प्रचण्ड र बाबुरामबीच दुई घण्टा लामो विशेष छलफल

पूर्व माओवादी र अग्रगामी धाराबीचको एकतामा जोड

काठमाडौं, साउन २८ । नेकपा.माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच दुई घण्टा लामो विशेष छलफल भएको छ ।

अप्रेसनपछि बेडरेष्टमा रहेका नेता भट्टराईलाई भेट्न अध्यक्ष प्रचण्ड शनिबार दिउँसो टोखास्थित भट्टराई निवासमा पुगेका थिए । दुई घण्टा लामो छलफलमा दुई नेताबीच समसामयिक राजनीतिकका विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले पूर्व माओवादी र अग्रगामी धाराहरु बीचको एकतामा जोड दिँदै त्यसका लागि गम्भीर रुपले सोच्न नेता भट्टराईलाई आग्रह गरेका थिए ।

अध्यक्ष प्रचण्डले देशको जटिल राजनीतिक परिस्थितिलाई विचार गरेर माओवादीहरु एक हुनैपर्ने कुरामा जोड दिँदै सम्पूर्ण राजनीतिक परिस्थितिमा समीक्षा गरेर जान आफूहरु गम्भीर रहेको नेता भट्टराईलाई बताएका थिए ।

भेटमा नेता भट्टराईले समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने बताउँदै त्यसका लागि छलफललाई जारी राख्ने बताए । दुई नेताबीच समग्र विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्न छलफललाई जारी राख्ने समझदारी भएको छ ।

कमेन्ट गर्नुहोस्