डा‍. भट्टराई अस्थिर र अवसरवादी चरित्रका व्यक्ति : नारायणकाजी श्रेष्ठ

148 पटक पढिएको

पालुङटार(गोरखा), कात्तिक १८ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पुसभित्र वामपन्थीको एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति गोरखाले पालुङटारको ठाटिपोखरीमा आयोजना गरेको सयुक्त प्रदेश स्तरिय शिक्षक भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले बहुमतको सरकारसँगै राजनीतिक स्थिरता र विकासका लागि वाम गठबन्धनलाई बिजयी गराउन आग्रह गरे ।

श्रेष्ठले संगठनको हिसाबले गोरखामा माओवादी बलियो भएको र गठबन्धनले झन् बलियो भएको कारण उच्च मनोबलका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । सम्बोधनका क्रममा श्रेष्ठले डाक्टर बाबुराम भट्टराईलाई इंगित गर्दै नयाँशक्ति नामको पुरानो विचार भएका व्यक्तिलाई जिताएर केही फाइदा नहुने दावी गरे ।

माक्र्सवाद माओवाद, लेनिनवादलाई लत्याएका भट्टराई
कहिले मधेसवादी दलसंग पार्टी एकता गर्छु भन्ने, कहिले फेरि बामपंथी भए भन्दै बाम गठबन्धनमा आउने र कहिले कांग्रेसलाई जरैदेखि उखेलेर फाल्नुपर्छ भन्ने, अहिले आएर फेरि कांग्रेसकै बुई चढेर चुनाब लड्ने भट्टराई अस्थिर, अवसरवादी चरित्रका व्यक्ति भएको श्रेष्ठले टिप्पणी गरे ।

आफ्नो जित सुनिश्चित भएको दावी गर्दै श्रेष्ठले भने, ‘जित त अब सुनिश्चित नै छ । यो मैले होइन, जनताले भनिराखेको कुरा हो । पहिलो कुरा त हाम्रो विचार र नीति एकदमै प्रष्ट छ । राष्ट्रिय स्वाधीनताको रक्षा, संविधानको कार्यान्वयन र विकास, शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट समृद्धि हासिल गर्ने, सामाजिक न्याय हासिल गर्ने हाम्रो स्पष्ट राजनीतिक लाइन छ । लाइन मात्रै भएर हुँदैन, यसको कार्यान्वयन गर्ने हैसियत हामीसँग मात्रै छ ।’

श्रेष्ठले आफुले जिते सिंगो देशले राष्ट्रिय स्वाधीनताको रक्षा र विकास पाउने बताए । बाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले गोरखा २ का मतदाताले विकासको नयाँ लहरको अनुभूति गर्न पाउने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित् समाचार  चुनावपछि एमाले माओवादी आ–आफ्नो बाटो लाग्छन् : डा भट्टराई

कमेन्ट गर्नुहोस्