सप्तरीमा १० हजार घर डुबानमा, ५ सय घरपरिवार विस्थापित

162 पटक पढिएको

काठमाडौं, साउन २८ । निरन्तरको वर्षाका कारण विभिन्न नदीमा आएका बाढीले सप्तरीमा १० हजार भन्दा बढी घरहरु डुवानमा परेका छन् भने ५ सय घरपरिवार विस्थापित बनेका छन् ।

खाँडो, कोसी जिता, महुलीलगायत नदीमा आएको बाढीका कारण सदरमुकाम राजविराजसहित जिल्लाका २ दर्जनभन्दा बढी गाउँ डुबेका छन् । राजविराजको खर्साल टोल, पानी टंकी, मदननगर, रुपनी रोड, कञ्चनपुर रोडलगायत बस्तीमा पानी पसेको छ ।

यस्तै सिरहा रोड, अड्डा लाइनलगायत सडकमा ३ फिटसम्म बाढी बगिरहेको छ । जिल्ला प्रशासन कार्यालय, अञ्चल प्रहरी कार्यालय, जिल्ला अदालत, कृषि विकास बैंक सुपरिवेक्षण कार्यालय, जिल्ला कृषि विकास कार्यालय, उच्च अदालत राजविराज ईजलास डुबानमा परेको छ । अञ्चल प्रहरी कार्यालय राजविराजको परिसरमा कम्मरसम्म पानी बगिरहेको छ ।

अझैसम्म पनि वर्षाभइरहेको हुनाले बाढी अझ बढ्न सक्ने अनुमान लगाइएको छ । बाढीका कारण विद्युत् र नेपाल टेलिकमको मोबाइल सेवा समेत अवरुद्ध बनेको छ ।

राजविराज नगरपालिकाकै डुकरी शिवथान, बिरौल, देउरी भरुवा, झल्ही फर्सेठलगायत स्थान पनि डुबानमा परेका छन् ।

भारतीय पक्षले दसगजासित जोडेर निर्माण गरेको पक्की बाँधका कारण विभिन्न खोलानदीको पानी निकास हुन नसक्दा सप्तरीको मल्हनिया गाउँ तीनदिनदेखि टापुमा परिणत भएको हो ।

हनुमाननगर कंकालिनी नगरपालिका १४ को मल्हनिया बस्तीका २ सय ५० घरमा पानी पसेको छ ।

कुनौली बोर्डरदेखि तिलाठीको पश्चिमी भागसम्म बनाइएको भारतीय पक्की बाँधमा एक स्थानमा मात्र २० मिटर जति पानी निकास हुने अवस्था छ ।

खाँडो खोला, जिता खोला र कोसी नदीको पानी एकैपटक मल्हनिया बस्तीमा पसेको हो । उक्त बस्तीका केही बासिन्दा घरमै खाटमा दिनरात काटिरहेका छन् भने केही स्थानीय दिनभरि बाढीबाट जोगिन नजिकैको पोखरीको डिलमा रहेको अग्लो स्थानमा खुल्ला आकाशमुनी बस्न बाध्य छन् ।

यस्तै तोताका १ सय परिवार विस्थापित भएका छन् । उनीहरु स्थानीय विद्यालयमा आश्रय लिएर बसेका छन् । यहाँका ५ सय घर डुबानमा छन् भने स्थानीय बस्तीबाट निस्कन सकेका छैनन् ।

सम्बन्धित् समाचार  बाढीले चार सय घर डुबानमा, नियन्त्रणमा खटिएका नै वेपत्ता

कमेन्ट गर्नुहोस्