शक्तिपीठमा दर्शनार्थीको घुइँचो

118 पटक पढिएको

बैतडी, साउन २ । साउन महिना शुरु भएसँगै बैतडीका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनालाई बत्ती बाल्ने महिनाका रूपमा समेत लिने गरिएकाले मन्दिरमा बत्ती बाल्ने दर्शनार्थीको भीड लागेको हो ।

यो महिनामा मन्दिरमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले साउन महिनामा मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको अनिरुद्र मन्दिरका पुजारी गणेशदत्त अवस्थीले बताउनुभयो । बैतडीमा सातबैनी भगवती र सातभाइ केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेको स्थानीयवासीले बताएका छन् ।

जिल्लाका त्रिपुरासुन्दरी, निङगलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको महाकाली साहित्य सङ्गम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताउनुभयो । जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिरमा साउनको महिनाभरि दर्शनार्थी दर्शन गर्न जाने गर्दछन् । रौलाकेदार मन्दिरमा साउन महिना शुरु भएसँगै दर्शनार्थीको भीड लागेको स्थानीय शिक्षक नवराज मडैले जानकारी दिनुभयो ।

जिल्लाको पूर्वी भागमा रहेको सिगास मन्दिरमा यो महिना दर्शनार्थीको निकै घुइँचो लाग्ने गरेको स्थानीयवासी केदार अवस्थीले बताउनुभयो । साउन महिनाभरि मन्दिरमा राति जाग्राम बस्ने र बत्ती बाल्ने चलन रहिआएको छ । जिल्लाबाट बसाइँ सरेकाहरू पनि मन्दिरमा पूजापाठ गर्नका लागि यो महिना जिल्ला भित्रिने गर्दछन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  रक्सी खाँदा म्यादी प्रहरीको जागिर चेत !