हाम फालेकै हो जोखिम मोलेकै हो, मलाई आवेग र गतिको जीन्दगी मन पर्छ– प्रचण्ड

हामी हाई गर्दै, कलम घिस्दै
उत्पीडन र लाचारीमा बाँच्ने छैनौं
हामी आकांक्षा, आक्रोश, आवेग र अभिमानसँग बाँच्नेछौं ।
वास्तविक मानिस भएर बाँच्नेछौं ।”

गोकर्ण भट्ट

“हाम फालेकै हो, जोखिम मोलेकै हो, रिस्क नलिई समाज परिवर्तन हुँदैन ।” प्रचण्ड एकाएक भावकु बने, “यो प्रचण्ड बाँच्दासम्म यथास्थितिमा रमाएर बस्न सक्दैनँ ।”
खचिखचाऊ भरिएको सभागृह । माथिल्लो कौसी (बालकोनी)देखि तल कोच्चिएर प्रशिक्षण लिन सहभागी माओवादीहरु ।

७ वटै प्रदेशका पोलिटब्यूरो, केन्द्रीय सदस्य र केही इन्चार्जहरुको उपस्थितिमा प्रचण्डले वृहत वाम धु्रवीकरणको औचित्यबारे प्रशिक्षण दिँदा उनी कतिपय बेला आफै भावुक बने ।
शुरुमा पार्टी एकताको औचित्य र वर्तमान राष्ट्रिय राजनीतिका बारेमा बोलेका प्रचण्ड अन्तिमतिर आइपुग्दा एकता कसरी भयो र त्यसमा के के घटनाहरु भए भनेर बेलिबिस्तार लगाउन पुगे । “जोखिम नलिई इतिहास बन्दैन ।” प्रचण्डले भने ।

हिजो जनयुद्दको शंखघोष गर्दादेखि आज एमालेसँग एकताको प्रक्रियासम्म आइपुग्दा आवेग र तरङ्ग सिर्जना भएको बताए प्रचण्डले । एकताप्रति सशंकित र संशय राखेका कार्यकर्ताहरुमा जोस बढिरहेको थियो । हाँसो र भावुकता थपिँदै थियो ।

प्रचण्डले माक्र्सको कविताको सन्दर्भ अघि सार्दै आफू आवेग र तरङका, गति र परिवर्तनको जीवन बाँच्न मन पराउने बताए ।

“कठिनाई बिनाको रित्तो जीवन
मेरा लागि होइन
अहँ, स्वीकार गर्दैन यो मेरो तुफानी मनले
मलाई चाहिन्छ एउटा महान लक्ष्य
र, त्यसका लागि
जीवनभर संघर्षको अटूट क्रम
हामी हाई गर्दै, कलम घिस्दै
उत्पीडन र लाचारीमा बाँच्ने छैनौं
हामी आकांक्षा, आक्रोश, आवेग र अभिमानसँग बाँच्नेछौं ।
वास्तविक मानिस भएर बाँच्नेछौं ।”

प्रचण्डले माक्र्सका यी पंक्तिहरु जस्ताको तस्तै भनेनन । तर उनले यी पंक्तिको भाव झल्किने गरी माक्र्सको नाम लिएर यथास्थितिको जीवन भन्दा गतिशील जीवन माओवादी क्रान्तिकारीहरुले बाँच्नुपर्नेमा जोड दिए । “हामी माओवादी क्रान्तिकारी विचित्रका छौं ।” उनले भने, “जे छ, त्यसलाई स्वीकार गरेर जीन्दगी काट्न सक्दैनौं । यो एकता पनि एउटा जोखिम हो, एउटा आवेग र तरङ हो । यसको सामना गर्न हामी एकढिक्का हुनैपर्छ ।”

