मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपका लागि छनौट

काठमाडौं, असोज २५ । मंगलबार भएको खेलमा स्टाईकर लियोनल मेसिको ह्याट्रिकको मद्दतमा ईक्वेडरलाई ३–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना रसिया विश्वकपका लागि छनौट भएको छ ।

खेलको पहिलो मिनेटमै १–० ले पछि परेको अवस्था उल्टाउँदै अर्जेन्टिना खेलमा फर्किएको थियो । १२ औं मिनेटमा पहिलो गोल गरेका मेसीले २० र ६२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

पछिल्लो जितसंगै अर्जेन्टिना २८ अंक सहित तालिकाको तेस्रो स्थानमा रहँदै विश्वकपका लागि छनौट भएको हो । कोलम्बियाले पेरुसंग एक–एकको बराबरी खेल्दै अंक बाँडेपछि अर्जेन्टिनाको यात्रा थप सहज बनेको हो । बराबरीसंगै कोलम्बियाले पनि विश्वकपमा स्थान बनाएको छ । पेरुले भने प्ले अफ खेल्नुपर्ने भएको छ ।

दक्षिण अमेरिकी छनौट अन्र्तगतका अन्य खेलमा ब्राजिलले चीलीलाई ३–० ले तथा भेनेजुएलाले पाराग्वेलाई १–० ले पराजित गरे। हारसंगै चीली विश्वकपको छनौटबाटै बाहिरिएको छ । बोलिभिया उरुग्वेसंग ४–२ ले स्तब्ध भयो ।

दक्षिण अमेरिकाबाट ब्राजिल शीर्ष स्थानमा रहँदै विश्वकपमा छनौट भएको छ भने उरुग्वे दोस्रो र अर्जेन्टिना तेस्रो स्थानमा रहँदै विश्वकपका लागि छनौट भएका हुन् । उता मध्य तथा उत्तर अमेरिकी छनौट अन्र्तगतको खेलमा विजयी हुँदै कोष्टारिकालाई २–१ गोल अन्तरले हराउँदै पानामा विश्वकपका लागि छनौट भएको छ ।

मेक्सिकोलाई ३–२ गोल अन्तरले हराएको होण्डुरसले भने प्ले अफमा स्थान बनाएको छ । संयुक्त राज्य अमेरिका भने ट्रिनिडाड एण्ड टोबागोसंग पराजित हुँदै छनौट चरणबाट बाहिरिएको छ ।

कमेन्ट गर्नुहोस्