एमालेसित एकता गरेर हुन्छ के ? विचार भए पो ! : गाेपाल किराती

प्रचण्डको प्रतिबद्धतालाई हामीले नयाँ संकल्पको अर्थमा बुझेका छौँ ।

गाेपाल किराती/ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवाद–लेनिनवाद–माओवाद नै मानव मुक्तिको सर्वोच्च विज्ञान हो, जसलाई संक्षिप्तमा ‘माओवाद’ भनेर बुझ्न सकिन्छ । खासगरी रुस र चीनमा भएको प्रतिक्रान्तियता सर्वोच्च विज्ञानको रूपमा माओवादलाई अख्तियार गर्नेहरू नै क्रान्तिकारी सावित भए । नेपालमा भएको जनयुद्ध तथा भारतमा जारी माओवादी आन्दोलन यसैका प्रमाण हुन् । युरोप र अमेरिकाजस्ता सम्भ्रान्त मुलुकका प्रगतिशील युवामा समेत माओवादकै प्रभाव बढ्न थालेको छ । यसर्थ विद्यमान शताब्दीमा माओवादी विज्ञानअभावमा मानिस वा जुनसुकै नामधारी समूह वास्तविक क्रान्तिकारी कम्युनिस्ट हुन सक्दैन ।

वैचारिक एवं मुद्दागत प्रश्नमा एकता नभई सांगठनिक एकता गरिन्छ भने त्यो विलय वा आत्मसमर्पण मात्र हुनेछ ।  लेखनाथ पौडेलको कवितांशलाई केही मोडेर बुझौँ । एमालेसित एकता गरेर हुन्छ के ? विचार भए पो !

माओवादी विज्ञानको संस्थागत पथप्रदर्शनमा नेपालमा आन्तरिक राष्ट्रियताको वैज्ञानिक व्यवस्थापन नगर्ने हो भने किन चाहियो समाजवाद ? कसका लागि चाहियो ? कसले लडेर ल्याइदिन्छ त्यो समाजवाद ? एमालेलाई कम्युनिस्ट बुझ्नेहरू र बुझेको ढोंग रच्नेहरूले यो सैद्धान्तिक प्रश्नको जवाफ दिनैपर्छ ।
जसरी वेद नमान्ने हिन्दू हुन सक्दैन वा धम्मपद नमान्ने बौद्ध हुन सक्दैन । त्यस्तै, कुरान नमान्ने इस्लाम, बाइबल नमान्नेहरू क्रिस्चियन हुनै सक्दैनन् । भन्ने गरिन्छ नि प्रतिक्रान्ति र संशोधनवाद ढोल–झ्याम्टा बजाएर आउँदैन । माओवाद नमान्नेहरू कम्युनिस्ट हुन सक्दैनन् भन्ने तथ्य बिर्सेर विशुद्ध कम्युनिस्ट केन्द्र निर्माणको लहडमा कसैसित एकता गर्न खोज्नु सर्वहारा क्रान्तिको पक्षधरता पनि हुन सक्दैन ।

गाेपाल किराती

अहिले माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले एमालेसँग चुनावी एकता गरेको छ । उम्मेदवार सिफारिस समितिको बैठक भनेर पेरिसडाँडामा बोलाइयो । त्यही बैठकमा एक्कासि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समिति, ६० र ४० को उम्मेदवार अनुपात, घाम चिह्नमा चुनाव लड्नुपर्ने तथा चुनावलगत्तै माओवादी केन्द्र र एमालेबीच एकता घोषणा गर्नेलगायत विषय समेटिएको सातबुँदे पत्र प्रस्तुत गर्नुभयो । हामीले प्रश्न गर्यौँ, ‘अब माओवाद र पहिचानको मुद्दा के हुन्छ ?’ उहाँको जवाफ थियो, ‘छलफल गर्न सकिन्छ ।’

नेपालमा आन्तरिक राष्ट्रियता अर्थात् पहिचानको मुद्दा व्यवस्थापनको वैज्ञानिक नीति र कार्यशैलीको अभाव हामीले भन्दै आएको समाजवादी क्रान्ति वैज्ञानिक नभएर स्वतः काल्पनिक हुनेछ ।

