युवालाई प्रयोग मात्रै कि अवसर पनि दिने ?

लोकेश धामी

कैलाली, धनगढी

मेरो एक जना साथी उम्मेदवारको टुंगो लागेसंगै निकै व्यस्त छ । उसले आफूले जिम्मेवारी पाएको उम्मेदवारको हरेक गतिविधि जनतामाझ पुर्याउने काम गरि रहेको छ । फलानो जिताउ अभियान नाम दिएर उसले उम्मेद्वारको फेसबुक पेज नै बनाइ दिएको छ । यति मात्रै होइन ऊ उम्मेद्वारसंगै घर दैलोमा संगै हिड्छ । एउटा क्यामेरा, एउटा मोबाइल पनि पाएको छ । यी सबैको बन्दोबस्त उम्मेद्वारले नै गरि दिएको हो । उम्मेद्वारले मतदातासंग नमस्कार गरेको फोटो फेसबुक तथा पेजमा पोष्ट गर्नैमा साथीको दिन विति रहेको छ ।

उसले २०७० सालमा भएको संविधान सभाको चुनावमा पनि यस्तो काम पाएको थियो । उम्मेद्वारसंगै हिड्ने, फोटो खिच्ने अनि पोष्ट गर्ने जिम्मा उसकै थियो । भर्खरै सम्पन्न स्थानीय चुनावमा पनि उसले उम्मेद्वारको व्यापक प्रचार–प्रसार गरि दिएको थियो । त्यस वाफत उसले मासु–भात खान मात्रै पाएको थियो । उसले प्रचार गरेको अहिलेसम्मका उम्मेद्वारले चुनावमा हार्नु परेको छैन । यसपाली पनि उसले जोड–तोडकासाथ चुनाव प्रचार–प्रसारमा होमि रहेको छ । उसले संविधान सभाको चुनाव देखि एउटै पार्टिको उम्मेद्वारबारे प्रचार–प्रसार गरि रहेको छ । उसको महत्वपूर्ण सहयोगबाट निर्वाचित भएका व्यक्ति सांसद हुँदै राज्यमन्त्री समेत बनि सके । तर, ऊ भने अहिलेसम्म खाली हात बस्नु परेको छ । उसले चुनावमा मात्रै काम पाउँछ । त्यो पनि निश्चित अवधिका लागि ।

दिन–रात नभनी उसले अहोरात्र चुनावका लागि समय दिइरहेको छ । विगतमा पनि समय त्यहि अनुरुप दिएको थियो । तर, निर्वाचनका बेला मात्रै नेताहरुले खूबै सम्झीने अघि–पछि वास्ता नगर्ने परिपाटिले मेरो साथी जस्तै कयौंका सपना केवल सपनामै सिमित छन् । चुनावताका बेला नेताहरुले आफू जितेमा तिमिलाई सेटल गरिदिन्छु भन्ने सपना युवामाझ पनि देखाउँछन् । तर, जिते पछि उनीहरु त्यहि चुनावका बेला अहोरात्र साथ दिने व्यक्तिलाई नै बिर्सि दिन्छन् । नेताहरुले आश्वासनका पोका देखाएर प्रयोग गर्दा पनि युवा भने अझै उनीहरुको पछाडी झुमि रहेका छन् । मानौं नेता चुम्बक हुन् र युवा फलाम हुन । चुनावका बेला यी दुई व्यक्तिविच निकै गहिरो सम्बन्ध बनेको हुन्छ । तर, यो सम्बन्धको आयू भने अल्पकालिन हुन्छ । आयूको समाप्ती चुनाव सकिएको पछिल्लो दिन नै सकिन्छ ।

सम्बन्धित् समाचार  बहु प्रतिक्षित पुस्तक ‘चेन्ज योर फ्युचर’ सार्वजनिक

आसन्न मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि पनि राजनितीक दल तथा तिनका उम्मेद्वारले ठूलो संख्यामा युवालाई प्रयोग गरि रहेका छन् । उम्मेद्वारले युवाहरुलाई चुनाव प्रचार–प्रसार देखि कसैलाई कुट्नु पर्ने हो भने पनि व्यापक प्रयोग गरि रहेका छन् । आफू जिती सके पछि प्रयोग गरेका युवालाई पनि अवसरको खोजी गरि दिऔ भन्ने भावना नेताहरुमा पटक्कै विकास हुन सकेको छैन । केवल स्वार्थ लुट्नमा मात्रै नेताहरु लालायित छन् । हरेक चुनावमा युवाहरुले आफू मरे पनि उम्मेद्वारलाई बचाउनु पर्छ भन्ने उद्देश्यले सक्रिय भएका हुन्छन् । युवाहरुको एक मात्रै सोच बनेको हुन्छ आफूले प्रचार गरेको उम्मेद्वार जितोस् भन्ने । तर, उम्मेद्वारको सोच भने निर्वाचित भएमा यीनीहरुसामू फर्केर पनि आउँदैन भन्ने । अनि कसरी रोकिन्छ त विदेश पलायन हुने युवाको संख्या ?

