सी जिनपिंङले ट्रम्पलाई फोन गर्दै भने– धम्की होइन, वार्तामा बस

116 पटक पढिएको

एजेन्सी, साउन २८ । चिनियाँ राष्ट्रपति सी जिङपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गर्दै उत्तर कोरियासँगको सम्बन्धमा संयमता अपनाउन आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले एकपछि अर्को ट्वीट गर्दै उत्तर कोरियालाई धम्क्याउन थालेपछि चिनियाँ राष्ट्रपतिले उत्तेजित नहुन ट्रम्पसँग आग्रह गरेका हुन ।

चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापार साझेदार र मित्र शक्तिका रुपमा रहँदै आएको छ । यद्यपी उत्तर कोरियाविरुद्ध थप नयाँ प्रतिबन्ध लगाउने विषयमा भने सुरक्षा परिषदमा चीनले समेत समर्थन गरेको थियो ।

चिनियाँ विदेश मन्त्रालयले दुबै राष्ट्रपतिबीच भएको टेलिफोन वार्ताबारे प्रेस विज्ञप्ती जारी गर्दै कोरियाली प्रायद्विपको संकटलाई हल गर्न धम्कीको भाषा छोडेर कुटनीतिक संवादमा जोड दिनुपर्ने कुरा चीनले स्पष्ट गरेको जनाएको छ ।

“अहिलेको समयमा दुबै पक्षले एक अर्कालाई भड्काउने भन्दा पनि धैर्यता र संयम अपनाउनु जरुरी छ । अमेरिकाबाट चीनले यही आशा राख्छ” राष्ट्रपति सीले भनेको विज्ञप्तीमा उल्लेख छ ।

गएको बुधबार उत्तर कोरियाले अमेरिकाले आफूलाई धम्क्याउन जारी राखेमा अमेरिकी नियन्त्रणमा रहेको सैन्य महत्व बोकेको गुयाम प्रायद्विपमा अन्तरप्रायद्विपीय ब्यालेष्टिक मिसाईलको परीक्षण विष्फोट गर्ने धम्की दिएको थियो ।

यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निजि गोल्फ रिसोर्टमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उत्तर कोरियाले यस्तो केही गरेमा इतिहासमै कोरियाको नाम नै मेटाइदिने धम्की दिएका थिए । राष्ट्रपति ट्रम्पले आधा दर्जन जति ट्वीटमार्फत कोरियालाई धम्क्याएका छन् ।

कोरियाको निकटको सम्बन्ध रहेको चीनले भने शुरुदेखि नै दुबै पक्षलाई वार्ता र कुटनीतिक संवादका माध्यमबाट आपसी विवादका मुद्दा हल गर्न जोड दिएको छ । चीनले उत्तर कोरियालाई समेत अमेरिकालाई भड्काउने गरी मिसाइल परीक्षण नगर्न अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  म्यानमार–चीन सीमाक्षेत्रमा भएको झडपमा १६० को मृत्यु