मानिस कुनै पनि बेला बहुलाउन सक्छ !

घनश्याम खड्का/

म कोठाबाट निस्किएँ हतार गरेर । मूल ढोका खोलेँ । बाइक निकालेँ । अनि एकदम जोडका साथ हिजो राति आएकैतिर बतास्सिएँ ।

बाक्लो हुस्सुले बाटो उभिएको ठाउँभन्दा पर अलिकति मात्रै देखिन्थ्यो । त्यसपछि चाहिँ संसारको सिमाना यहीँबाट सकिएछ क्यारे भनेजस्तो गरी परपरसम्म हुस्सुमात्रै फैलिएको थियो, लम्पसार परेर ।

अमूर्त चित्रजस्तो यस्तो दृश्यले …”>

म कोठाबाट निस्किएँ हतार गरेर । मूल ढोका खोलेँ । बाइक निकालेँ । अनि एकदम जोडका साथ हिजो राति आएकैतिर बतास्सिएँ ।

बाक्लो हुस्सुले बाटो उभिएको ठाउँभन्दा पर अलिकति मात्रै देखिन्थ्यो । त्यसपछि चाहिँ संसारको सिमाना यहीँबाट सकिएछ क्यारे भनेजस्तो गरी परपरसम्म हुस्सुमात्रै फैलिएको थियो, लम्पसार परेर ।

अमूर्त चित्रजस्तो यस्तो दृश्यले मलाई अतिशय लोभ्याउँछ । अघिपछि हुँदो हो त रोकिएर कुहिरीमण्डल सडकबाट फुत्त–फुत्त मानिसहरु निस्किएको र पसेर बिलाएको रुमानीजस्तो लाग्ने घटनाको अवलोकन अवश्य गर्ने थिएँ ।

तर हतार थियो, थियो पनि के भन्नु ? हतारै गर्नुपर्ने स्थिती भएनभएको पत्तो मलाई कहाँ थियो र ! उसले भनेकी थिई, हतार छ । मैले त्यसलाई पत्याएरै हतार गरेकी थिएँ ।

जसरी एकनासले हिँडिरहेका बेला ‘सर्प !’ भन्नेबित्तिकै मन आत्तिन्छ, जीउ खुम्चिन्छ र ढुकढुकी बढ्छ त्यसै हिसाबले उसले ‘हतार छ , आऊ’ भनेपछि हतारपनको बोध शरीरका कोषकोषले गरिरहेका थिए । कति न गल्नबित्न लागे जस्तरी म कुदिरहनुको कारण कसैले सोधेको भए के भन्थे हँुला । जीवनमा कस्ताकस्ता कुरा भए, म हडबडाइनँ । हतार गरिनँ । मोनिकाको एक आग्रहले यस्तो व्याकुल किन बनाइरहेको छ ?

आधै घन्टामा म पुगेँ । उसको कोठाको ढोका हिजो मैले जति उघारेर हिँडेको थिएँ, त्यो त्यतिमात्रै उघ्रिएको थियो । ऊभित्र छे कि बाहिर छे ? त्यसको भेउ अझै पाइनँ । सुतिरहेकी होली, झ्वासझ्वास्ती जाने हिम्मत आएन । यो हिम्मत भन्ने चिज अक्सर चाहिने बेलामै गाय भइदिन्छ मेरो जीवनमा !

हिजो त ऊ मदिरा–लोकमा थिई र पो सँगै बिस्तारासम्म उसैले तानेर लगी । हुन सक्छ, होसमा यसो गर्नुलाई ऊ आपत्तिजनक ठान्छे । म एक क्षण उभिएँ । यताउति हेरेँ । ऊ कता छे ? त्यसको अत्तोपत्तो पाइनँ । ढकढक गरुँ, ढोका आधा खुल्ला छ, पसूँ, आधा बन्द छ । यस्ता झिनामसिनाजस्ता लाग्ने कुराले कहिलेकाहीँ कस्तो अड्काउने गर्छन् भने, पछि त्यो सम्झँदा आफैँलाई हाँसो उठ्छ ।

