झटारो: नमरी बाँचे

आँखो र खुर्सानीबीचको मेलमिलाप पनि यी फुट्न नसकेका आँखाले देख्नुपर्‍यो ।

भन्थे, नमरी बाँचे कालले साँचे के–के देख्न पाइन्छ । हो रहेछ । देशमा वामपन्थीहरू यति छिट्टै र यति सजिलै मिल्लान् र कांग्रेस पार्टीलाई यसरी अत्याउलान् भनेर एक महिनाअघिसम्म कसैले सोचेको थिएन । कम्युनिस्टसँगै मिलेर सरकार चलाइरहेका प्रधानमन्त्रीले ‘कम्युनिस्टको सरकार बन्यो भने रुन पनि पाइँदैन’ भनेर जनतालाई डर देखाउनुपर्ने बाध्यता आएको पनि देख्नुपर्‍यो, एक बारको जुनीमा ।

लक्ष्मण गाम्नागे

प्रधानमन्त्रीजी किन आत्तिनुभयो भने एकदिन अचानक एउटै ओछ्यानमा सुतिराखेको माओवादी केन्द्रको लम्पसारवादमा एमालेले हावा हालेर जुरुक्कै उठाइदियो । त्यसरी अचानक उठेको लम्पसारवादले एमालेको खोक्रो राष्ट्रवादलाई पम्प लगाएर पोटिलो बनाइदियो । खोक्रो राष्ट्रवाद र लम्पसारवाद एकअर्कालाई अँगालो मारेर मैदानमा उत्रिएको एक महिनामै यिनीहरूले हाहाकारै मच्चाए ।

महिनौँसम्म बोलचालै बन्द भएका ओली बा र प्रचण्ड काका हेर्दाहेर्दै दिनको दुईपल्ट भेट नभए खानै नरुच्ने स्थितिमा पुगे । भर्खरै ओली बा र प्रचण्ड पुत्र प्रकाशको कुम जोरेको हँसिलो मुद्राको तस्बिरले फेसबुकको भित्तो छपक्कै ढाक्यो । भरतपुरमा अस्ति भर्खर महाभारत मच्चाएर आफूलाई हराउने परिवारसँग देवी ज्ञवालीले गम्लंग अँगालो मारेको तस्बिर पनि भाइरल भयो । अलि अस्ति घुँडा फुकाला–फुकाल गरेका दुवै पार्टीका जिल्ला नेताहरू प्रचण्डको स्वागतमा फूलमालासहित घुँडा कक्रक्क पारेर भरतपुरकै विमानस्थलमा उभिएका तस्बिरले प्रधानमन्त्रीलाई कति रिङ्गटा लगायो होला १

पुराना कुरा के कोट्याइराख्नु भन्दाभन्दै पनि कुनै दिन माओवादीले मान्छे मारेका तस्बिरहरू भित्तामा छ्याप्छ्याप्ती टाँसेर एमालेले चुनाव जितेको कुरा र माधव नेपालले ज्ञानेन्द्रका पाउमा दाम चढाएका तस्बिर सार्वजनिक गरेर माओवादीले भोट बटुलेको कुरो एकै पटक याद आयो । अहिले ती तस्बिरहरू हेर्नुपर्‍यो भनेर फेसबुकमा खोज्दा सबै डिलिट भएछन् । डिलिट त कुन्नि, ‘हाइड’ भए होलान् । हेर्दाहेर्दै अहिले त सूर्यवाला कार्यकर्ताहरू हँसिया–हथौडाको फेटा गुथेका, हँसिया–हथौडावाला कार्यकर्ताहरू सूर्यको झन्डा बोकेर जुलुसमा हिँड्दै गरेका तस्बिर मात्रै पो छ्याप्छ्याप्ती भेटिन्छन् ।

होइन, नेताहरू त मिले मिले, कार्यकर्ता के भएका १ नेताहरूको अत्याचार किन खपेका रु ६० र ४० प्रतिशतको भागबन्डा गर्ने सहमति हुँदाहुँदै एमालेले ३९ प्रतिशत मात्रै दिएछ, किन बबाल नगरेका हथौडावालाहरूले रु बरू, उल्टै अड्डी छाडेका, बागी फिर्ता लिएका टेन्सनप्रधान समाचारहरू मात्रै सुनिन्छ । शंकर पोखरेलले महरालाई दाङ दिएको, बदलामा बादलले चितवन त्यागेको जस्ता अशुभ खबर मात्रै आउँछन् । गठबन्धन चुँडिनु त कता हो, उल्टै उता झापामा प्रधानमन्त्रीकै गठबन्धनको राप्रपालाई नै सघाउनेदेखि भक्तपुरमा विजुक्छेलाई निर्विरोध छाड्नेजस्ता कुरा आएपछि हामी रमितेलाई त छटपटी हुन्छ भने प्रधानमन्त्रीलाई कति तनाव हुँदो हो १ हुँदा–हुँदा दशककै ठूलो शत्रुता गरेका कमरेड हृदयेश त्रिपाठी पनि सूर्यमा भोट माग्न गाउँ पसेछन् । आँखो र खुर्सानीबीचको मेलमिलाप पनि यी फुट्न नसकेका आँखाले देख्नुपर्‍यो ।

अस्तिसम्म फाँसी दिनुपर्छ भन्दै माग गर्ने एमाले कार्यकर्ताहरूले माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ पर्दा खुच्चिङ भन्लान् कि भनेको त सरकारको भत्र्सना पो गर्न थाले । नमरी बाँचे, दैवले साँचे अनेकै देख्न पाइँदो रहेछ । आउँदो मंसिरमा वामपन्थीहरूको बहुमतको सरकार बनेर पाँच वर्षसम्म रुन नपाइने भयो भनेचाहिँ कसरी खप्ने हो, बेलैदेखि शक्ति सञ्चय गर्नतिर लाग्नु छ । प्रधानमन्त्रीजीलाई पनि यही सुझाव दिनु उपयुक्त होला । कान्तिपरबाट

कमेन्ट गर्नुहोस्