हामीले पुनः प्रश्न गर्यौँ, ‘होइन, माओवाद र पहिचानको मुद्दा कार्यान्वयनको विषय हो कि छलफलको ?’ प्रचण्ड नाजवाफ हुनुभयो । बैठकमा प्रचण्डबाट चित्तबुझ्नो जवाफ नपाएपछि हामी खरो आन्तरिक संघर्षमा उत्रियौँ । अन्नतः प्रचण्डले माओवाद र पहिचानको मुद्दा छोड्न नसकिने प्रतिबद्धता जनाउनुभयो । प्रचण्डको प्रतिबद्धतालाई हामीले माओवादी केन्द्रमा नयाँ संकल्पको अर्थमा बुझेका छौँ । यसका साथै अन्तरपार्टी दुई लाइन संघर्षको बाटोमा पनि अघि बढेका छौँ ।

सन् १९१७ को अक्टोबरमा सम्पन्न समाजवादी क्रान्तिलगत्तै लेनिनले राज्य र क्रान्ति शीर्षकमा विशिष्ट महत्व बोकेको पुस्तक प्रकाशित गर्नुभयो । लेनिनको सो सोध पुस्तकमा सोभियत संघ समाजवादी राज्यको विलोपीकरणका निम्ति राजनीतिक कार्यदिशा थियो । शाब्दिक सन्दर्भमा पनि भन्दा समाजवादी राज्य निर्माणका निम्ति लेखिएको भए उक्त पुस्तकको नाम क्रान्ति र राज्य भन्ने हुन सक्थ्यो । तर, प्राप्त सर्वहारा वर्गको समाजवादी राज्यलाई विलोपीकरण अर्थात् साम्यवादतर्फ केन्द्रित राजनीतिक कार्यदिशा हुनुको कारण पुस्तकको नाम राज्य र क्रान्ति राखियो ।

रूपमा हेर्दा बाह्य राष्ट्रियताको प्रश्नमा एमाले ठीकै देखिन्छ । तर, आन्तरिक राष्ट्रियताको प्रश्नमा भने ऊ असाध्यै दमनकारी गिरोहको रूपमा प्रस्तुत हुँदै आएको छ ।

लेनिनको त्यही राज्य र क्रान्तिको विचारलाई आफ्नो तर्फबाट मौलिक विकास गर्दै माओत्सेतुङले निरन्तर क्रान्तिको सिद्धान्तमा उठाउनुभयो । सन् १९६६ देखि लगातार दश वर्ष सञ्चालित महान् सर्वहारा सांस्कृतिक क्रान्तिको व्यावहारिक अभ्यासको पृष्ठभूमिमा माओले त्यसरी निरन्तर क्रान्तिको सिद्धान्त विकास गर्नुभयो । निरन्तर क्रान्तिको अर्थ हो ‘सर्वहारा वर्गले राज्यसत्ता हासिल गर्नुअघि राज्यसत्ताको निम्ति क्रान्ति गर्नुपर्छ र राज्यसत्ता प्राप्तिपछि त्यसको विलोपीकरणको निम्ति क्रान्ति गनुपर्छ । जबसम्म विश्व साम्यवाद स्थापना हुनेछैन, तबसम्म क्रान्ति गर्नुपर्छ ।’ यसरी निरन्तर क्रान्तिको विज्ञान अर्थात् राज्यसत्ता प्राप्ति र त्यसपछिको विलोपीकरणको विज्ञान नै वस्तुतः माओवाद हो । त्यसैले चुरो कुरा यही हो कि माओवादको अभावमा यहाँ समाजवादी क्रान्ति हुँदैन ।

