सडक जीर्ण हुँदा धनगढीबासी समस्यामा

119 पटक पढिएको

लोकेश धामी

धनगढी, साउन ९ ।  प्रदेश नम्बर ७ को आर्थिक कारोबारको केन्द्र र एकमात्र उपमहानगरपालिका धनगढीका अधिकांश सडक जीर्ण छन् । वर्षायाममा जीर्ण सडक हिलाम्य हुँदा नगर बासीले सास्ती व्यहोर्नु परेको छ । मुख्य बजार क्षेत्रमै सडकमा ठाउँठाउँमा खाल्डाखुल्डी छन् ।

बजारसंगै जोडिएका कतिपय शाखा सडकहरु कालोपत्रे भत्किएर हिलाम्य हुने गरेका छन् । वर्षाले ती सडक हिलाम्य भएर आवतजावतमा सास्ती भईरहे पनि भत्किएका ठाउँमा मर्मत गर्नेतर्फ उपमहानगर पालिकाको ध्यान जान सकेको छैन । ऐश्वर्य स्कूलदेखि पिपलचौतारा जाने सडक भत्किएको दुई वर्ष भईसकेको छ । नाली खन्दा सडकमा फालिएको माटो नपन्छाउँदा वर्षायाममा उक्त सडक हिलाम्य हुने गरेको छ । गत वर्ष पनि वर्षायाममा हिलाम्य भएको उक्त सडकको अवस्था यो वर्ष पनि उस्तै छ । सडकको दुवै छेउको भाग उचो छ भने बीचमा हिलो र पानी जम्ने गरेको छ ।

एक दिन वर्षा भए २–३ दिनसम्म सडकको बीच भागमा हिलो र पानी जमेको हुन्छ । ऐश्वर्य र अन्य विद्यालयमा अध्ययनरत सयौं विद्यार्थी दैनिक उक्त बाटो हिड्छन् । सडकको दुरावस्थाले सर्वसाधारणसंगै स्कूले बालबालिकाहरुले सास्ती खेप्नु परेको छ । निर्माण व्यवसायी संघदेखि उत्तरबेहडी जाने सडक गत वर्ष वर्षायामजस्तै यो वर्ष पनि हिलाम्य छ ।

कालोपत्रे भईरहेको उक्त सडक निर्माणको काम सुस्त हुँदा यो वर्षायाममा पनि सर्वसाधारणले हिलोमै हिड्नुपर्ने अवस्था छ । कालोपत्रेका लागि पुरानो सडक भत्काएर रोलिङ्ग गरिदैछ ।धनगढी मुख्य बजारदेखि जिल्ला अदालत जाने बाटोको अवस्था उस्तै छ ।

नाली निर्माण गर्ने नाममा नालीको माटो खनेर सडकमा फाल्दा केही दिनअघि हिड्नै नसकिने अवस्थाको उक्त सडकमा अहिले केही ग्राभेल हालिएको छ । स्थानीयबासिन्दाले विरोध जनापछि सडकमा फालेको माटो हटाउने काम भएको एक स्थानीयले बताए । ऐश्वर्य विद्या निकेतनका सहायक प्राचार्य पीएन ओझाले विद्यालय अगाडिको बाटो हिलाम्य हुँदा साना बालबालिकाले निकै सास्ती खेप्ने गरेका बताए । नाली सडक भन्दा उचो भएकाले सडकमा पोखरीजस्तै पानी जम्ने गरेको उनले बताए ।

सम्बन्धित् समाचार  एसएसबीको गोली लागी मृत्यु भएका गौतम माओवादी कार्यकर्ता

सडक ग्राभेल र मर्मतका नाममा मात्रै उपमहा नगर पालिकाले वर्षेनी लाखौं रुपैया खर्च गर्ने गरेको छ । तर नगरका सडकको अवस्थामा सुधार आउन सकेको छैन । नगरका अधिकांश कालोपत्रे सडक पनि ठाउँठाउँमा खाल्डाखुल्डी छन् । कालोपत्रे सडक टिकाउ नहुँदा सडकको अवस्थमा सुधार हुन नसकेको बुझाई स्थानीयको छ । कतिपय ठाउँमा कालोपत्रे सम्पन्न भएको केही दिनमै सडक भत्किन शुरु भएका थुपै्र उदाहरण छन् ।

कमेन्ट गर्नुहोस्