राजपासँग मिल्ने भयो एमाले, भित्रभित्रै यस्तो तयारी

166 पटक पढिएको

काठमाण्डु, २४ साउन– प्रमुख प्रतिपक्षी एमालेले प्रदेश–२ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक सबै राजनीतिक शक्तिसँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष निकालेका छन् । सम्बन्ध तिक्त रहेको राष्ट्रिय जनता पार्टीसँग तालमेल गर्ने एमालेको पहिलो प्राथमिकता छ ।

त्यहीअनुसार एमाले नेताहरूले सम्बन्ध सुधार्ने प्रयास तीव्र पारेका छन् । प्रदेश २ मा पार्टीको स्थिति मजबुत रहेको र पहिलो स्थान नै हासिल गर्ने सम्भावना रहेको ती नेताले केन्द्रलाई रिपोर्टिङ गरेका छन् । ‘राजपाले चुनावमा आउने÷नआउने अझै स्पष्ट गरिसकेको छैन तर उसलाई चुनावमा ल्याउनुपर्छ भनेर हामी पनि लागिरहेका छौं,’ प्रदेश २ को चुनावी माहोल बुझेर फर्केका एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘चुनावमा आउने भयो भने स्थानीय आवश्यकताअनुसार राजपासँग पनि तालमेल गरेर जान सकिन्छ ।’,कान्तिपुरमा खबर छ ।

प्रमुख प्रतिस्पर्धी दल भएकाले कांग्रेससँगको तालमेलको सम्भवना नरहेको तर अन्य जुनसुकै दलसँग मिल्ने सक्ने एमालेको धारणा छ । राजपासँगको सम्बन्ध सुधारका लागि एमाले नेताहरूले उनीहरूसँग औपचारिक छलफल जारी राखेका छन् ।

राजपा चुनावमा नजाँदा तराईमा लोकतान्त्रिक शक्ति नै कमजोर हुने भन्दै बहिष्कारको बाटोमा नजान एमाले नेताहरूले सुझाव दिइरहेका छन् । राजपाले उठाएको संविधान संशोधनलगायत विषयलाई चुनावपछि सम्बोधन गर्न सकिने उनीहरूले आश्वासन दिइरहेका छन् । विशेष गरी कांग्रेस र माओवादी केन्द्र गठबन्धनले राजपालाई चुनावमा सहभागी हुन नदिने षड्यन्त्र गरिरहेको भन्दै एमाले नेताहरूले उनीहरूलाई मनाउने प्रयास गरिरहेका छन् । अध्यक्ष केपी ओलीले गत साता एक सार्वजनिक कार्यक्रमबाटै राजपा नेतालाई चुनावमा सहभागी हुन नदिन कांग्रेसले नै षड्यन्त्र गरिरहेको र यो बुझेर चुनावमा आउन राजपा नेताहरूलाई ध्यानाकर्षण गराएका थिए ।

एमालेको प्रदेश २ को प्रारम्भिक चुनावी रिपोर्टिङअनुसार यसअघिका दुई चुनावजस्तै बहुमत स्थानमा जित्ने दाबी नेताहरूले गरेका छन् । महासचिव ईश्वर पोखरेललगायत केन्द्रीय पदाधिकारीलाई जिल्ला नै तोकेर प्रारम्भिक चुनावी तयारी र स्थानीय स्थितिबारे अध्ययन गर्ने जिम्मा दिइएको थियो । उनीहरूले त्यहाँ पुगेर भेला र बैठकहरू गरेका थिए । पार्टीको अवस्था अधिकांश स्थानमा पहिलेको भन्दा सुध्रिएको र बहुमत स्थान जित्ने आधार तयार भइसकेको आकलन उनीहरूले गरेका छन् ।

सम्बन्धित् समाचार  एमाले केन्द्रीय सदस्यकाे दादागिरी ! प्रहरीमाथि हातपात

उम्मेदवारी चयनमा ख्याल गर्नुपर्ने र आवश्यकताअनुसार उचित तालमेल गर्न सक्दा अझै बढी सिटमा विजयी हुन सक्ने एमाले नेताहरूले आकलन गरेका छन् । पार्टीको स्थायी समिति बैठकमा प्रदेश २ पुगेर फर्केका नेताहरूले ब्रिफिङ गरिसकेका छन् । त्यही आधारमा थप रणनीति बनाइने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । ‘महासचिव नेतृत्वको टोलीले दिएको रिपोर्टका आधारमा अब थप कार्यक्रम लिएर एमाले तराई क्षेत्रको चुनावमा अझै सक्रिय रूपमा लाग्नेछ,’ श्रेष्ठले भने ।

प्रदेश २ को चुनावमा सन्देश दिन स्थानीय कार्यक्रमहरूमा एमालेले अन्य दलका नेता कार्यकर्तालाई आफ्नोमा प्रवेश गराइरहेको छ । राजपा, संघीय समाजवादी फोरमलगायत दलका केन्द्रीय नेतालाई नै एमालेले प्रवेश गराउने तयारी गरेको छ । कुन दलका कुन नेता प्रवेश गराउने भन्ने उनीहरूले बाहिर ल्याएका छैनन् । तर, यसै साता मधेसकेन्द्रित दलका उच्चस्तरका नेतालाई भित्र्याउने तयारी भइरहेको एक नेताले जानकारी दिए ।

यसअघि एमालेले स्थानीय तहको दोस्रो चुनावअघि राजपाकै कोषाध्यक्ष रहेकी अनिता यादवलाई भित्र्याएको थियो । प्रदेश २ को चुनावलाई सन्देश दिने उद्देश्यले नै मधेसी नेताहरूलाई ल्याउने प्रयास गरिएको हो । माओवादी, नयाँ शक्तिमा गएका मधेसका पूर्वएमाले नेताहरूलाई पनि फर्काउने पहल भइरहेको पार्टी स्रोतको भनाइ छ ।

कमेन्ट गर्नुहोस्