खिइंदै गएका बाबुरामको आत्मघाती भविष्य

2316 पटक पढिएको

भीष्म थापा,

पछिल्ला केही दिनमा पूर्व प्रधानमन्त्री तथा माओवादी आन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गरेका डा. बाबुराम भट्टराईले माओवादी लक्षित अभिव्यक्ति दिइरहेका छन् । यी सबै अभिव्यक्तिको एउटै सार छ– म मरे पनि माओवादीमा फर्किन्न ।

माओवादी स्कूलिङमा हुर्केका नेता तथा कार्यकर्ताहरुले प्रतिक्रियावादी र पुनरुत्थानवादीहरुको प्रभाव बढ्दै गएकोले विगतका आन्दोलनका उपलब्धिको रक्षा गर्न सबै माओवादीहरु एक हुनुपर्ने मनोवैज्ञानिक दबाब दिइरहेको बेला बाबुरामको यो अभिव्यक्तिले गम्भीर संकेतहरु गरेको छ ।

स्वयम् नयाँ शक्तिभित्र समेत अग्रगमनका एजेण्डाहरुको रक्षा गर्न माओवादी र केही अन्य प्रगतिशील शक्तिहरुबीच बृहत गठबन्धनको बहस शुरु भएको छ । तर बाबुराम भट्टराईले भने एकोहोरो रुपमा माओवादीमा नफर्किने रटान लगाएका छन् । बाबुरामसँगै पूर्व माओवादीबाट नयाँ शक्तिमा गएका केही अन्यले पनि यही रोइलो व्यक्त गरेका छन् ।

उनीहरुको अभिव्यक्ति हेर्दा लाग्छ– मानौं, माओवादी केन्द्र भनेको इतिहासको सबैभन्दा कुरुप राजनीतिक शक्ति हो त्यसैले बरु राप्रपा भइएला तर माओवादीमा चाहिँ फर्किन्नौं ।

यो अभिव्यक्तिभित्र चरम पूर्वाग्रह, राजनीतिक बेइमानी र आत्मकेन्द्रीत इगो झल्किन्छ । यो विशुघ आत्मगत अभिव्यक्तिरुका रुपमा देखिन्छ र, यसले बस्तुगत यथार्थको उपेक्षा गरेको छ । यसबाट बाबुराम पंक्तिको स्खलित भविष्यको चिन्ता समेत प्रकट गरेको छ ।

इतिहासमा बाबुरामको बेग्लै स्थान छ । बाबुराम बाबुराम हुन । उनलाई नेपाली समाज र राजनीतिले, नेपाली इतिहास र परिवर्तनका आन्दोलनले उपेक्षा र अवमूल्यन गर्न सक्दैन । बाबुराम एक्लो व्यक्ति र आन्दोलनमा होमिएका बाबुराम, दुबैको एउटा विशिष्ट स्थान छ नेपाली समाजमा । तर, उनका पछिल्ला कदम र अभिव्यक्तिले, उनीभित्र पलाएको आत्मकेन्द्रीत चरम व्यक्तिवाद र अवस्तुवादी इगोले उनले आफ्नो इतिहासलाई नै खियाएर लगेका छन् । पेन्सिल तिखार्ने क्रममा खिइएजस्तै आफ्नो वैकल्पिक राजनीति तिखार्ने क्रममा उनी ठूटो हुँदै गइरहेका छन् । यो ठूटोले उनीभित्र झनै कुण्ठा सिर्जना गरेको छ ।

सम्बन्धित् समाचार  संशोधन प्रस्तावबारे बाबुरामको यस्तो धारणा

पछिल्ला दिनहरु नयाँ शक्तिका लागि दुखदायी छन् । खासगरी उपेन्द्र यादव र सरिता गिरीहरुसँग कार्यगत र पार्टी एकताको प्रसंगले बाबुरामको आधार तह भत्किएको छ । बारा, पर्सा, कपिलबस्तु, डोटी, गुल्मी, ललितपुर, भक्तपुर, कैलाली, कञ्चनपुर जस्ता कतिपय जिल्लामा नयाँ शक्ति पुरै भत्किएको छ । गुल्मी, डोटी र कञ्चनपुरमा नयाँ शक्ति करिब करिब शून्य अवस्थामा पुगेको छ । यही कारणले स्थानीय तहका दुबै निर्वाचनमा पार्टीले निकै लज्जाष्पद अवस्था झेल्नु परेको छ ।

