बेपत्ता पत्रकारका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग

रोल्पा, मंसिर १६ । रोल्पाका बेपत्ता पत्रकार धनबहादुर रोकाका छोराछोरीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासंघ रोल्पाको १२ औँ स्थापना दिवसका अवसरमा आज लिवाङमा आयोजित एक कार्यक्रममा रु पाँच हजार बराबरको कापी कलमलगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

रोल्पामा रहेको होलीभिजन माविमा अध्ययनरत रोकाका दुई छोराछोरीको अध्ययनका लागि आर्थिक अभाव रहेका कारण सो सामग्री हस्तान्तरण गरिएको हो ।

बेपत्ता पत्रकारको सम्मान तथा छोराछोरीको अध्ययनमा समेत टेवा पुगोस् भनेर जिल्लामा मानव अधिकारको क्षेत्रमा क्रियाशील संस्था मानवअधिकार सचेतना केन्द्रसँग समन्वय गरी सो सहयोग हस्तान्तरण गरेका हौँ पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष दारासिंह डाँगीले भन्नुभयो ।

रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतमा कार्यरत पत्रकार रोका रोल्पाबाट कार्यक्षेत्र जाने क्रममा २०६२ सालमा प्यूठानको भिंग्रीबाट अपहरण पर्नुभएको थियो । अपहरण पश्चात् विभिन्न राष्ट्रिय अन्तरराष्ट्रिय मानवअधिकारवादी संघ संस्थाले अविलम्ब अवस्था सार्वजनिक गर्न दबाब दिएको भए पनि अहिलेसम्म पत्रकार रोकाको अवस्था सार्वजनिक हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्