फेरि प्याजको मूल्य बढ्यो

काठमाडौं, मंसिर १० । हरेक घरको भान्सामा नभई नहुने तरकारीमध्ये प्याज पनि एक रहेको छ । बजार अनुगमनलाई तीव्रता दिएपछि कुनैकुनै तरकारीको मूल्यमा गिरावट आएपनि प्याजको मूल्य भने झन् आकाशिँदै गइरहेको छ । नेपाली बजारमा खपत हुने प्याजको अधिकांश हिस्सा भारतबाट आयात हुने र भारतमै प्याजको मूल्य बढेकाले नेपाली बजारमा प्याजको मूल्य अकासिएको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार पछिल्लो एक सातामा नै प्याजको मूल्य करिब ४० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो शनिबार प्रतिकेजी ६७ रुपैयाँका दरले थोकमा कारोबार भएको प्याज गत शनिबार ३८ दशमलव ८१ प्रतिशतले वृद्धि हुँदै प्रतिकेजी ९३ रुपैयाँका दरले कारोबार भएको छ । प्याजको खुद्रा मूल्य भने कालिमाटीमा नै प्रतिकेजी १ सय १५ रुपैयाँका दरले रहेको छ । अघिल्लो शनिबार कालिमाटी बजारमा प्याजको खुद्रा मूल्य प्रतिकेजी ८५ रुपैयाँ रहेको थियो । काठमाडौं उपत्यकाका अन्य खुद्रा पसलहरूमा प्याजको खुद्रा मूल्य १ सय २० देखि ३० रुपैयाँ प्रतिकेजीसम्म रहेको छ ।

पछिल्लो एक सातामा प्याजको मूल्य ४० प्रतिशतले वृद्धि भएका कारण यसको खुद्रा मूल्य प्रतिकेजी १ सय १५ रुपैयाँसम्म पुगेको छ ।

भारतबाट हुने प्याजको आयातमा कमी आएकाले प्याजको मूल्य अकासिएको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अधिकारीहरूको भनाइ छ ।

समितिका निर्देशक तेजेन्द्र पौडेलले कुरा गर्दै नेपालमा माग हुने सबै प्याज भारतबाटै आयात गर्नुपर्ने अवस्था रहेको स्पष्ट पार्दै भारतमा नै प्याजको मूल्य बढेकाले त्यसैको असर नेपालमा पनि परेको बताए । ‘नेपालमा खपत हुने सबै प्याज भारतबाटै आयात भइरहेको छ,’ पौडेलले भने, ‘त्यसमा नेपालको उत्पादनको हिस्सा न्यून रहेको छ ।’ मुलुकमा मागअनुसारको प्याज उत्पादन हुन नसकेकाले प्याजमा समेत भारतको एकाधिकार रहँदै आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यसवर्ष भारतमा प्याजको उत्पादनमा ३० प्रतिशतले गिरावट आएको छ । प्याजका लागि मौसम अनुकूल नहुँदा प्याजको उत्पादनमा कमी आएको जनाइएको छ ।

त्यस्तै भारतमा माग हुने प्याजको अधिकांश हिस्सा अहिले पाकिस्तानबाट समेत आयात हुने गरेको छ । पाकिस्तानले भारतमा हुने निर्यातमा कडाइ गरेपछि भारतले समेत आÏनो मुलुकबाट निर्यात हुने प्याजमा कमी ल्याउन प्याजको मूल्यमा वृद्धि गरेको छ ।

भारतबाट निर्यात हुने प्याजमा कमी ल्याई प्याजको आपूर्ति सहज बनाउनका लागि भारतले प्याजको वृद्धि गरेर प्रतिटन ८ सय ५० अमेरिकी डलर (करिब ८८ हजार नेपाली रुपैयाँ) निर्धारण गरिएको छ ।

यसअघि भारतमा प्याजको मूल्य प्रतिटन ७ सय अमेरिकी डलर रहेको थियो । पछिल्लो समय निर्धारण गएिको प्याजको सो मूल्य आगामी डिसेम्बर महिनाभरि स्थिर रहने समेत भारतीय सञ्चारमाध्यमहरूले जानाएका छन् ।

भारतमा प्याजको उत्पादनमा आएको गिरावट र पाकिस्तानले गरेको कडाइका कारण प्याजको चरम अभाव सिर्जना भएको छ । भारतका उपभोक्ता मामिलामन्त्री रामविलास पासवानले ट्वीटमार्फत आन्तरिक बजारमा प्याजको आपूर्ति सहज बनाउनका लागि प्याजको नयाँ मूल्य निर्धारण गरिएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्