आज र भोलि प्रत्येक स्वास्थ्यकेन्द्रमा पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

71 पटक पढिएको

काठमाडौँ, कार्तिक १६ । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका पोषण शाखा प्रमुख राजकुमार पोखरेलले देशभरका ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको जानकारी दिए ।गत कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई खुवाउने भनिएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम निर्धारण भए पनि तिहारका कारण आज र भोलि सारिएको हो ।
भिटामिन ‘ए’ को कमीले भविष्यमा बालबालिकालाई रतन्धो रोग लाग्ने, कुपोषण हुने, दीर्घकालीन झाडा पखाला लाग्ने, दादुरा लगायतका रोग लाग्ने चिकित्सकले बताएका छन् ।

सरकारले हरेक छ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ । पोखरेलले तराईका २८ जिल्लाका बालबालिकामा रक्तअल्पता पनि अत्यधिक देखिएकाले छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई आइरन भएको धुलो बालविटा पनि खुवाइने बताए ।

उनले हरेक बालबालिकालाई कुपोषण छ कि छैन भनेर जाँच गरी भएका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा सिफारिस गरी पठाउन पनि महिला स्वास्थ्य स्वयंसेविकालाई सूचित गरेको बताए।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पटक–पटक गरी १३६ दिन पुग्यो डा. केसीको अनशन !