नेपालको कम्युनिष्ट आन्दोलनमा चौथो महाधिवेशनले माओवादी क्रान्तिकारी धारको सुरुआत गरेको बताउँदै प्रचण्डले त्यसअघि तत्कालिन माले समूहले “चीनको अध्यक्ष हाम्रो अध्यक्ष” जस्तो नारा समेत लगाएपनि २०३५ सम्म आइपुग्दा उनीहरु संशोधनवादी भएको इतिहास स्मरण गराए । उनले भने, “त्यसपछि २०४८ मा संसदको उपयोग गर्ने गरी सबै कम्युनिष्टहरुसँग एकताको पहल गर्यौं । हतियारको तालिम र युद्दको तयारी गर्ने माओवादी पार्टीले संसदको उपयोग गर्ने र सबै कम्युनिष्टसँग एकता गर्ने कुरा चानचुने र कम्ती दुस्साहस थिएन । तर हामी अघि बढ्यौं । एकता केन्द्र बन्यो । त्यो बेला पनि चौतर्फी तरङ्ग फैलियो ।”

२०५२ सालमा जनयुद्दको शुरुआत, त्यसपछि शान्ति प्रक्रियामा अवतरण, संविधान निर्माण र अहिले कार्यान्वयनको चरणमा एमालेसँग पार्टी एकताको प्रक्रिया, यी सबै इतिहासका घटनाहरु दुस्साहस भएको प्रचण्डको जिकिर थियो । “हामीले जोखिम नलिएको भए के हुन्थ्यो, सोच्नुस्त् कमरेडहरु ?” प्रचण्डले प्रश्न गरे, “हामी गतिशील भएकै कारण, हामी माक्र्सले भनेजस्तो उत्पीडन र अन्यायका विरुद्ध लगातार सक्रिय भएकै कारण आज समाजवादको आधार निर्माण गर्ने अवस्थामा आइपुगेका छौं । एमालेसँगको एकता पनि यस्तै गतिशिलताको एउटा चुनौती हो । मलाई विश्वास छ, हामी यसमा समेत विजयी हुन्छौं ।”

र मान्छे भएर जन्मिएपछि त्यसै कुँजिएर, बेथिती देखेर पनि चुपचाप बस्न सकिँदैन । म माओवादी हुँ, मलाई आवेग र तरंगको जीवन मन पर्छ, माक्र्सले भने झैं ।”

प्रचण्ड केही भावुक, केही उत्तेजित देखिन्थे शनिवारको प्रशिक्षणमा । उनले नेपालको कम्युनिष्ट आन्दोलनको पृष्ठभूमिसहित अहिलेको अवस्थाको सर्सती विश्लेषण गरे । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि यसले गतिशीलता लिन नसकेको उनको आशय थियो । पार्टी विभाजन, संविधानसभाको पहिलो निर्वाचनमा बहुमत पाएपछि पलाएको दम्भ, दोश्रो निर्वाचनमा प्राप्त हारको निराशा, पार्टीभित्र अराजकता, आरोप–प्रत्यारोपको श्रृंखलाले पार्टी जडतामा पुगेको उनको भनाई थियो ।

उनले व्यंग गर्दै भने, “हामीले हामी भित्रै एक अर्कालाई गाली गर्यौं, एक अर्कासँग विवाद र बहस गर्यौं । त्यसले के पायौं ? अब एमालेसँग एकता गर्दैछौं, सैद्धान्तिक र वैचारिक बहस गर्ने ठूलो स्पेस हामीले पाएको छौं । अब बहस गरौं कार्यदिशाको, विचारको र हाम्रो भविष्यको ।”

एमालेसँग एकताको प्रसँगले बल्ल कार्यकर्ता र नेताहरुमा माओवादी आन्दोलन र यसको भविष्यप्रति चिन्ता पलाएकोमा प्रचण्डले खुशी व्यक्त गरे । एमालेसँग एकता भए हाम्रो आन्दोलन के हुन्छ, शहीदका सपना के हुन्छन ? माओवादी पार्टीको भविष्य र सिंगो क्रान्तिको भविष्य के हुन्छ भन्ने चिन्ता निकै उच्चस्तरमा व्यक्त भएको उनले बताए । उनले भने, “यो निकै सकारात्मक कुरा हो, अब यो चिन्ताको उत्तर नयाँ बन्ने पार्टी र त्यसको सैद्धान्तिक विचार, त्यसले लिने बाटोमा खोजौं । तर त्यसका लागि तपाई हामी एक ढिक्का बन्नुपर्छ । हामी एक भएर अघि बढ्यौं भने शहीदका सपनाहरु पुरा गर्ने दिशामा अघि बढ्छौं । समाजवादी समाजको निर्माण गर्न सक्छौं ।”