कम्युनिस्ट घोषणापत्रको संश्लेषणअनुसार नै समाजवाद दुई प्रकारको हुन्छ– एउटा वैज्ञानिक र अर्को काल्पनिक । सर्वहारा वर्ग र उत्पीडित राष्ट्रिय समुदाय वैज्ञानिक समाजवादको स्थापना चाहन्छन् । जहाँबाट उनीहरू राज्य विलोपीकरणमा पुगेर मानवद्वारा मानवविरुद्ध हुने उत्पीडनको अन्त्य गर्छन् । अतः वैज्ञानिक समाजवादका निम्ति विज्ञानको पथप्रदर्शन अपरिहार्य छ । त्यो विज्ञान माक्र्सवाद–लेनिनवाद–माओवादबाहेक यो दुनियाँमा अरू हुनै सक्दैन । कम्युनिस्ट केन्द्र निर्माणको सन्दर्भमा यसरी माओवादलाई छाड्ने वा बहसमा धकेल्ने चिन्तन र प्रवृत्तिविरुद्ध जीवन–मरणको संघर्ष हुन्छ ।

प्रचण्डको प्रतिबद्धतालाई हामीले माओवादी केन्द्रमा नयाँ संकल्पको अर्थमा बुझेका छौँ । यसका साथै अन्तरपार्टी दुई लाइन संघर्षको बाटोमा पनि अघि बढेका छौँ ।

पहिचानको प्रश्न

लेनिनले जसरी मजदुर–किसान र उत्पीडित जातिको मुक्तिका निम्ति उनीहरूको शक्ति परिचालनको आधारमा अक्टोबर समाजवादी क्रान्ति गर्नुभयो । ठीक त्यसरी नै नेपालमा साँच्चै समाजवादी क्रान्ति गर्ने हो भने यहाँका उत्पीडित राष्ट्रिय समुदायको राजनीतिक, आर्थिक, सांस्कृतिक मुक्तिको आम प्रत्याभूति गर्नुपर्छ । फेब्रुअरी पुँजीवादी क्रान्तिले पूरा गर्न नसकेको ऐतिहासिक कार्यभार अक्टोबर क्रान्तिद्वारा सम्पन्न गरेर लेनिनले जसरी जातिहरूको आत्मनिर्णयको अधिकार प्रयोग गर्दै सोभियत संघ निर्माण गर्नुभयो । त्यसरी नै ७० प्रतिशत उत्पीडित समुदाय रहेको नेपाली समाजमा सर्वहारा क्रान्तिको अन्तर्वस्तु त्यसबाहेक भिन्न हुन सक्दैन । संघीय लोकतान्त्रिक गणतन्त्रलाई रुसमा फेब्रुअरी क्रान्तिसरह मूल्यांकन गर्दै अक्टोबर अर्थात् समाजवादी क्रान्तिको तयारीमा डट्नेहरूले पहिचानको मुद्दा यसरी छाड्नै मिल्दैन ।

माओका अनुसार नेपालजस्तो बहुजातीय मुलुकमा राष्ट्रियताको दुई पक्ष हुन्छ, बाह्य र आन्तरिक । रूपमा हेर्दा बाह्य राष्ट्रियताको प्रश्नमा एमाले ठीकै देखिन्छ । तर, आन्तरिक राष्ट्रियताको प्रश्नमा भने ऊ असाध्यै दमनकारी गिरोहको रूपमा प्रस्तुत हुँदै आएको छ । अतः नेपालमा आन्तरिक राष्ट्रियता अर्थात् पहिचानको मुद्दा व्यवस्थापनको वैज्ञानिक नीति र कार्यशैलीको अभाव हामीले भन्दै आएको समाजवादी क्रान्ति वैज्ञानिक नभएर स्वतः काल्पनिक हुनेछ । काल्पनिक समाजवादका निम्ति माओवाद बुझेका सर्वहारा क्रान्तिकारीले रगत त के एक थोपा पसिना पनि बगाउनेछैनन् ।

माओवाद मानेपछि मात्र सर्वहारा क्रान्तिकारी जाग्नेछन् भने पहिचानको मुद्दा स्थापित गरेर मात्र उत्पीडित राष्ट्रिय समुदाय जाग्नेछ । अतः माओवादी विज्ञानको संस्थागत पथप्रदर्शनमा नेपालमा आन्तरिक राष्ट्रियताको वैज्ञानिक व्यवस्थापन नगर्ने हो भने किन चाहियो समाजवाद ? कसका लागि चाहियो ? कसले लडेर ल्याइदिन्छ त्यो समाजवाद ? एमालेलाई कम्युनिस्ट बुझ्नेहरू र बुझेको ढोंग रच्नेहरूले यो सैद्धान्तिक प्रश्नको जवाफ दिनैपर्छ ।

