नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी, २२२ मिलियन युरोमा अनुबन्ध

209 पटक पढिएको

काठमाडौं, साउन २० । ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बनेका छन् । नेइमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अहिलेसम्मकै महँगो २ सय २२ मिलियन युरोमा खरिद गरेको हो ।

बहुचर्चित नेइमार प्रकरणको टुंगो लगाउँदै पिएसजीले स्पेनिस क्लब बार्सिलोनाबाट २६ अर्बभन्दा बढी रुपैयाँमा नेइमारलाई खरिद गरेको हो । विश्व फुटबलमा कु्नै पनि एउटै खेलाडीमाथि खर्च गरिएको यो अहिलेसम्मकै बढी रकम हो ।

यसअघि म्यान्चेस्टर युनाईटेडले ईटालीको क्लव युभेन्टससँग फ्रेन्च खेलाडी पउल पोग्बा खरिद गर्दा त्यतिबेलाको सर्वाधिक रकम ९८ मिलियन युरो खर्चिएको थियो । तर यसपटक नेइमारका लागि खर्चिएको रकम पोग्बाको मूल्यभन्दा दोब्बरभन्दा पनि बढी छ ।

नेइमारले तलब बापत पिएसजीबाट वार्षिक ४५ मिलियन युरो अर्थात प्रति हप्ता ८ लाख ६५ हजार युरो बुझ्ने भएका छन् । पिएसजीले बार्सिलोनाबाट नेइमार खरिद गरे पनि यो प्रसंग युरोपियन फुटबल महासंघ (युएफा)सम्म पुग्ने सम्भावना देखिएको छ । अत्यधिक मूल्यमा नेइमार खरिद गर्दा युएफाको फाइनान्सियल फेयर प्ले नियम मिचिएको भन्दै स्वयं बार्सिलोनाले अपिल गर्ने चेतावनी दिइसकेको छ ।

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  भारतसँग नेपाल २-१ ले पराजित, दर्शकहरू निराश