निर्वाचनमा गठबन्धनको इमानदारीले पार्टी एकताको निक्र्योल गर्छ : जयपुरी

173 पटक पढिएको

एमाले माओवादी लगायतका वामपन्थी शक्तिहरुबीच चुनावी तालमेल हुदै पार्टी एकता गर्ने घोषणा त गएको असोज १७ गत नै भइसक्यो । तर नेता र कार्यकर्ताबीच वामगठबन्धन कसरी अगाडि बढ्छ ? पार्टी एकता कसरी होला ? चुनाबमा गठबन्धनमा आवद्ध दलहरु कति इमानदार होलान ? जस्ता विषयले यतिले सबैको चासोको विषय बनेको छ । यसै सन्दर्भमा माओवादी केन्द्रकी नेतृ जयपुरी घर्तीसँग पाण्डव शर्माले गरेको संवाद:

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच चुनावी तालमेलसहित एकता प्रक्रिया शुरु भएको छ । यसको दीर्घकालीन लक्ष्य के हो ?

हामीले हाम्रो एकता प्रक्रिया घोषणा कार्यक्रममा नै स्पष्ट रुपमा हाम्रो लक्ष्य भनिसकेका छौं । मुलुकमा समाजवाद ल्याउनु नै हाम्रो मुख्य लक्ष्य रहेको छ । समाजवाद ल्याउनका नेपालका वामपन्थी शक्तिहरु एक हुन जरुरी छ । मुलुकमा अहिलेसम्म राजनीतिक क्रान्ति भयो । अब देशमा आर्थिक क्रान्ति गर्नुपर्ने छ । आर्थिक क्रान्तिका लागि स्थिर सरकार चाहिन्छ । कुनै पनि दलको बहुमत नआउने अवस्थामा मुलुकमा शान्ति र स्थायित्व आउने देखिएन ।

अर्को कुरा समाजवादी क्रान्ति कुनै एक दलको चाहना र ताकतले मात्र पूरा हुने देखिएन । अहिले नेकपा माओवादी केन्द्र र नेकपा एमालेको लक्ष्य भनेको समाजवाद नै हो । एउटै लक्ष्य पूरा गर्नका लागि हामी फरक–फरक भएर गर्न सम्भव भएन । त्यही कारणले हामी एक हुने प्रक्रियामा अघि बढेका हौं ।

अर्को कुरा चुनावी हिसाबले पनि वामपन्थी र प्रगतिशील शक्तिहरुले जित्दा मुलुकमा विकास सम्भव छ भन्ने हाम्रो धारणा हो । त्यसले अबको मुलुकको नेतृत्व वामपन्थी शक्तिबाटै हुनुपर्छ । विचार मिल्ने कम्युनिष्टहरु फरक–फरक पार्टीमा बस्नुभन्दा एकतावद्ध भएर अघि बढ्दा लक्ष्य प्राप्त हुन्छ ।

कुन वैचारिक आधारमा दुई पार्टीबीच एकता हुन्छ ?

कम्युनिष्ट विचार दर्शन नै पार्टी एकताको मुख्य आधार हो । १० वर्षे महान जनयुद्ध र १९ दिने जनआन्दोलनबाट नेपालमा जनवादी क्रान्ति पूरा भएको छ । अब हामीले आर्थिक समृद्धिसहित समाजवादी क्रान्ति गर्नुपर्नेछ । यो लक्ष्य पूरा गर्नको लागि दुई पार्टीबीच एकता हुन्छ ।

सम्बन्धित् समाचार  ओली कहिल्यै राष्ट्रवादी होइनन्, उनका लागि राष्ट्रवाद राजनीतिक खेल मात्र- मैनाली

दुबै पार्टी फरक–फरक स्कूलिङबाट आएका छन् । पार्टी एकता त्यति सहज होला त ?