‘मोनु !’ घरमा को छ भन्नलाई सोध्ने बान्कीको एउटा सम्बोधन मबाट फुत्कियो ।

त्यसको बोध हुनेबित्तिकै आफैँलाई अलिक अप्ठेरो लाग्यो । यस्तो त मैले उसलाई कहिल्यै भनेको छैन । भन्ने गरी नजिकको म हुँदा पनि म होइन । नाममा उकार लगाएर बोलाउनु भनेको अति प्रिय बिन्दुबाट गरिने पुकार हो । हृदयका हिसाबले अत्यन्त नजिक भएका बखत गरिने यस्तो सम्बोधन उसलाई मैले किन गरेँ ? म आफ्नै मनोविज्ञान केलाउनतिर लागेँ । उसले अब के भन्ली ? अलिक अप्ठेरो मानेर मैले भित्र पुलुक्क चियाएँ । त्यहाँ त ऊ थिइन । हतार छ भन्थी, त्यसको संकेत पनि केही देखिँदैन त ।

‘मोनिका !’ यसपटक मैले अलिक ठूलो स्वरमा बोलाएँ ।

‘मोनु नै भनेर बोलाऊ न !’ खितित्त आवाज भित्रबाट आयो ।

म झसंग भएँ, आवाज आउँछ , मान्छे छैन । यसपटक मैले ढोका पुरै उघारेँ । हेर्छु ओच्छ्यान रित्तै छ ।

‘बस न !’ उसले भनी ।

लगत्तै पानीको कलबल सुनेँ । हत्तेरी ! ऊ त बाथरुमभित्र रहिछ । एटेच बाथरुम हिजो मैले कस्तो याद नगरेको ! उसको खाटमा बसेँ । बाथरुमको ढोका घुरुक्क उघ्रियो । ऊ निस्किई, टाबेल बेरेर अत्यन्त कन्जुस्याइँका साथ उसले लाज मान्नुपर्ने कुराहरु ढाकिएको थियो । त्यो हेर्दा पुलकित अवश्य भएको हुँ, तर स्वाभाविक हुन सकिनँ । एक खालको उकुसमुकुस भएर आयो । घरी झ्यालतिर हेरेजस्तो गर्थेँ, घरी उसका पुष्ट छातीतिर आँखा कुदाउँथे र घरी नितम्ब वरिपरि गएर टक्क अडिन्थेँ । उसको लामो र कालो कपालबाट तपतप पानी चुहिरहेको थियो । केही पानीका थोपा गोरो र सुलुत्त परेको उसको ढाडबाट मोतीका दानाजस्तै भएर अडिएका थिए ।

अद्भुत सौन्दर्यले धपक्क बलेकी थिई ऊ । मलाई देख्नेबित्तिकै मुस्कुराई । मैलेचाँहि जवाफी मुस्कुराहट दिएर उसका आँखा नियालेँ । तर धेरैबेर हेरिरहन सकिनँ । हेर्ने आँटै आएन । मोबाइल निकालेर त्यसै खेलाउन थालेँ । ऊ कपडा फेर्नतिर लागी ।

‘बेपत्ता महाराज !’ भनी, ‘आधी रातमा गायब हुन सक्ने कलाको प्रदर्शन गज्जबले ग¥यौ त !’

के खालकी केटी होली यो ! आधा रातमा कुनै पुरुषलाई बिस्तारामा ल्याएर स्वाँफ्वा गर्दै निदाउन सक्छे । तौलियाको भरमा बाथरुमबाट निस्किदिन सक्छे । अनि एकदम स्वभाविकताका साथ यसरी बोलिदिन सक्छे !

‘योगी सुते पनि जागै रहन्छ, अरु जागे पनि निद्रामै हुन्छन् बालक !’ उसले भनी, ‘या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी भन्ने भुल्यौ कि के हो !’