एकताबारे माओवादी प्रशिक्षणः केही उत्तेजित र धेरै भावुक प्रचण्डको सम्बोधन

चुनौती थुप्रै भएपनि संसदवादमा फस्नुभन्दा नयाँ प्रयोग र विचारको नयाँ संश्लेषणतर्फ जानु उचित भएको प्रचण्डको आसय थियो । त्यसो त परिस्थितिले समेत त्यही देखाएको छ । संसदमा टिकिराख्न, सत्तामा जानका लागि जो सँग पनि जस्तो खालको गठबन्धन समेत गर्नुपर्ने संसदीय संसदवादी अभ्यासमा रुमल्लिनु भन्दा मिल्न सक्ने बुँदामा मिलेर अघि बढ्नु अहिलेको सान्दर्भिकता समेत हो । प्रचण्ड र अन्य नेताहरु आत्मगतरुपमा माओवादी आन्दोलन छिन्नभिन्न भएको अवस्थामा संसदवादमा मात्रै रुमल्लिएको एमालेलाई त्यो भन्दा अगाडि, त्यो भन्दा माथि, क्रान्तिका पक्षमा बहस गर्ने ठाउँमा एकताको बहसले ल्याएको छ ।

प्रचण्डले मातृकातर्फ इंगित गर्दै भने, “हिजो मधेसको नाम पनि सुन्न नचाहने एमाले अहिले ‘सबै उत्पीडित जात, जाति, भाषा, क्षेत्र र लिंगका अधिकार संविधानमा परिमार्जन गरी संस्थागत गर्न’ राजी भएको छ, यो सकारात्मक हो कि होइन ? एमाले समाजवादी क्रान्तितर्फ अघि बढने दिशामा पुगेको छ, यो हाम्रो जीत हो कि होइन ? समाजवादी क्रान्तिका लागि वाम एकता र धु्रवीकरणको बहसमा उनीहरु आएका छन्, यो कसरी हाम्रो हार हुन सक्छ ? तर यो बहसलाई हाम्रा सपना पुरा गर्ने दिशामा लैजान घनिभूत वैचारिक संघर्ष आवश्यक छ, यसका लागि हामी जुटनुपर्छ, साहसका साथ अघि बढ्नु पर्छ ।”

प्रचण्डले अब विचारको लडाई शुरु भएको र यसमा इस्पात बनेर निस्किनुपर्नेमा जोड दिए । “यथास्थितिमा बस्न चाहने कम्युनिष्ट पार्टी र क्रान्तिकारी विचार बोकेको कम्युनिष्ट पार्टीबीच अब बहस शुरु हुन्छ । यो बहसमा हामी स्पात बनेर निस्किनुपर्छ ।” उनले भने, “ न हामी एमाले हुने हो, न एमाले माओवादी हुने हो । अब हामीले क्रान्तिको नयाँ चरणमा नयाँ विचार र नयाँ पार्टी निर्माण गरेर अघि बढ्ने दिशा समातेका छौं । तपाईहरु इस्पात बनेर यसमा खरो उत्रिनु हुने छ ।”

अन्तमा प्रचण्डले एकजना व्यक्तिले उनलाई भनेको कुरा सुनाए, “यो प्रचण्ड बाँच्दासम्म कतिजनाले दुख पाउने हुन, कहिले चुप लागेर बस्न जानेको छैन भनेर मलाई एकजनाले भनेका थिए । मैले दुख दिए या नेपाली जनतालाई सुख दिए, त्यो त इतिहासले फैसला गर्ला, तर मान्छे भएर जन्मिएपछि त्यसै कुँजिएर, बेथिती देखेर पनि चुपचाप बस्न सकिँदैन । म माओवादी हुँ, मलाई आवेग र तरंगको जीवन मन पर्छ, माक्र्सले भने झैं ।”

कमेन्ट गर्नुहोस्