प्रहरीको हिट लिष्टमा विप्लव

काठमाडौं, मंसिर २१ । नेपाल प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ गर्न हिट लिष्टमा राखेको छ । नेपाल प्रहरीका प्रवक्ता मनोज न्योपानेले महासचिव विप्लव प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेको बताए ।

निर्वाचनमा सुरक्षा सम्वन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता न्यौपानेले विप्लव नेकपा चुनाव विरोध गतिविधिमा संलग्न रहेको बताए । पछिल्लो समय प्रहरीले विप्लवका नेता कार्यकर्तालाई पक्राउ गर्दै आएको छ । प्रहरीको निगरानीपछि विप्लव सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

प्रहरी प्रवक्ता न्यौपानेले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको बताए ।

प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जनालाई छन् ।

न्यौपानेले स्वच्छ र भयरहित बनाउँदै उम्मेदवार तथा मतदाताको सुरक्षाका लागि नेपाल प्रहरी लागेको बताए ।‘निर्वाचनका लागि हामीले बुथ सुरक्षा टोलीका अलावा पैदल टोली, मोबाइल टोली, सादा पोशाक टोलीलगायत रिजर्भ टोली खटाएका छौँ,’ उनले भने ।

नेपाल प्रहरीले निर्वाचनका देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाइएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्