को हुन् चिनियाँ नोबल पुरस्कार विजेता जिआबो ?

207 पटक पढिएको

काठमाडौं, असार ३१ । लामो समयदेखि जेलमा रहेर बिहीबार निधन भएका एकजना चिनियाँ अधिकारवादीको विषय आफ्नो आन्तरिक भएको चीन सरकारले जनाएको छ । नोबेल पुरस्कार विजेता चिनियाँ अधिकारकर्मी लिउ जियाओबोको बिहीबार ६१ वर्षको उमेरमा निधन भएपछि विश्व समुदायमा विभिन्न टीकाटिप्पणी आएका छन् ।

यी सबै टीकाटिप्पणीको खण्डन गर्दै चीनले यस विषय आफ्नो आन्तरिक मामिला भएकाले कुनै पनि टिप्पणी नगर्न सबैलाई आग्रह गरेको हो । विश्वका कतिपय देशले लिउको उपचार चीनले राम्रोसँग नगरेको र उपचारका लागि विदेश जान पनि नदिएको बताएका छन् ।

कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट पीडित लिउलाई केही दिनअगाडि राष्ट्रिय एवं अन्तर्राष्ट्रि«य दबाबपछि जेलमुक्त गरी उपचारका लागि अस्पताल लगिएको थियो । तर, उनको उपचारमा त्यति ध्यान नदिइएको विश्व समुदायको भनाइ आएको छ ।

उत्तरपूर्वी चिनियाँ प्रान्त सेन्याङमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले उनको निधन भएको तथ्य आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । लिउलाई तीन दिनदेखि सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । तैपनि श्वासप्रश्वास प्रणालीमा अवरोध आएको र बुधबार अवस्था थप कमजोर भएको अस्पताल स्रोतले जनाएको थियो । बिहीबार साँझ नै उनको निधन भएको खबर उक्त अस्पतालले सार्वजनिक गरेको हो ।

चीनले लिउको उपचारमा कुनै कसर बाँकी नराखी राम्रोसँग गरेको बताएको छ । यस विषयमा विदेशीबाट आएका प्रतिक्रिया कुनै पनि साँचो नभएको चीनले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चेङ सुआङले भने, ‘चीन कानुनी शासन भएको देश हो र लिउ जियाओबोका विषयमा गरिएका सबैखाले टीकाटिप्पणी हाम्रा आफ्ना आन्तरिक मामिला हुन् ।’ चीनको शासन व्यवस्थाको पुनर्संरचना गरी आधारभूत मानवअधिकारको उपयोग गर्न पाउनुपर्ने मागसहितको अभियान उनले चालेका थिए ।

विदेश मन्त्रालयका प्रवक्ता सुआङले यस विषय चीनको आफ्नो आन्तरिक मामिला भएकाले उनी एकजना व्यक्तिलाई अघि सारेर कुनै पनि विरोधी प्रतिक्रिया नदिन पनि विश्व समुदायलाई आग्रह गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।

को हुन् जिआबो ?

नोबेल शान्ति कमिटीले सन् २०१० मा लिउ जिआबोलाई नोबेल शान्ति पुरस्कारले सम्मान गर्दा उनी प्रत्यक्ष रूपमा स्टेजमा थिएनन् । उनको प्रतिनिधित्व एउटा रित्तो कुर्सीले गरेको थियो । प्राज्ञ लिउ सो समयमा चीनको एउटा जेलको अँध्यारो कुनामा बसेर चीनमा बढिरहेको मानवअधिकारका घटनाप्रति चिन्तित थिए । ‘विद्रोह उक्साएको’ र ‘प्रजातन्त्रको पक्षमा वकालत गरेको’ आरोप लगाई चीन सरकारले उनलाई ११ वर्ष जेल सजाय सुनाएको थियो ।

