आफूलाई मतदान गर्न नसक्ने यी उम्मेदवार

काठमाडौ‌‌, मंसिर २१ । आज भईरहेको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका केही उम्मेदवारले आफूलाई नै मतदान गर्न पाएनन् ।

मतदान गर्न नपाउनेहरूमा पूर्व प्रधानमन्त्रीदेखि वर्तमान उपप्रधानमन्त्री, मन्त्री र पार्टीका शीर्ष नेताहरूसम्म हुनुहुन्छ । आफ्नो मतदाता नामावली रहेको स्थानबाट उम्मेदवारी नदिई अन्य स्थानबाट उम्मेदवारी दिएका कारण उहाँहरूले आफूलाई मतदान गर्नबाट वञ्चित भएका हुन् ।

मतदाता नामवलीमा नाम जहाँ छ, सोही स्थानबाटमात्रै मतदान गर्न पाउने कानुनी प्रावधानका कारण उहाँहरूले आफ्नो मत आफूलाई सुरक्षित गर्न नसकेका हुन् ।

झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू उम्मेदवार रहेको क्षेत्रमा मतदान गर्न पाएनन् । उनले भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा उम्मेदवार पूर्व प्रधानमन्त्री एव‌ एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफूलाई मतदान गर्न पाएनन। उनको मतदाता नामवली रौतहटमा छ ।

दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवार उपप्रधानमन्त्री र माओवादी नेता कृष्णबहादुर महरा, सोही क्षेत्रको प्रदेशसभा सदस्य ‘क’ बाट उम्मेदवार एमाले नेता शंकर पोखरेलको पनि आफूलाई मत हाल्न पाएनन् । उपप्रधानमन्त्री महराको रोल्पामा मतदाता नामवली नाम भएका कारण तथा एमाले नेता पोखरलेको क्षेत्र नं २ को प्रदेशसभा ख मा मतदाता नामवलीमा नाम भएका कारण आफूलाई मतदान गर्न नपाएका हुन्उ ।

काठमाडौँमा मतदाता नामवलीमा नाम रहेका नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला काठमाडौँबाटै मतदान गर्दै छन्हु । उनी नवलपरासी क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि उम्मेदवार ५न । उनले नवलपरासीबाट आफू काठमाडौँमा मतदानका लागि आएको जानकारी दिए ।

काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवार रहेका पूर्व उपप्रधानमन्त्री तथा काँग्रेस नेता प्रकाशमान सिंहले पनि आफूलाई मतदान गर्न पाएनन्उ । उनले काठमाडौँ क्षेत्र नं ७ बाट मतदान गरे ।

काँग्रेस नेता कृष्णप्रसाद सिटौला झापा प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार भएपनि उनको मतदाता नामवली रहेको भद्रपुर नगरपालिका–१०, झापा क्षेत्र नं १ मा परेपछि आफूले आफैँलाई मतदान गर्न पाएनन् ।

वाम गठबन्धनका तर्फबाट झापा–१ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका माओवादी केन्द्रका नेता र पूर्व सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको मतदाता नामवली काठमाडौँ क्षेत्र नं १ मा भएकाले उनले पनि आफूले आफैँलाई मतदान गर्न पाएनन् ।

अर्थमन्त्री एवम् काँग्रेसबाट सुनसरी क्षेत्र नं ४ बाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की, काँग्रेसबाट काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार डा प्रकाशशरण महत, काँग्रेसबाट कैलाली क्षेत्र नं ५ की उम्मेदवार डा आरजु देउवा, भक्तपुर क्षे नं २ का उम्मेदवार दमननाथ ढुंगानाले पनि आफूलाई मतदान गर्न पाएनन् ।

काँग्रेसका तर्फबाट उम्मेदवाहरू डा महतले नुवाकोटमा मतदाता नामवलीमा नाम भएका कारण, भोजपुरका मतदाता रहेका कारण कार्कीले, डडेल्धुरामा नामवली रहेका कारण डा राणाले र काठमाडौँको मतदाता रहेका कारण ढुंगानाले मतदान गर्न नपाएका हुन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा मतदाता नामवली भएका माओवादी केन्द्रका नेता हितमान शाक्य काठमाडौँ निर्वाचन क्षेत्र नं १० बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । पश्चिम रुकुममा मतदाता नामवली रहेका नेकपा माओवादी केन्द्रका नेता अनिलकुमार शर्मा काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवार छन् । भने रोल्पामा मतदाता नामवली भएका झक्कुप्रसाद सुवेदी काठमाडौँ क्षेत्र नं ६ बाट उम्मेदवार छन् ।

माओवादीका तर्फबाट उम्मेदवार बनेका शाक्य, शर्मा र सुवेदी तीनैजनाले आफैलाई मतदान गर्न पाएनन् । उनीहरूले आफ्नो मत आफूलाई हाल्न पाउने चाहना भए पनि नसकिएको प्रतिक्रिया दिए ।

काठमाडौँ क्षेत्र १ का उम्मेदवार शर्माले भने, “आफ्नो मत आफैंलाई दिन नपाउँदा खल्लो अनुभव भएपनि लाखौं मतदाताका बीचबाट राष्ट्र निर्माणको जिम्मेवारीमा रहेकाले खुशी नै लागेको छ ।”

आज बिहान मोरङबाट मतदान गरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट उम्मेदवार छन् । उनले आफूले आफैलाई मतदान गर्न नपाएको सन्दर्भमा भने, “जहाँ मतदान गरेपनि सबै आफैँलाई नै त हो ।”

ललितपुर भैंसीपार्टीका मतदाता र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र काठमाडौँ क्षेत्रं १ बाट उम्मेदवार छन् । उनले पनि आफूmलाई मतदान गर्न पाएनन् ।

प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ३८ को उपदफा १ मा भनिएको छ–कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामवली नाम दर्ता भएका मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडाको निजलाई तोकिएको मतदान केन्द्रमा मतदान गर्नुपर्नेछ ।

कमेन्ट गर्नुहोस्