पौडेलहरुको विद्रोहसँगै अवसानको बाटोमा नयाँ शक्ति, बाबुराम ‘आइसोलेसन’ मा पुग्ने खतरा

बाबुरामका अगाडि पौडेलहरुले राखेका विचारलाई स्वीकार्नै पर्ने बाध्यता या ‘पोलिटिकल आइसोलेसन’को स्थितिमा पुग्ने अवस्था देखिएको छ
422 पटक पढिएको

गोकर्ण भट्ट

बाबुरामले प्रोष्टेट ग्लाण्डको उपचारपछि पत्रकार सम्मेलनमार्फत “स्वदेशी उपचार”को वकालत गरिरहँदा उनका सहयात्रीहरु भने पार्टीभित्र विद्रोहको आवाज उठाइरहेका छन् ।
हिजो माओवादी आन्दोलनमा सँगै रहेर बाबुरामसँगै नयाँ शक्तिमा गएकाहरुले पार्टीभित्रै रहेर विद्रोहको आवाज उठाएका हुन । पार्टी संगठन विभाग प्रमुख तथा बाबुरामका निकट सहयोगीका रुपमा समेत रहेका देवेन्द्र पौडेललगायत १४ जना केन्द्रीय नेताहरुले आज रिपोटर्स क्लबमा भट्टराई र उनको कार्यशैलीविरुद्ध सार्वजनिकरुपमा विद्रोह गरेका छन् ।

पौडेलहरुले मूलतः तीनवटा आरोप लगाएका छन् । पहिलो नयाँ शक्तिको कार्यदिशा नै स्पष्ट भएन, समाजवाद भनियो, तर त्यो कस्तो हो व्याख्या छैन । नयाँ शक्ति भनियो, तर कस्तो नयाँ भन्ने स्पष्ट भएन । दोश्रो, कार्यशैलीको समस्या । यसमा उनीहरुले मुख्यतः बाबुरामले आफूलाई देवत्वकरण गरेकोमा बिरोध गरेका छन् । बाबुरामले जे गरेपनि ठीक हुने, उनले बोलेका कुरा सही हुने प्रवृत्तिले नयाँ शक्ति अतिवादतर्फ जाँदै गरेको उनीहरुले आरोप लगाएका छन् । कार्यशैलीको समस्यामा पुराना, योगदान गरेका, हरेक दुखसुखमा साथ दिएका भन्दा तत्काल फाइदाका लागि जोडिएहरुको कुरा बढि सुनिने उनीहरुको अर्को गम्भीर आरोप छ ।

यसबाहेक उनीहरुले कार्यगत एकता र पार्टी एकताको प्रश्नमा समेत विमती राखेका छन् । पौडेलहरुद्वारा अघि सारिएको दस्तावेजमा कार्यगत एकतासम्बन्धी बाबुरामको विचार अधिभूतवादी र पूर्वाग्रही भएको उल्लेख छ । वामपन्थ र खासगरी द्वन्द्वात्मक भौतिकवादको आलोकमा उत्पीडितहरुको समाजवादलाई स्वीकार्ने अग्रगमनकारी शक्तिसँग एकताको कुरा पौडेलहरुले उठाएका छन् । जबकि बाबुरामले भने जो पायो त्यहीसँग एकताको कुरा गर्दै माओवादीसँग भने कुनै पनि हालतमा एकता नहुने आशयको टिप्पणी गर्दै आएका थिए ।

देवेन्द्र पौडेलहरुले यसअघि पनि पार्टीभित्र फरक मत नराखेका होइनन् । नयाँ शक्ति गठन भएको केही समय संगठनपछि नै उनले नयाँ शक्ति के का लागि किन नयाँ शक्ति भन्ने विषयले पार्टीमा समस्या निम्तिएको बताएका थिए । सँगै उनले नयाँ भित्रिने र गैर माक्र्सवादी पृष्ठभूमिबाट आएकाहरु र लामो समय नेपालको कम्युनिष्ट आन्दोलनमा काम गरेकाहरुबीच मुख्य अन्तरविरोध हुने सम्भावना समेत व्यक्त गरेका थिए । तर लामो समय उनले पार्टीभित्रै आफ्ना फरक मत राखे ।

सम्बन्धित् समाचार  नयाँ शक्तिका पूर्व नेताले बाबुराममाथि गम्भीर आरोप, नयाँ पार्टी खोल्ने घोषणा

