प्रदेश नं.७ मा उद्योग खुल्ने क्रम बढ्दै

लोकेश धामी

कैलाली, कार्तिक २८ । प्रदेश नं.७ मा साना तथा ठूला उद्योग खुल्ने क्रम बढेको छ । २०६२–०६३ को जनआन्दोलन यता बर्षेनी साना तथा ठूला उद्योग खुल्ने क्रम बढेको हो । चामल, खाने तेललगायत परम्परागत साना उद्योगमा निर्भर यो प्रदेशमा पछिल्लो एक दशकमै चामल र तेललगायत मैदा, चिनी, बिस्कुट, दानाका ठूला उद्योगसमेत खुलेका छन् ।

उद्योग स्थापना हुने क्रम बृद्धि भएसंगै अधिकांशले रोजगार पनि पाइरहेका छन् । नेपालमा शान्ति प्रक्रियापछि प्रदेश नं.७ मा उद्योगधन्दा खुल्ने क्रम बढेको हो । आर्थिक वर्ष २०७२÷०७३ मा साना ठूला गरी एक सय उद्योग स्थापना भएकामा आर्थिक वर्ष २०७३÷०७४ मा भने त्यो संख्या बढेको छ । हाल प्रदेश नं.७ मा ८८ वटा साना र १२ वठा ठूला उद्योग संचालनमा रहेका श्रम कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख जयदेव बिष्टले जानकारी दिए ।

उद्योग स्थापना हुने क्रम बढे पनि सुदूरपश्चिममा बेरोजगारीको समस्या भने कायमै छ । सेती अञ्चल अन्तर्गत पर्ने कैलाली, डोटी, बझाङ, बाजुरा तथा अछाममा मात्रै १२ हजार ३ सय युवा बेरोजगार रहेको श्रम कार्यालय सेतीको तथ्यांक रहेको निमित्त प्रमुख बिष्टले बताए ।

कार्यालयका अनुसार प्रदेश नं.–७ का जिल्लामध्ये सबैभन्दा बढी बेरोजगारी रहेको जिल्लाको रूपमा कैलाली अग्रस्थानमा छ । कैलालीमा ५ हजार ७ सय ८९ जना पुरुष तथा ४ हजार ७ सय १३ जना महिला गरी कुल १० हजार ५ सय २ जना बेरोजगार रहेको कार्यालयले तथ्याङ्क छ । श्रम कार्यालयले बेरोजगार युवाको लगत सङ्कलन आर्थिक वर्ष २०६५÷६६ देखि निरन्तर रूपमा गर्दै आएको छ ।

तर, पछिल्लो केही वर्ष यता भने उद्योगधन्दाको क्रमिक विकास भएसंगै धेरै जसो युवायवतीले भने रोजगारी पाइरहेका छन् । गत आर्थिक वर्ष २०७३÷०७४ मा मात्रै ३६ उद्योगमा २ हजार ८२ व्यक्तिले रोजगारी पाएका छन् । रोजगारी पाएका अधिकांश व्यक्तिले भने न्यूनतम ज्यालामा काम गर्नु पर्ने बाध्यता रहेको छ । तर, उद्योगीहरुको डरले कम ज्याला पाएको भनेर कार्यालयमा उजुरी दिने क्रम न्यून रहेको श्रम कार्यालय सेतीका निमित्त बिष्टले बताए ।

विभिन्न कार्यालय तथा संघसंस्थाले स्वरोजगारमूलक तालिम प्रदान गरे पनि स्वदेशमा आकर्षक पारिश्रमीक नपाइने भए पछि दक्ष जनशक्ति विदेश पलायन हुने क्रम पनि बढेको छ । जसले गर्दा यहाका उद्योगधन्दाले दक्ष जनशक्तिको अभाव खेपि रहेका छन् ।

कमेन्ट गर्नुहोस्