युवाहरु पनि नेताहरुको पछाडी भुण्डीन पाए औधी खुसी हुन्छन् । दुई टुक्रा मासु र एक बोटल दारुमा चुनावमा युवाहरु खूबै रमाइ रहेका हुन्छन् । तर, उनीहरु थोरै भए पनि आशा बोकेर भने नेताहरुको पछाडी समर्पित भई रहेका हुन्छन् । तर, उपलब्धी भने खासै लिन सकेका छैनन् । युवाहरु दिनहुँ विदेशी रहने एउटा प्रमुख कारण नेताहरुका आश्वासन पनि हुन् । झुटा आश्वासनको फन्दामा परे पछि युवाहरु खाडी मुलुक नगएर के गर्छन् त ∕ देशको मुहार फेर्न सक्ने सामथ्र्य भएका युवाहरु चुनावमा केवल नेताहरुका पुच्छर बनेर मात्रै हिडि रहेका छन् । नेताले जेहि भन्यो त्यहि आँखा चिम्लेर मान्नु पर्ने युवाहरुको एकातिर बाध्यता र अर्को तिर रहर बन्दै गएको छ । अवसरको बाटो देखाएमा आफैलाई अप्ठ्यारो पर्ने त्रासले होला नेताहरुले युवालाई सहि मार्गमा हिड्नबाट धकेलि रहेका पनि छन् । नेताहरु युवा मेरै गुलाम बनुन भन्ने गलत मानसिकताका कारण नयाँ पुस्तामा पनि त्यहि नकरात्मक धारणाको विकास हुने खतरा बढेको छ ।

सम्बन्धित् समाचार  पूर्वकमैया बने वडा अध्यक्ष

कुनै आन्दोलन, आम सभा देखि प्रचार–प्रसारका लागि घर दैलोसम्म युवाको जरुरत पर्दछ । तर, त्यसको मूल्य नेताहरुले तिर्न सकेका छैनन् । युवाहरुलाई गलत बाटोमा अग्रसर गराई आफू सुरक्षित हुने नेताहरुको बानी भइसकेको छ । आफूले अथक मेहनत गरेर जिताएका नेताहरुले पछि गएर नमस्कार गर्दा नि प्रतिक्रिया नजनाउँदा उनीहरुबाट युवाले केको आशा गर्ने । यस्ता निराशाका कुरा मन भित्र लुकाइ युवाको अन्तिम विन्दू त्यहि त्रिभुवन विमानस्थल बन्न पुगेको छ ।

देशको भविष्य नेताहरुको हातमा छ । उनीहरुले नै यो देशको हित र अहित हुने काम गर्न सक्छन् । नेताहरुकै हातमा छ युवाहरुका लागि प्रशस्त अवसरहरु, उनीहरुले चाहे भने कयौं युवा जनशक्तिलाई स्वदेशमै रोक्न सक्छन् । तर, नेताहरुको बुद्धिको बिर्को अहिलेसम्म खुल्न सकेको छैन । देश चलाउन केवल रेमिट्यान्सकै भर पर्नु पर्ने देखिन्छ । यदि नेताहरुको नियति सहि छ । भने, आफ्नै देशमा श्रम गर्न खोज्ने युवा विदेशीनु पर्ने बाध्यता आउँदैन थ्यो होला । पात्र फेरियो तर व्यवस्था नफेरिदा युवाहरुले भोग्नुसम्मको दुःख भोग्नु परि रहेको छ । यस्ता दुःखहरुसंग हातेमालो गर्दै अघि बढ्ने नेताहरुको अभावले बर्षेनी हजारौंको संख्यामा युवाहरु खाडी मुलुक जानु परि रहेको छ ।

सम्बन्धित् समाचार  अस्पतालको फोहोर व्यवस्थापन गर्न विकल्प खोजिदै

चुनावको बेला मात्रै नेताहरुले युवालाई सम्झीने परिपाटिमा परिर्वतन हुँदैन, तबसम्म युवाले दुःख पाइ रहनेछन् । चुनावको घोषणापत्रमा युवा स्वरोजगारका नारा लेख्दैमा युवाका समस्या हल हुँदैनन् । उनीहरुका समस्या हल गर्न हात–खुट्टा पनि नेताहरुले चलाउनु पर्छ । केवल कलम कुदाएर सेतो कागजमा नारा लेख्दैमा युवाहरुका समस्या समाधान हुँदैनन् । युवाले पनि अब नेताले जे भन्यो त्यहि मान्नु हुँदैन । आफ्नो भविष्यको रेखा आफैले कोर्नु पर्छ । नेताहरुको चाकडी गरेर जिन्दगी चलाउँला भन्ने भ्रम अब पाल्नु हुन्न । साथैै, चुनावमा दिएका मिठा तर धमिराले खोक्रो पारेका भाषणमा लट्ठीनु पनि हुन्न ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: