आफ्नै दाजुको हत्यारा ३७ वर्षीय विजय गोसाई १७ वर्षपछि पक्राउ

काठमाडौं, असोज २८ । सल्यानको स्यानीखालमा दाजुको हत्या आरोप लागेका एक जनालाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । शारदा नगरपालिका १२ स्यानिखाल मुलडाँडाका ३७ वर्षीय विजय गोसाई १७ वर्षपछि पक्राउ परेका हुन ।
उनलाई तुलसिपुर उपमहानगरपालिका १ छोटेगाउमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

१७ वर्ष अघि उनले आफ्नै दाजु हेरम गोसाइलाई हसिया प्रहार गरी फरार भएका थिए ।

०५७ कात्तिक १४ गते भाइको हसिया प्रहारबाट गम्भिर घाइते दाजु हेरमको १० दिनपछि उपचारको क्रममा ज्यान गएको थियो । दाङमा लुकिछिपि बसेको सुचनाका आधारमा खोज्दा उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी भरत विकले बताए ।

‘हामीले जिप्रका दाङसँग समन्वय गरेर उनलाई पक्राउ गरेका हौं’ डिएसपी विकले भने ‘शुक्रबार नै म्याद थप गरी अनुसन्धान गरिरहेका छौँ ।’ गोसाइलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको छ ।

 

कमेन्ट गर्नुहोस्