उसलाई अँगालोमा बेरेर अनि जुलेफीजस्ता ओठलाई अलिकति टोकिदिएर भनिदिन मन लागेको थियो, भुलेको छैन बालिके ! तर यस्तो गर्न म कहाँ सक्थेँ र ! तनक्क जीउ तन्काएर उसका मायावी आँखामा नियाल्दै मैले भनेँ, कहिलेदेखि लागेको हो यो शास्त्रीय खोकी ?

ऊ मुस्कुराई । सुन्तलेरंंगी टपमा घाँटी छिराउँदै किचनतिर पुलुक्क हेरी । अनि भनी, कफी बनाऊँ कि चिया ?

‘केही पनि पर्दैन, मलाई हतार छ । पहिले भन के गर्न बोलायौ ?’ मैले हतारो देखाएँ ।

‘आउन पाएको छैन जान हतार !’ उसले आँखा तरी । कालो ट्राउजरमा दुवै खुट्टा पालैपालो हुली । टाबेल निकालेर कुनातिर फाली । अनि सोझै किचनतिर जाँदै भनी, एक मिनेट ल !’

अब म उसको ढाड मात्रै देख्न सक्ने भएँ । माछाजस्तो सुलुत्त परेको जीउमा मेरा आँखा चिप्लिरहे धेरैपटक ।

कसरी यो यति नजिक ठानिरहेकी छ मलाई, सोचेर छक्क पर्छु म । उसले फ्रिजबाट दुध निकाली । बटन थिचेर चुलो बाली । अनि एक कपमा नापेर दुधलाई तताउन भाँडामा हालेर चुलोमाथि राखिदिई । म यो हेरिरहेको थिएँ एकटक ।

इलेक्ट्रिक केट्लीबाट उसले तातो पानी एउटा कपमा हाली । उम्लिएको दुध निकालेर अर्को कप भरी । अनि दुवैमा कफी हालेर चम्माले हल्लाउन थाली ।

म भने उसको ओछ्यानमा ढल्किएर उसैको जीउभरि आँखा दौडाइरहेको थिएँ । उसले दूधवाला कफी मतिर तेस्र्याउँदै भनी, ‘चिनी राख्न मन लागे, ऊ त्याहाँ टेबलमा छ ।’

खाटछेऊ काठको बुट्टेदार खुट्टाहरु भएको एउटा टेबल र त्यसमाथिथ काँचको कचौरामा राखिएको वर्गाकार सुगर क्युबमा मेरा आँखा परे ।

‘मलाई दुधवालै कफी मन पर्छ भनेर कसरी थाहा पायौ !’ उकुसमुकुस छल्न केही बोल्नैपथ्र्यो, बोलिदिएँ ।

‘साइकोलोजी आफू मात्रै बुझ्छु भन्ने ठान्छौ ? ऊ फन्किई ।

‘मैले त्यस्तो ठानेँ ?’ मैले उसलाई थोरै चिमोटेँ । ऊ खितित्त हाँसी । अनि भनी, ‘हिजो सँगै कफी पिएको बिर्सिसक्यौ !’

मैले कफी सुरुप्प पारेँ । अनि भने, ‘वाह ! तिम्रो कफी बनाउने कलालाई ह्याट्स अफ !’

‘मीठो भएन ?’ उसले सोधी । कफी साँच्चै नै मीठो थियो । र, मैले साँच्चैको तारिफ गरेको थिएँ । तर उसलाई लागेछ , मैले उडाइरहेको छु ।

‘तिमीले दिएपछि विष पनि मीठो हुन्छ, कफीको के कुरा !’ मैले अर्को चुस्की लिएँ ।

‘चेपारे !’ उसले आँखा तरी । कालो कफीलाई गुलाबी ओठले सुरुप्प पारी । अनि भनी, ‘एउटा कुरा सोधूँ ?’

