युथ एसिया कप क्रिकेटः नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने

62 पटक पढिएको

कार्तिक १५ । कार्तिक २३ बाट मलेसियामा सुरु हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) युथ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ ।

मंगलबार सार्वजनिक खेल तालिकाअनुसार नेपालले कात्तिक २४ गते बंगलादेशसँग मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र टेस्ट मान्यता प्राप्त बंगलादेशसँगै प्रतियोगितामा अर्को टेस्ट राष्ट्र भारतको युवा टोली र आयोजक मलेसिया समूह ‘ए’ मा परेका छन् । नेपालले वायुमास ओभलमा कार्तिक २५ गते भारतसँग दोस्रो खेल खेल्नेछ ।

यसैगरी कार्तिक २७ गते नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेलमा मलेसियाको सामना गर्ने छ । नेपालले मलेसियासहित भारत र बंगलादेशमध्ये एकलाई पराजित गर्न सकेको अवस्थामा सेमिफाइनलको यात्रा तय गर्न सक्ने छ ।

चार्चार टोली सम्मिलित दुवै समूहबाट विजेता र उपविजेता टोली प्रतियोगिताको अन्तिम चारमा पुग्नेछन् । सेमिफाइनलका विजेताले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र अफगानिस्तानसहित पश्चिम एसियाको विजेता एक टोली (टुंगो लाग्न बाँकी) रहेका छन् । नेपाली टोली प्रतियोगिताको तयारी स्वरूप हाल बंगलादेशमा छ ।

नेपाली टोलीले बंगलादेशसँग तीनवटा अभ्यास खेल खेल्ने कार्यक्रम छ । नेपाली टोलीले बंगलादेश विरुद्ध बिहीबार, शनिबार र आइतबार अभ्यास खेल खेल्ने तय भएको छ । बंगलादेशको अभ्यास खेलपछि स्वदेश फर्किएर नेपाली टोली प्रतियोगिता खेल्न मलेसिया प्रस्थान गर्नेछ । एजेन्सी

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  अत्तरिया कपको उद्घाटन खेलमा एपिएफ र झापा भिड्दै