संगठनको प्रश्न

माओवादी केन्द्रका क्रान्तिकारी साथीहरू, गम्भीरतापूर्वक यसलाई मनन गर्नुपर्छ कि बोल्सेभिक र मेन्सेभिकबीच एकता र संघर्ष, अक्टोबर क्रान्ति सम्पन्न गर्ने प्रश्नमा लेनिन सधैँ आफ्नो समूहको र अक्टोबर क्रान्तिको प्रमुख नेता हुनुहुन्थ्यो । त्यस्तै नेपालमा तत्कालीन एकता केन्द्रको क्रममा पनि प्रचण्ड पार्टी प्रमुख हुनुहुन्थ्यो । हाम्रो ऐतिहासिक एवं सैद्धान्तिक प्रश्न भनेको बोल्सेभिक र मेन्सेभिकबीच एकता र संघर्षको क्रममा तथा अक्टोबर क्रान्तिको क्रममा पार्टी प्रमुखको स्थानमा लेनिन नरहनुभएको भए लेनिनले जुन सफलता हासिल गर्नुभयो, त्यो सम्भव थिएन । त्यसैगरी एकता केन्द्र निर्माण तथा दुई लाइन संघर्षको क्रममा पनि प्रचण्ड पार्टी प्रमुख नरहनुभएको भए महान् जनयुद्ध सम्भव हुन्थ्यो ?

प्राप्त सर्वहारा वर्गको समाजवादी राज्यलाई विलोपीकरण अर्थात् साम्यवादतर्फ केन्द्रित राजनीतिक कार्यदिशा हुनुको कारण पुस्तकको नाम राज्य र क्रान्ति राखियो ।

निर्मल लामा र रूपलाल विश्वकर्माले माओका विचारधारा स्वीकार गरेकै थिए । यद्यपि लामा र रूपलालसँग विचारको नभई जनयुद्धको प्रश्नमा मात्र मतभेद थियो । नेतृत्वभन्दा विचारधारा प्रधान मानिन्छ । तर, विचार र नेतृत्व भने अन्तर्सम्बन्धित हुन्छ । गहिरो अध्ययन गरौँ, के लामा र रूपलालसरह क्रान्तिकारी विचारमा एमाले समूह सहमत वा रूपान्तरण हुन सक्छ ? वाम एकताको बहानामा गरिने क्रियाकलाप दक्षिणपन्थी आत्मसमर्पण हुन्छ । संस्थागत जवाफको अभावमा सर्वहारा क्रान्तिकारीहरू साल्पा पोखरीको कालो दहमा हाम फाल्न तयार छैनन् ।

निष्कर्षमा, नेपालमा समाजवादी क्रान्तिको आधारभूत सर्तका रूपमा माओवादको विज्ञान र पहिचानको मुद्दा स्थापित गर्नैपर्छ । तसर्थमा गरिने एकता मात्र वास्तविक महान् चमत्कार हुनेछ । त्यसो भयो भने मात्र वस्तुतः समाजवादी क्रान्ति सम्पन्न गर्ने सामथ्र्य राख्छ । त्यस्तो महान् चमत्कारलाई सर्वहारा क्रान्तिकारीहरू हा“सेर मात्र होइन, साकेला नाचेर स्वागत गर्नेछन् । एकता गर्ने नै हो भने सर्वप्रथम दस्ताबेज सम्मेलन आयोजना गर्नुपर्छ । दुवै केन्द्रीय समिति र त्यसको स्थानीय तहसम्म महान् बहस सञ्चालन गर्नुपर्छ । अन्यथा वैचारिक एवं मुद्दागत प्रश्नमा एकता नभई सांगठनिक एकता गरिन्छ भने त्यो विलय वा आत्मसमर्पण मात्र हुनेछ । अन्त्यमा, लेखनाथ पौडेलको कवितांशलाई केही मोडेर बुझौँ । एमालेसित एकता गरेर हुन्छ के ? विचार भए पो ! -नयाँ पत्रिकाबाट

(किराती माओवादी केन्द्रका नेता हुन्)

कमेन्ट गर्नुहोस्