न त अन्य कुनै विवादमा आउने कुरा नै । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको गरिमा कायम राख्नु जरुरी छ । गलतरुपमा विवाद सिर्जना गरिएको भए त्यसको खण्डन गर्ने र कार्यकारी प्रमुख प्रधानमन्त्री भएको देशमा राजनीतिबाट टाढै रहेर विवादबाट मुक्त हुने उनको मुख्य ध्यान हुनुपर्दछ ।

 

कमेन्ट गर्नुहोस्