सन् १९५५ को डिसेम्बर २८ मा चीनको चाङचुनमा जन्मिएका लिउलाई जीवनभर धेरैले एउटा ‘हिरो’ को रूपमा हेरे । तर, सरकारका नजरमा उनी सधैँ खलनायक साबित भए । नोबल कमिटीले उनलाई चीनमा मानवअधिकार प्राप्तिका लागि भएको संघर्षको ‘नेतृत्वदायी व्यक्ति’ को रूपमा व्याख्या गरेको थियो । तर, चिनियाँ सञ्चारमाध्यमले भने उनलाई ‘चिनियाँ अधिकारीको विरोध गर्ने एक सामान्य कैदी’ का रूपमा चित्रण गर्यो । मूलधारको एउटा चिनियाँ समाजले त उनलाई बहिष्किृत व्यक्तिको बिल्ला भिराएको थियो ।

आन्दोलनमा होमिए

साहित्य र दर्शनका ज्ञाता लिउले बेइजिङ नरमल युनिभर्सिटीबाट विद्यावारिधि गरे । सन् १९८९ मा तियामेन प्रदर्शन सुरु हुँदा उनी केही समय अमेरिकाको कोलम्बिया युनिभर्सिटीमा भिजिङि प्रोफेसरको रूपमा सेवा गरेका थिए । सोही वर्षको अप्रिलमा स्वदेश फर्किए लगत्तै लिउ चीन सरकारका लागि मुख्य चुनौती बनेको तियामेन आन्दोलनमा होमिए । सो आन्दोलन जुन ४ मा रक्तपातपूर्ण क्रान्तिमा परिवर्तन भयो । उनीलगायत दर्जनौँ मानवअधिकारवादी कार्यकर्ता र प्रजातन्त्रका अभियन्ताले असुरक्षित महसुस गर्न थाले ।

चार्टर ०८ घोषणापत्र 

लिउले आन्दोलनलाई निष्कर्षमा पुर्याउने बारम्बार वाचा गरेका थिए । ‘प्रजातन्त्र र मानवअधिकारका लागि भएको संघर्षमा केही निराशा देखिएका छन्, तर आन्दोलन निरन्तर रूपमा अगाडि बढिरहनेछ,’ सन् २००५ मा उनले भनेका थिए । नयाँ संविधान, प्रजातन्त्र र मानवअधिकारको सम्मान गर्न आह्वान गर्दै सन् २००८ मा उनीसहित ३५० चिनियाँ विद्वान्को एउटा समूहले ‘चार्टर ०८ घोषणापत्र’ मा हस्ताक्षर गरे । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सन् २००८ को डिसेम्बर १० सो घोषणा–पत्र प्रकाशित भएको थियो । घोषणा–पत्र प्रकाशन भएको केही दिनमै प्रहरीले लिउलाई घरमै छापा मारेर पक्राउ ग¥यो । उनलाई एक वर्षसम्म थुनामा राखी अदालतसामु पेस गरियो । सन् २००९ को क्रिसमसका दिन ११ वर्ष जेल सजाय सुनाइएको थियो ।

नोबेल पुरस्कारबाट सम्मान

एक वर्षपछि उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरियो । ‘चीनमा आधारभूत मानवअधिकारका लागि उनले गरेको लामो र हिंसारहित आन्दोलन’ को सम्मानमा कमिटीले उनलाई पुरस्कृत गरेको थियो । लिउको सम्मानको चीनले कडा विरोध गरेको थियो । चीनले उनलाई कार्यक्रममा सहभागी हुन निषेध गरेपछि नोबेल कमिटीले उनको नामको रित्तो कुर्सीलाई पुरस्कारले सम्मान गरेको थियो । सो पुरस्कार तियामेन स्क्वारमा मारिएका सम्पूर्ण व्यक्तिप्रति डेडिकेट गरेको लिउले प्रतिक्रिया दिएका थिए । लिउ पुरस्कृत भएपछि चीन सरकारले उनकी पत्नी लिउ सिअलाई घरमै नजरबन्दमा राखेको थियो । उनी अहिले पनि नजरबन्दमै छिन् । सजाय पूरा हुन तीन वर्ष बाँकी छँदा जुनमा चिनियाँ अधिकारीले लिउको कलेजको क्यान्सर उपचार भइरहेको खुलासा गरेका थिए ।

