निकै व्यस्त तालिकासहित नेपाली फुटबल टिम जापानतर्फ

86 पटक पढिएको

काठमाडौं, साउन २७ । एसियन कप फुटबल छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार जापान जाँदैछ । जापानमा रहँदा नेपाली टोलीले ५ वटा अभ्यास खेल खेल्ने तालिका छ ।

नेपालले यही साउन २९ देखि भदौ ३ सम्म ७ दिनको अन्तरालमा पाँच वटा खेल खेल्नेछ । अत्यन्तै व्यस्त खेल तालिकाको कारण नेपाली खेलाडीमा फिटनेसको समस्या आउन सक्नेछ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार दुई वटा खेलको बीचमा खेलाडीलाई आराम गर्न कम्तिमा ४८ घण्टाको सयम चाहिन्छ । दुईबाट तीन खेल खेल्नुपर्ने अवस्थामा उक्त समय झनै बढ्दछ । तर नेपाली टोलीको जापान भ्रमण र अभ्यास खेल तालिका तय गर्दा यो कुरा ख्याल गरेको देखिएको छैन ।

यसका बाबजुद उच्च फुटबल हैसियत भएको मुलुक जापानमा अभ्यास गर्न पाउनुलाई भने निकै महत्वका साथ हेरिएको छ ।

जापान जाने टोलीलाई बिहीबार अखिल नेपाल फुटबल संघ एन्फाले काठमाडौंमा एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, नेपालका लागि जापानी राजदुत मासाशी ओगावा, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतका पदाधिकारीले टोलीको बिदाई गरेका हुन् ।

नेपाली टोलीले जापानमा रहँदा त्यहाँको विश्वविद्यालय, क्लब र उमेर समूहका टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । एसियन कप छनोटको तेस्रो खेलमा नेपालले आगामी भदौमा ताजकिस्तानको सामना गर्दैैछ । भदौ २० गते काठमाडौंमा हुने सोही खेलको तयारी स्वरुप नेपालले जापान भ्रमण गर्न लागेको हो ।

अघिल्ला दुईमध्ये एक खेल बराबरी र अर्कोमा हार बेहोरेको नेपाल समूह एफको तेस्रो स्थानमा छ । नेपालको १ अंक छ भने लगातार दुई खेल जित्दै ६ अंक जोडेको फिलिपिन्स शीर्षस्थानमा तथा ४ अंकसहित यमन दोस्रो स्थानमा छ । ताजकिस्तान भने अंक विहीन छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  मैत्रीपूर्ण फुटबलमा नेपाल र बङ्गलादेश भिड्दै