गोरखामा सुरक्षा व्यवस्था कडा, ५ बजेबाट मतगणा सुरु हुने

गोरखा, मंसीर २१। गत मंसिर १० गते पहिलो चरणमा मतदान भएका ३२ आज साँझ ५ बजेबाट मतगणन सुरु हुँदैं छ । पहिलो चरणमा ३७ प्रतिनिधि र ७४ प्रदेशसभा सदस्यका लागि निर्वाचन भएको थियो ।

मतगणना सुरु हुने समय नजिकिएसँगै मतगणनास्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । पहिलो चरणमा मतदान भएका मध्ये सबैको ध्यान गोरखामा छ । गोरखामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उम्मेदवार छन् । त्यसैले यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

जिल्ला समन्वय समिति अगाडि नै तारबार लगाएर खानतलासी पछि मात्रै कार्यलय भित्र काम लिएर जानेहरुका लागि प्रवेश दिन थालिएको छ । जिल्ला समन्वय समिति चोक भित्र मालपोत, नापी, जिल्ला प्रहरी, विद्युत, जिल्ला अदालत, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्राविधिक कार्यलय, जिल्ला समन्वय समितिको कार्यालय रहेका छन् ।

मतगणना गर्ने थाहा पाएपछि दलका कार्यकर्ताहरु समेत बजार आउन थालेका छन् । हिजोको तुलनामा आज बजारमा चहलपहल बाक्लिदै गएको छ । विद्युत महसुल बुझाउन जानेहरुका लागि जिल्ला अदालततिरको बाटो प्रयोग गर्न दिइएको छ । निर्वाचन क्षेत्र नं १ को मतगणना स्थलमा पुग्न तिनवटा सुरक्षा घेरा पार गर्नुपर्दछ । निर्वाचन क्षेत्र नं २ को मतगणना स्थलमा पुग्न पाँचवटा सुरक्षा घेरा पार गर्नुपर्दछ ।

फोटो सहितको परिचयपत्र बोकेका दलका प्रतिनिधि र गणनामा खटिने कर्मचारीबाहेक अन्यले प्रवेश पाउने सम्भावना छैन । मतगणना स्थलमा क्यामेरा, मोवाइल निषेध गरिएको छ । निर्वाचन आयोगले जारी गरेको निर्देशन र जिल्लामा तयार गरिएका नियमहरु पालना गरिने मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्