अन्तर्राष्ट्रिय समुदायको विरोध

लिउको मृत्युमा चीन जिम्मेवार रहेको नोबेल कमिटीले जनाएको छ । उनको असामयिक मृत्यु भएको भन्दै चीनले उनको उपचारका लागि विदेश लैजान अस्वीकार गर्नु अपमानजनक भएको नोबेल कमिटीले टिप्पणी गरेको छ । लिउको उपचार गर्ने इच्छा देखाएको जर्मनले लिउको मृत्युको जिम्मा चीन सरकारले लिनुपर्ने बताएको छ । ‘लिउलाई क्यान्सर भएको विषयमा यसअघि नै पहिचान गर्न सकिन्थ्यो वा सकिँदैनथ्यो भन्ने विषयमा चीनले जवाफ दिनुपर्छ,’ जर्मनीका विदेशमन्त्रीले भनेका छन् ।

उनको मृत्युप्रति दुःख व्यक्त गर्दै लिउलाई विदेश उपचार गर्न नदिएर चीनले भूल गरेको बेलायती विदेशमन्त्री बोरिस जोन्सनले टिप्प्णी गरेका छन् । लिउको मृत्युपछि उनकी पत्नी लिउ सियालाई रिहा गर्न बेइजिङमाथि दबाब बढेको छ । कविसमेत रहेकी लिउ घरमै नजरबन्दमा छिन् ।

श्रद्धाञ्जली दिन प्रतिबन्ध

राजनीतिक बन्दी लिउको मृत्युपछि उनीबारे चर्चा गर्न चीन सरकारले प्रतिबन्ध लगाएको छ । सरकारले सामाजिक सञ्जाल विबोमा उनलाई श्रद्धाञ्जली दिन प्रतिबन्ध लगाएको हो । प्रतिबन्धका बाबजुद लिका प्रशंसकले मृत्युअघि उनीमाथि सरकारले गरेको व्यवहारको कटु आलोचना गरेका छन् । ‘हिरोको प्रस्थान भएको दिन सम्भवतः स्वर्ग पनि उत्तेजित होला,’ एक विबो प्रयोगकर्ता लेख्छन् ।

प्रजातन्त्रको वकालत गरेको आरोपमा उनलाई सरकारले ११ वर्ष जेल सजाय तोकेको थियो । क्यान्सरको पहिचान भइसेकेपछि भने सरकारले उचित उपचार नगरेको चिनियाँ मानवअधिकारवादीले आरोप लगाएका छन् ।

लिउमाथि गरेको व्यवहारले अन्तर्राष्ट्रिय जगत्मा चीनको छवि बिग्रिएको केही विश्लेषकले टिप्पणी गरेका छन् । प्रयोगकर्ताले सांकेतिक रूपमा एउटा खाली कुर्सीको तस्बिर सामाजिक सञ्जाल विबोमा पोस्ट गरेका छन् । जसरी सन् २०१० मा नोबल कमिटीले लिउलाई सम्मान गरेको थियो । कोहीले कालो पृष्ठभूमिमा सन् १९५५ देखि २०१७ लेखेका छन्, जसले सांकेतिक रूपमा उनी जन्मेदेखि मृत्युसम्मको घटनाको संकेत गर्छ ।

लिउको प्रख्यात उखान ‘मेरा कोही शत्रु छैनन्, कोहीप्रति घृणा छैन’ लाई उनको मृत्युपछि धेरै प्रशंसकले विबोमा पोस्ट गरेका थिए । ‘मेरा कोही शत्रु छैनन्, उनीहरूप्रति मेरो कुनै घृणात्मक सोच छैन । मलाई पक्राउ गरी निगरानी गर्ने प्रहरी, सरकारी अभियोजनकर्ता र मविरुद्ध फैसला गर्ने न्यायाधीश मेरा शत्रु होइनन्,’ सन् २००९ मा लिउले भनेका थिए । प्रशंसकले उनको लेखन र कवितालाई उद्धृत गरेका छन् । ‘निश्चय नै तपार्इं स्वतन्त्रताका सहिद हुनुहुन्छ,’ एक प्रयोगकर्ता लेख्छन्, ‘हत्याराले माफी पाउने छैन ।’

कमेन्ट गर्नुहोस्