बाढीपीडित किसानको खातामा ८० करोड : कुन जिल्लामा कति ?

काठमाडौं, असोज २६ ।  तराईमा आएको बाढीले क्षति बेहोरेका किसानलाई कृषि विकास मन्त्रालयले १ अर्ब २५ करोड ५ लाख ६० हजार रुपैयाँ राहतका लागि पठाएको छ । त्यसमध्ये करिब ८० करोड रुपैयाँ अनुदान किसानको खातामा पुग्नेछ । २६ साउनदेखि परेको अविरल वर्षापछि आएको बाढीले तराईका २० जिल्लाको कृषि क्षेत्रमा ६ अर्बको नोक्सान गरेको थियो । त्यसलाई तत्काल पूर्ति गर्न प्रभावित क्षेत्रका किसानलाई ८० करोड रुपैयाँ अनुदान प्रवाहका लागि बजेट निकासा भएको कृषि मन्त्रालयका प्रवक्ता डा. योगेन्द्रकुमार कार्कीले जानकारी दिए ।

‘बाढी प्रभावित २० जिल्लामा कुल १ अर्ब २५ करोड रुपैयाँ निकासा भएको छ । यसमा २० करोड रासायनिक मल र २० करोड प्रांगारिक मल खरिदका लागि उपयोग हुनेछ,’ उनले भने, ‘बाँकी रकम किसानले बेहोरेको क्षतिका आधारमा बैंक खातामा जम्मा गरिदिने गरी पठाएका छौँ ।’अनुदान रकमलाई पारदर्शी ढंगले किसानसम्म पु¥याउन बैंक खातामा जम्मा गरिदिन लागेको उनले बताए । ‘बैंकमा खाता नभएका किसानलाई कर्मचारीले खाता खोल्न सहजीकरण गरिदिनेछन्,’ उनले भने, ‘अनुदान रकम पारदर्शी रूपले वितरण गर्न बैंक खातामा पठाउन लागिएको हो ।’

प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा किसानले बेहोरेको क्षतिको मूल्यांकन गर्न समिति गठन भएको र सोही समितिले सिफारिस गरेका आधारमा किसानलाई राहत रकम उपलब्ध गराउने उनले बताए । ‘सुरुमा किसानले बेहोरेको क्षतिको स्वघोषणा गरेका थिए,’ उनले भने, ‘किसानले दाबी गरेको क्षतिलाई प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले मूल्यांकन गरी कुन किसानलाई कति राहत दिने भनेर निर्णय हुन्छ । र, सोही आधारमा किसानलाई रकम वितरण हुन्छ ।’ बाढीले सबैभन्दा धेरै धानबालीमा क्षति पु¥याएको थियो । करिब ३ अर्बको धानबालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै तरकारी, मकै, दलहन, माछा, केरा, कोदो, तेलहन, बदाम र बेसारमा बाढीले धेरै क्षति गरेको थियो ।

प्राकृतिक प्रकोपले बर्सेनि असर

कृषि क्षेत्रमा डुबान, कटान, बाढी, पहिरो, असिना, सुक्खा, पहिरोलगायतले पछिल्लो चार वर्षमा करिब चार लाख हेक्टर खेतीयोग्य जमिनमा नोक्सानी गरिसकेको छ । सबैभन्दा धेरै सुक्खा र पहिरोले झन्डै २ लाख हेक्टरमा क्षति गरेको मन्त्रालयले जनााएको छ । बाढी, पहिरोले दीर्घकालीन रूपमा खेतीयोग्य जमिनमा असर गर्दै आएको प्रवक्ता कार्कीले बताए ।

मन्त्रीका जिल्लामा धेरै रकम

कृषि विकासमन्त्री रामकृष्ण यादवको गृह जिल्ला धनुषामा सबैभन्दा धेरै राहत रकम निकासा भएको छ । मन्त्रालयका अनुसार धनुषामा १६ करोड ३२ लाख ५२ हजार रुपैयाँ वितरण भएको छ । यस वर्ष तराईका आठ जिल्लामध्ये धनुषामा सबैभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ । राज्यमन्त्री सरिता प्रसाईंको गृहजिल्ला झापामा १२ करोड १५ लाख १४ हजार रुपैयाँ निकासा भएको छ । आसपासका मोरङ, सुनसरीमा ५–५ करोड रुपैयाँ मात्र निकासा भएको छ । महोत्तरीमा १२ करोड ६९ लाख ३४ हजार, रौतहटमा ११ करोड ४० लाख ८१ हजार र सर्लाहीमा १० करोड २५ लाख ६३ हजार रुपैयाँ निकासा भएको छ ।

कुन जिल्लामा कति रकम ?

जिल्ला                बजेट

पर्सा : ७ करोड १० लाख ५५ हजार

बारा : ६ करोड ३७ हजार

रौतहट : ११ करोड ४० लाख ८१ हजार

सर्लाही : १० करोड २५ लाख ६३ हजार

धनुषा : १६ करोड ३२ लाख ५२ हजार

महोत्तरी : १२ करोड ६९ लाख ३४ हजार

चितवन : १ करोड ५० लाख ९० हजार

रसुवा : १ करोड ८५ लाख ६ हजार

रामेछाप : ५७ लाख ६१ हजार

ललितपुर : १ करोड १९ लाख २२ हजार

झापा : १२ करोड १५ लाख १४ हजार

मोरङ : ५ करोड ४२ लाख ५२ हजार

सुनसरी : ५ करोड ४६ लाख ७५ हजार

सप्तरी : ६ करोड ८ लाख ३१ हजार

सिराहा : ६ करोड २६ लाख ११ हजार

बझाङ : २९ लाख ५९ हजार

दार्चुला : २३ लाख ७१ हजार

बैतडी : १७ लाख ५० हजार

कैलाली : २ करोड ५८ लाख ६० हजार

डोटी : २५ लाख

दाङ : १ करोड ६८ लाख २२ हजार

बाँके : ३ करोड ७४ लाख ३६ हजार

बर्दिया : ६ करोड १ लाख ३८ हजार

रुपन्देही : ८५ लाख ३४ हजार

कास्की : १९ लाख ८३ हजार

बाग्लुङ : १८ लाख ४७ हजार

गुल्मी : ५८ लाख ८७ हजार

नवलपरासी : १ करोड ६ लाख १८ हजार

कपिलवस्तु : १ करोड ७० लाख ६० हजार

तनहुँ : १ करोड ६ लाख ८७ हजार

स्रोत : कृषि विकास मन्त्रालय

कमेन्ट गर्नुहोस्