केही समयअघि मात्रै नयाँ शक्तिको केन्द्रीय बैठक बस्यो, त्यो बेलासम्म समेत देवेन्द्र पौडेलहरुले अन्तरविरोधलाई पार्टीभित्रै हल गर्न खोजेको देखिन्छ । यतिसम्म कि पौडेलहरुले सार्वजनिकरुपमा बाबुरामको नै बचाऊ समेत गरे । तर अहिले आएर भने पौडेललगायतका नेताहरुले पत्रकार सम्मेलन नै गरेर फरक मत सार्वजनिक गरेका छन् । यो भनेको एक अर्थमा बाबुरामविरुद्ध र नयाँ शक्तिविरुद्धको विद्रोह हो । यसले नयाँ शक्तिको भविष्य नै संकटमा परेको स्प्ष्ट देखिएको छ । पार्टी नेतृत्वविरुद्ध सार्वजनिकरुपमा दस्तावेज नै तयार गरेर आफ्ना कुरा राख्नु भनेको समानान्तर धारको विकास हुनु हो । नयाँ शक्तिको यो समानान्तर धारसँग बाबुराम सहमत नहुने अवस्थामा पार्टी विभाजन निश्चित छ र त्यतिखेर देवेन्द्र पौडेलहरु उनीहरुले भने झैं बृहत अग्रगमनकारी मोर्चा बन्दीको पक्षमा अघि बढने छन् । जुन अन्ततः माओवादी केन्द्रको बिस्तारित बैठकले आव्हान गरेको बृहत एकताको बाटो नै हुने छ ।

नयाँ शक्तिमा यसरी विवाद देखिनुका पछाडि मूलतः बाबुराम भट्टराईको कार्यशैली नै जिम्मेवार देखिएको छ । यसको पुष्टि बाबुरामकै सहयात्रीहरुले समेत उनलाई छोड्नुबाट स्पष्ट हुन्छ । विगतमा बाबुरामका निकट सहयोगी मुमाराम खनालले बाबुरामको कार्यशैली र कार्यदिशाको अस्पष्टताको आरोप लगाउँदै पार्टी परित्याग गरे । त्यसपछि रामेश्वर खनालले समेत पार्टीको संगठनात्मक कार्यशैलीको आलोचना गरेर पार्टी छोडे । निर्मल बराल लगायत ६० बढी जिल्लाका सय बढी नेता तथा कार्यकर्ताहरुले राजनीतिक कार्यदिशामा बाबुरामपन हावी भएको र अवसरका लागि जो सँग पनि एकताको कुरा गरिएको आरोप लगाउँदै सार्वजनिकरुपमा नै विद्रोह गरे । त्यसपछि पनि विद्यार्थीदेखि दलित र अन्य अधिकांश नेता तथा कार्यकर्ताहरुले यी विषयमा असन्तुष्टि पोखेर पार्टी परित्याग गरे । यी सबै समस्याहरुले समस्या बाबुराममा रहेको देखाउँछ । बाबुरामभित्रको ‘म नै सर्वेसर्वा र जान्ने बुझ्ने’ प्रवृत्ति नै यसको मुख्य जिम्मेवार देखिन्छ ।

सम्बन्धित् समाचार  प्रचण्डसँग मिल्नुको विकल्प नभएको बाबुरामको भनाई, १६ महिनापछि पहिलो पटक एउटै मञ्चमा

तर बाबुरामले यो प्रवृत्ति सहजै परित्याग गर्लान् त ? घटनाक्रमहरुले त बाबुरामले यसो गर्ने देखाउँदैन । हिजो सशस्त्र युद्दका बेला हेडक्वार्टरले उनीविरुद्ध लगाएका प्रवृत्तिगत आरोपहरु नै अहिले पनि उनीभित्र जीवित रहेको कारण नै यी समस्याहरु आएको घटनाहरुले पुष्टि गर्दछन् । र, अर्को सत्य के पनि हो भने यो नसच्चिँदासम्म नयाँ शक्ति समेत जोगिने अवस्था देखिँदैन । किनभने सबैको मुख्य समस्या बाबुरामको विचार र उनको कार्यशैलीसँग देखिएको छ । त्यसो हो भने बाबुरामका अगाडि पौडेलहरुले राखेका विचारलाई स्वीकार्नै पर्ने बाध्यता या ‘पोलिटिकल आइसोलेसन’को स्थितिमा पुग्ने अवस्था देखिएको छ ।

पौडेलहरुसँगै दुई नम्बर प्रदेशका नेता तथा कार्यकर्ताहरुले प्रत्यक्ष या अप्रत्यक्षरुपमा माओवादी केन्द्रसँग एकताको अपील गरेका छन् । तर यही अवस्थामा माओवादी केन्द्रमा नगई केन्द्रभित्रसमेत हिजो फरक मतको अवस्थालाई सम्बोधन हुने अवस्थामा जानसक्ने उनीहरुको आजको दस्तावेजले देखाएको छ । त्यसको अर्थ सिंँगो माओवादी आन्दोलनमा राजनीतिक कार्यदिशाकै बहसलाई अगाडि बढाउनु नै हो भन्ने देखिन्छ । शान्तिकालपछि विचारको संश्लेषण गर्दै स्पष्ट कार्यदिशा बनाउन असफल नेपालको माओवादी आन्दोलनमा यी परिघटनाहरुले पक्कै पनि स्पष्ट राजनीतिक कार्यदिशा निर्माण गर्न मद्दत पु¥याउने देखिन्छ । तर यसको सबैभन्दा ठूलो मूल्य बाबुरामलाई गुमाउनु नै हुने छ । माओवादी आन्दोलनलाई आवश्यक व्यक्ति भएर पनि आफ्नै प्रवृत्तिका कारण बाबुराम बिनाको माओवादी आन्दोलन अघि बढ्ने अवस्था सिर्जना भएको छ ।

कमेन्ट गर्नुहोस्