फरक–फरक पृष्ठभूमिबाट आएकाले कार्यकर्ताहरुबीच भावनात्मक एकतामा व्यावहारिक रुपमा केही हदसम्म फरक पर्ला । तर, व्यावहारिक कठिनाई मात्र सम्पूर्ण होइन । अर्को कुरा, अहिलेको चुनावी तालमेलले पनि दुई पार्टीलाई थप नजिक बनाउने अवसर दिएको छ । यो निर्वाचनमा दुबै पार्टीका कार्यकर्ता संयुक्तरुपमा चुनाव प्रचारमा लाग्ने छन् । यो समयमा दुवै पार्टीका कार्यकर्तालाई हामी एउटै हौं भन्ने भावना पैदा हुन्छ ।

अर्को कुरा, यो गठबन्धनमा साँच्चिकै इमान्दारिता कायम हुन सकेको खण्डमा कार्यकर्ताहरुमा कुनै समस्या आउँदैनन् । तर, चुनावी गठबन्धनमा इमान्दारिता देखिएन भने एकता प्रक्रियालाई अलि जटिल बनाउने छ । त्यसैले दुबै दल परीक्षामा पनि छन् । उनीहरुको इमान्दारिताको आधारमा पार्टी एकता हुने अथवा नहुने निश्चित हुन्छ । यदि दुवै दल इमान्दार भएर निर्वाचन परिणाम राम्रो आयो भने एकता गर्दा कुनै समस्या उत्पन्न हुँदैनन् । यति ठूला दुई पार्टी एकता हुँदा कतै पनि समस्या आउँदैन भन्ने कुरा त होइन् । ती व्यावहारिक जटिलतालाई नेतृत्वले मिलाउँदै जानेछ ।

पार्टी एकता गर्दा अबको कार्यदिशा के हुनेछ ?

हामीले अबको कार्यदिशाको बारेमा सैद्धान्तिक छलफल गरिरहेका छौं । यो रातारात टुंगिने विषय पनि होइन । हामी दुबै दलको तर्फबाट एउटा टिम नै बनाएका छौं । मुख्य नेतृत्व तहमा पनि छलफल भइरहेको छ । दुबै दलको छलफल पनि समाजवादी क्रान्तिका लागि उचित कार्यदिशा निर्माण गरिने छ ।

पार्टी एकता गर्दा सबैभन्दा पहिले पार्टी आन्तरिक कमिटीमा छलफल हुनुपर्ने हो तर, तपाईहरु हतार–हतार पार्टी एकता संयोजन समिति गठन गर्ने तहमा पुगिसक्नुभएको छ । यसरी आकस्मिकतामा चिज कसरी अघि बढ्यो ?

पार्टी एकता गर्ने भन्ने कुरा आकस्मिकतामा आएको होइन । यो विषयमा लामो समयदेखि गृहकार्य भइरहेको थियो । तर, तपाईले भने जस्तै पछिल्लो पटक जसरी आकस्मिकता जस्तो देखियो यसमा कार्यकर्ताले चासो राख्नु स्वभाविक पनि हो । हामीले यस विषयमा पार्टीभित्र व्यापक छलफल चलाउनु पर्दथ्यो । नेतृत्वबाट त्यो हुन सकेन । अब कुरा अघि बढेको छ । विगतको कुरा कोट्याउने भन्दा पनि अब कार्यकर्ताहरुमाझ पार्टी एकताको औचित्य र आवश्यकता बारेमा प्रष्ट पार्नैपर्छ । छलफललाई तल्लो तहसम्म पु¥याउनुपर्ने देखिन्छ ।

सम्बन्धित् समाचार  सरकार छोडेपछि पहिलोपटक बालुवाटार जादैं प्रचण्ड, सरकार सञ्चालनबारे छलफल हुने

वाम गठबन्धनले आगामी संघीय तथा प्रदेश सभाको निर्वाचनमा कस्तो परिणाम ल्याउने आँकलन गर्नुभएको छ ?

