राष्ट्रपतिले ‘सङ्स अफ स्वालोज’ नामक पुस्तकको विमोचन गरिन्

कोइरालाले लिएर आइन् अंग्रेजी कविता
34 पटक पढिएको

काठमाडौं, कार्तिक १८ । कविता जगतमा राम्रै ख्याति कमाएका एसपी कोइराला अंग्रेजी कविता संग्रह सहित आएका छन् । ‘सङस अफ स्वालोज’ नामक अंग्रेजी कविता संग्रह शुक्रबार राजधानीमा विमोचन भएको छ ।

हिजो शुक्रबार राष्ट्रपति विद्या भण्डारीले उक्त पुस्तकको विमोचन गरेकी थिइन् । संग्रहमा ३५ कविता संग्रहित छन् । नेपाली कविताहरूलाई अंग्रेजीमा महेश पौड्याल र रञ्जन खत्रीले अनुवाद गरेका हुन् । चिल्लो पानामा अरुणा हिंगमांगका रंगीन चित्रहरू सहितका कविताहरूले संग्रहलाई आकर्षक बनाएका छन् ।

कविता संग्रहको विमोचन कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली भाषाको साहित्यलाई अंग्रेजीमा अनुवाद गरेमात्र विश्व समुदायसम्म पुग्ने धारणा राखे ।

यस्ता पुस्तकले मात्र नोबल पुरस्कारको सपना जन्माउने जोशीले बताए ।
राष्ट्रकवि माधव घिमिरेले एसपी कोइरालाका कवितामा प्रकृति र मानवीय सम्बन्धको अनुपम उदाहरण पाइने बताए । कोइरालाका कविता गद्य छन्दमा भए पनि गीतको स्वाद पाइने घिमिरेको टिप्पणी थियो ।

कार्यक्रममा कवि एसपी कोइरालाले कविता रचनाको पृष्ठभूमि बताए । गौथलीको चिरबिर चिरबिर आवाजलाई उमंगको प्रतीकको रूपमा लिएर कविता रचना गरेको कोइरालाको कथन थियो ।

कवि कोइरालाले कविता र चित्रकलाको सम्बन्धबारे पनि व्याख्या गरे । उनले कविता संग्रहमा चित्रकलाको उपस्थितिले काव्यको आवाज उँचो बनाउने टिप्पणी गरे ।

‘कविता अभिव्यक्तिमा शान्त हुन्छ तर यो चेतनाले ओतप्रोत हुन्छ । चित्रकलाको भाषा मौन हुन्छ तर यसको शक्ति शब्दको भन्दा बढी हुन्छ’ संग्रहको भूमिकामा कोइरालाले लेखेका छन् ।

संग्रहमा समावेश चित्रहरूको प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा २५ गतेसम्म चल्नेछ । अरुणाको एकल प्रदर्शनीमा चित्रकार दुई दर्जनभन्दा बढी चित्रहरू राखिएका छन् । यो उनको चौथो एकल प्रदर्शनी हो । ब्राइट पेन्टिङमा प्रस्तुत गरिएका चित्रहरूमा मानवीय संवेदना, प्रकृतिसँगको सामीप्यता, उन्मुक्ततताको खोजी, प्रेमको प्रस्फुटन र सामाजिक सन्दर्भ भेटिन्छ ।

सम्बन्धित् समाचार  उपन्यास ‘रुप’ को विमोचन समारोह सम्पन्न

पूर्व अर्थमन्त्रीसमेत रहेका कोइरालाको कविता संग्रह क्रिएटिभ वुमन अर्गनाइजेसन नेपालले बजारमा ल्याएको हो ।

कमेन्ट गर्नुहोस्