बाबुरामले माथिबाट तल राजनीतिक संगठनको खाका कोर्न खोजेपनि उनको चमत्कारिक व्यक्तित्वको दम्भले न निर्वाचनमा भोट जोगाउन सक्यो न त आफ्ना कार्यकर्तालाई नै । संगठनको महत्व के हुन्छ भन्ने कुरा उनले बल्ल चेत पाएका छन् । तर अहिले यति ढिला भइसकेको छ कि कतिपय स्थानमा उनको संगठन पुरै भत्किएको माथि नै उल्लेख भइसकेको छ । यो अवस्थामा फेरी गाउँस्तरबाट संगठन बनाउने उनको योजना, सपना या दम्भ यथार्थमा साकार रुप लिन सक्ने देखिँदैन । बस्तुगत यथार्थको निर्मम प्रहारमा बाबुराम परेका छन् ।

तर, बिडम्बना, यो अवस्था हुँदा पनि तलबाट रित्तिंदै केही पूर्व माओवादी र केही अवसरवादी पूर्व प्रशासक र एनजीओकर्मीहरुको झुण्ठमा बाबुरामले झनै इगो पाल्न पुगेका छन् । उनको वरिपरि अब सीमित घेरा बाँकी छ । एकथरी इमान्दार पूर्व माओवादी छन्, जसले अग्रगमनकारीसँग एकताको कुरा गर्छन् तर तत्काल बाबुरामलाई छोडिहाल्न चाहँदैनन् । अर्काथरी हिजो मज्जाले धन सम्पत्ति जोडेर एउटा व्यवस्था बनाएका पूर्व एनजीओकर्मी या प्रशासक छन् जसलाई आफ्नो स्थान बनाउन मात्रै नयाँ शक्तिको आवश्यकता छ । र, यो दोश्रो पंक्ति बिस्तारै बाबुरामबाट टाढा हुँदै गइरहेको छ ।

राजनीतिको निर्ममतामा बाबुरामले तत्काल इगो परित्याग नगर्ने हो भने नेपाली राजनीतिक इतिहासमा एउटा नमीठो दुर्घटना निम्तिने निश्चित छ । उनले बारम्बार माक्र्सको उक्ति भन्ने गरेझैं इतिहास दोहोरिन्छ, तर दोश्रोपल्ट प्रहसनको रुपमा । अहिले उनी यसकै वरिपरि छन् । प्रहसनका रुपमा घटनाहरु दोहोरिँदै छन् । यसले भविष्यमा उनका अगाडि एउटा सीमित झुण्डको उपस्थिति मात्रै हुने र उनी पुरै राजनीतिबाट वितृष्णाको अवस्थमा पुग्ने सम्भावना झन बलियो हुने छ । जबकि नेपाली राजनीतिमा बाबुरामको आवश्यकता छ ।

सम्बन्धित् समाचार  नयाँ शक्तिको खबरदारी : एमालेको आन्दोलन ‘पिसाबको न्यानो’ मात्रै

तर यो आवश्यकता नयाँ शक्तिको विचारहीन राजनीति र इगोपूर्ण सोचबाट पुरा हुन सक्दैन । बाबुराम माओवादीमा फर्कून या नफर्कून त्यो मुख्य होइन, मुख्य कुरा उनी यथार्थवादी र बस्तुवादी हुने या नहुने भन्ने मुख्य हो । उनले जे लाई अहिलेको बस्तुगत यथार्थवादी चिन्तन र कार्यदिशा भनिरहेका छन्, सारमा त्यो व्यक्तिकेन्द्रीत आत्मवाद मात्रै हो । यो कुरा कम्तीमा बाबुरामले सजिलोसँग बुझ्न होला । होइन भने बाबुरामका लागि आत्मघाती स्खलन बाहेक अरु कुनै विकल्प शेष रहने देखिन्न । फेरि पनि भन्नैपर्छ, नेपालको इतिहासले यो भोग्नु नपरोस् ।

कमेन्ट गर्नुहोस्