निर्वाचन सम्पन्नपछि अध्यक्ष प्रचण्डको विज्ञप्ति सार्वजनिक

चितवन, मंसिर २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको यो पहिलो ऐतिहासिक निर्वाचनले देशमा राजनीतिक स्थायित्व र आर्थिक संवृद्धिको बाटो फराकिलो पार्नेमा म विश्वस्त रहेको बताएका छन् ।

निर्वाचन सम्पन्न भएपछि विज्ञप्ति जारी गर्दै प्रचण्डले निर्वाचनमा उल्लासमय सहभागिताबाट नेपाली जनताले समावेशी लोकतन्त्रप्रतिको निष्ठासँगै आफ्नो सम्प्रभुता र निर्णय क्षमता पनि शानदार ढंगले प्रमाणित गरेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश र प्रतिनिधिसभाको ऐतिहासिक निर्वाचन सामान्य अपवादबाहेक अत्यन्त शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । निर्वाचनका लागि अहोरात्र खटिएका सबै राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सञ्चारजगतसँगै अन्तर्राष्ट्रिय समुदायप्रति पनि म धन्यवाद र आभार प्रकट गर्दछु । यो निर्वाचनको सफलतासँगै राष्ट्रको प्रगति र संवृद्धिका लागि हामी सबै एकजुट हुनेमा म विश्वस्त छु ।’

कमेन्ट गर्नुहोस्