अखिल क्रान्तिकारीमा आवद्ध विद्यार्थी जाग्रीको होस्टेलमै घाँटी रेटेर हत्या

भीमदत्तनगर, साउन २८ । कन्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत् विद्यार्थीको शनिबार बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले भर्त्सना गरेका छन् ।

बझाङ घर भइ हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बीएससी चौथो वर्षमा अध्ययनरत् विद्यार्थी डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको थियो ।

मृतक जाग्रीले क्याम्पसमा रहेको क्यान्टिनसमेत लिजमा लिएर सन्चालन गर्दै आएको बुझिएको छ । प्रहरीले प्रारम्भिक चरणमा घटनाबारे सोधपुछ गर्न क्यान्टिनका कारिगरसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

विभिन्न विद्यार्थी संगठनका नेताहरुले सामाजिक सञ्जालमार्फत् घटनाको भर्त्सना गर्दै हत्यारा पत्ता लगाइ कारबाहीको माग गरेका छन् । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कैलाश चन्दले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

त्यसैगरी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला अध्यक्ष ओम बस्नेतले पनि घटनाको भर्त्सना गरेका छन् ।

त्यस्तै, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्र विष्टले संगठनका होनहार नेताको हत्याको गहन छानबिन हुनुपर्ने माग गरेका छन् । जाग्री नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा आबद्ध थिए ।

हत्याको समयमा होस्टलमा रहेका अन्य विद्यार्थीले घटनाबारे थाहा नभएको बताएका छन् । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ ।

कमेन्ट गर्नुहोस्