अस्थिर सरकारबाट नेपाली जनता आजित भइसकेका छन् । ९÷९ महिनामा सरकार परिवर्तन हुँदा कुनै पनि सरकारले आफूले ल्याएको बजेट पूर्ण रुपमा कार्यान्वयन गर्न पाउँदैन । जनताले मुलुकमा विकास चाहेका छन् । यसका लागि कम्तीमा पाँच वर्षसम्म स्थायी सरकार हुनुपर्छ भन्ने जनताको चाहना हो ।

सामान्य बहुमतले मात्र वाम गठबन्धन चित्त बुझाउने पक्षमा छैन । निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई सिट प्राप्त गर्छ भन्ने हाम्रो आँकलन हो । देशभरिका निर्वाचन क्षेत्र हेर्दा त्यो सम्भव देखिन्छ । नेपालमा वामपन्थीहरुप्रति जनताको विश्वास र अपेक्षा छ । त्यो अपेक्षा पूरा गर्नका लागि जनताले अवश्य पनि यसपटक वामपन्थीहरुको गठबन्धनलाई दुई तिहाइ पु¥याउने छन् ।

पहिलो चरणको निर्वाचनको मनोनयन दर्तापछि माओवादी सरकारबाट बाहिरिने तयारी थियो । किन सरकारबाट बाहिरिन ढिला भएको हो ?

अहिलेको मुल प्रश्न सरकारबाट बाहिरिने वा भित्रिने भन्ने होइन । मुलुकमा शान्तिपूर्ण वातावारणमा निर्वाचन सम्पन्न गर्नु नै अहिलेको मुख्य कार्यभार हो । हामीले नेपाली कांग्रेससँग सरकार निर्माण गर्दा स्थानीय तहको पहिलो चरणको निर्वाचनसम्म माओवादीको नेतृत्वमा गर्ने र त्यसपछिका स्थानीय तह, प्रदेश र संघको निर्वाचनसम्म नेपाली कांग्रेसलाई सहयोग गर्ने सहमति भएको थियो । हामी पूर्व सहमतिमा दृढ छौं । हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका छैनौं ।

मुलुकमा शान्तिपूर्ण रुपमा निर्वाचन गराउनको लागि सरकारबाट बाहिरिने र भित्रिने खेल राम्रो होइन । हामीले निर्वाचनसम्म सरकारलाई समर्थन गर्ने योजना बनाएका छौं । तर, सबै कुरा अहिले भनेर हुँदैन । परिस्थिति कस्तो बन्दै जान्छ, प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले कस्तो कदम अघि बढाउँछ, त्यस अनुसार हामीले थप कदम अघि बढाउने हो । अहिलेसम्म हामी सरकारबाट बाहिरिने मनस्थितिमा छैनौं ।

सम्बन्धित् समाचार  बेइजिङमा प्रचण्डले भने– केरुङदेखि काठमाडौं रेलको सपना विपनामा परिणत

संघीय तथा प्रदेशको निर्वाचनमा वाम गठबन्धनबाट प्रत्यक्षमा महिला उम्मेदवारहरु खासै देखिएनन् किन यसो भएको होला ?

महिला नेतृ भएका स्थानमा सिनियर पुरुष नेता भएका कारण प्रत्यक्षमा अवसर नपाएका हुन् । अर्को कुरा, हाम्रा समाज र हामी सम्बद्ध पार्टीहरुमा पनि पितृसत्तात्मक चिन्तन हावी भइरहेको छ । यसले गर्दा महिलाले चुनाव जित्न सक्दैनन् भन्ने मानसिकताबाट समानुपातिकमा हाल्ने काम पनि भएको छ ।

अर्को कुरा, महिलालाई जहाँ पार्टी कमजोर अवस्थामा छ त्यहाँ उम्मेदवारी दर्ता गर्न लगाएर अघि बढ्न नदिने काम पनि भइरहेका छन् । पितृसत्तात्मक सोंचको उपज नै हो यो । यसको अन्त्यका लागि सबै पार्टीभित्रका महिलाहरुले आन्तरिक संघर्ष गर्न जरुरी छ ।  (चेतनाअनलाइनबाट साभार गरिएको)

कमेन्ट गर्नुहोस्