आधुनिक समयमा युवापुस्ताहरु गजल लेखनमा रमाउँदै

43 पटक पढिएको

काठमाडौं, कार्तिक १८ । साहित्यमा रुचि राख्ने अधिकांश मानिसले आफ्नो साहित्यिक यात्रा कविताबाट सुरु गर्छन् ।

हुन त साहित्य सिर्जना गर्नु सहज पक्कै छैन । तर, अरु विधाभन्दा गजललाई अझ गाह्रो विधा मानिन्छ । भनिन्छ, ‘गजल सुन्दा जति आनन्द आउँछ त्यसको सिर्जना गर्न त्यतिकै कठिन छ।’

सुत्रभित्र रहेर प्रेमलाई केन्द्रमा राखेर समान वजन भएका तर स्वतन्त्र भाव बोकेका युगल पक्तिहरुको समूहलाई नै गजल भनिन्छ । गजल एउटा प्राविधिक विधा पनि हो । यसमा केही प्रावधिक शब्दहरु हुँछन् ।

जस्तै शेर, काफिया, रदिफ, मतला, मकता, तखल्लुस, बहर, रुक्न, आर्कान्, मिसरा, मुसलसल, गैर मुसलसल आदि।

त्यस्तै गजल युगल पंक्तिहरुले बनेको हुन्छ जसलाई शेर भनिन्छ । कसैले आफ्नो शौखको लागि मात्र गजल लेख्छन् भने कसैले गजलकार कै रुपमा स्थापित हुन गजल लेख्छन् । युवा पुस्तामा पनि यसको मोह उत्तिकै बढ्न थालेको छ ।

कमल संर्घष गजल विधाको चर्चित नाम हो । १३ वर्षकै उमेरदेखि गजल लेख्न सुरु गरेका कमलले २०७० सालमा संयुक्त गजल संग्रह ‘कैफियत’ प्रकाशित गरेका थिए ।

त्यसपछि २०७३ सालमा उनले आफ्नो गजल संग्रह ‘सडक’ प्रकाशित गरे । उनी भन्छन्– ‘मैले गजल संग्रह मलेसिया हुँदा नै लेखेको हुँ, इच्छा भयो भने ठाउँ र समयले रोक्दैन रहेछ ।’ लेख्नका लागि कुनै त्यस्तो उपयुक्त समय नभए पनि मनले जुनबेला अनुमति दिन्छ त्यही बेला गजल लेख्न बस्दा मिठो गजल लेख्न सक्ने उनी बताउँछन् ।

हरिशरण डोटेलले १७ वर्षको उमेरदखि गजल लेख्न सुरु गरेका हुन् । उनको ‘निर्दोष मन’ प्रकासोन्मुख गजल संग्रह हुन् । उनी भन्छन्– ‘गजल लेख्नलाई त्यस्तो समय कुनै हुँदैन तर म विशेषगरी रातको समयमा लेख्न रुचाउँछु ।’

कविता, कथालगायत विभिन्न विधामा कलम चलाउँदै आएका डोटेलले ‘सडकको सपना’ नामक कविता संग्रहका साथै ‘निर्दोष मन’ नामक गजल संग्रह प्रकाशित गरिसकेका छन् ।

सम्बन्धित् समाचार  आमा

नेपाल बस्ने युवापुस्तामात्रै नभई विदेशमा बस्नेहरुको पनि गजलप्रतिको लगाव उत्तिकै छ । विगत केही समयदेखि जर्मन बसोबास गर्दै आएकी अपेक्षा चन्दको पनि गजलप्रति विशेष लगाव छ ।

१६ वर्षको उमेरदेखि अलिअलि गजलतिर कलम चलाउन थालेकी अपेक्षा चन्दले आफ्नो कलेज स्नातक तह सम्मको अध्ययन गरिरहदा गजल लेखनमा उनले कलम चलाउन थालिन् । गजल लेख्दा विशेष गरी रदिफ र काफियामा ध्यान दिनुपर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘गजल लेख्ने मेरो त्यस्तो उपयुक्त समय छैन, कहिले बाटोमा हिड्दा हिँड्दै लेख्छु कहिले काम गरिरहेको बेला लेख्छु ।’ गजल नै लेख्छु भनेर बसेको समयमा भने दिमागमा गजल नै नआएको पनि उनको अनुभव छ ।

‘पहिला पहिला साहित्यको सुरुआत गर्दा युवा पुस्ताहरुले कविताबाट गर्थे भने आजभोली प्रायजसो युवाहरुको साहित्यको सुरुआत नै गजलबाट हुने गरेको छ,” वरिष्ठ गजलकार रवि प्राञ्जल भन्छन् ‘आजभोलि गजलको कार्यक्रम सञ्चालन गर्नेपनि युवा वर्ग नै हुन्छन् ।’ अधिकांश गजलकारहरु गजल लेख्नको लागि उपयुक्त समय भन्दा पनि तनावमुक्त मन र मस्तिष्क चाहिने बताउँछन् । बाह्रखरीबाट साभार

कमेन्ट गर्नुहोस्