भीमदत्त नगरपालिका र विश्वविद्यालयबीच सहकार्यका लागि सम्झौता

कञ्चनपुर, मंसिर ४ । भीमदत्त नगरपालिका र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले एकापसमा सहकार्यका लागि सम्झौता गरेका छन् ।

विश्वविद्यालय केन्द्रीय कार्यालयमा आइतबार नगरपालिका र विश्वविद्यालयबीच दक्ष जनशक्तिको सेवा उपलब्ध गराउने तथा विद्यार्थीलाई शैक्षिक अनुसन्धान र इन्टर्नसिपका लागि एकापसमा सहकार्य गर्न सम्झौता गरिएको छ ।

भीमदत्तका प्रमुख सुरेन्द्र विष्ट र विश्वविद्यालयका उपकुलपति प्राध्यापक भूषण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि विश्वविद्यालयका जनशक्ति भीमदत्त नगरपालिका कार्यालय व्यवस्थापन, सृदृढीकरण, विकास निर्माण, शैक्षिक अध्ययन, अनुसन्धान र जनचेतनामूलक कार्यक्रममा सहभागी हुने भएका छन् ।

आगामी दुई वर्षका लागि गरिएको सम्झौताअनुसार भीमदत्त नगरपालिकाले पनि विश्वविद्यालयलाई आवश्यकताका आधारमा जनशक्ति र आर्थिक सहयोग गर्ने छ ।

भीमदत्तलाई महानगर बनाउने लक्ष्यका साथ कार्य थालनी गरिएको उल्लेख गर्दै प्रमुख बिष्टले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको विकास र प्रगति सबैका लागि आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुपति प्राध्यापक श्रेष्ठले भीमदत्त नगरपालिकासँगको सम्झौताले विश्वविद्यालयको विकासमा टेवा पुग्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्