‘दसवटा सोध !’ मैले फोकटको उदारता देखाईदिएँ ।

‘तिमीले आफू मरेको सपना देखेका छौँ ?’ उसले मलाई ट्वाल्ल परेर हेरी ।

‘के अरे !’ प्रष्ट बुझे पनि मैले सोधेँ ।

ऊ खाट छेऊको सानो मखमली कभर भएको गोलो मेचमा थचक्क बसी । मतिर फर्की । कालो चिनीबिनाको कफी फेरि सुरुप्प पारी । अनि भनी, ‘राति मैले अनौठो सपना देखेँ, आफैँ मरेको ! कता पहाडतिर घुम्न गएकी रहेछु रे ! हिँड्दाहिँड्दै मेरो सास बन्द भयो । हात–गोडा चल्न छोड्यो । अनि म ढलेँ ।’

‘लेक लागेर होला,’ मैैले जिस्काएँ, इट्स विकज अफ हाई अल्टिट्युड मोनु ! औषधी बोकेकी थिइनौ ?’

‘बीचमा किन बोलेको !’ भनेजसरी उसले मलाई आँखा तरी र भन्न थाली, ‘एक छिनमा गिद्धहरु उड्दै आए । अनि मलाई कपाकप खान थाले । हेर्दाहेर्दै म त हराए !’ यति भनेर ऊ शून्यमा कतै टोलाएजस्तो भई ।

‘यही भन्न बोलाएको ?’ मैले उसको हात समातेँ ।

‘अनि म झल्यास्स ब्युँझिएँ’ ऊ जुरुक्क उठी, मलाई साँच्चि नै मरेँजस्तो लाग्न थाल्यो । उठेर ऐना अगाडि गएँ । कपडाहरु सबै फुकालेँ । मेरो जीउ जस्ताको तस्तै थियो । तर जीउ छैनजस्तो लाग्यो । छामेँ, अर्कैको जीउमा म छुजस्तो भयो । चिमोटेँ, दुख्यो । तर अरु कसैलाई दुखेको पत्तो मैले पाएजस्तो लाग्यो । अनौठो हगि ! जन्मदिनको रातमा मरेको सपना देख्नुको के अर्थ होला हँ ?’

ऊ एकोहोरो बोलिरहेकी थिई । भनी, ‘तिमीलाई कहिले यस्तो भएको छ ? मृत्युको आभासजस्तो कुनै कुरा ? वा कहिले मर्छुजस्तो लागेको छ ?’

‘अहँ !’ मैले यति मात्र भनेँ । ऊ खाली यस्तै कुरा गर्छे । एकदम अनौठा र आम केटीहरुले नसोच्ने कुरा ।

‘एउटा कुरा भन, तिमी कहिले मर्छुजस्तो ठान्छौ ?’ सोधी, एकदम गम्भीर भएर ।

‘यो कसरी भन्न सकिन्छ ?’ मैले भनेँ, ‘मृत्यु त अज्ञात छ मोनु ।’

मलाई अनौठोपनले अब बेस्सरी गाँज्न थाल्यो । यति सुन्दरीको मुखबाट मृत्युको कुरा निक्लनु र त्यसमा यस्तो प्रश्नको सामना गर्न पर्नुको अप्ठेरो भनिनसक्नु हुँदो रहेछ । कम्तीमा यो उमेरमा त उसले जीवनको कुरा गर्नुपर्ने हो । प्रेम र आनन्दको कुरा गर्नुपर्ने हो । प्रणय र तृप्तिको कुरा गर्नुपर्ने हो । तर भन्छे, ‘मृत्यु अज्ञात हो, तर सत्य हो । यो जुनसुकै बेला हुन सक्छ । हामी अहिल्यै मर्न सक्छौ । कुनै पनि भेट अन्तिम भेट हुन सक्छ । कुनै पनि वाक्य अन्तिम वाक्य हुन सक्छ । म बोल्दाबोल्दै सधैँको लागि रोकिन सक्छु । कुनै पनि रात अन्तिम रात हुन सक्छ । कुनै पनि बिदाइ अन्तिम बिदाइ हुन सक्छ । अहिल्यै भुइँचालो आउन सक्छ । यो सिलिङ अहिल्यै खसेर थिचिदिन सक्छ । हिँड्दाहिँड्दै गाडीले किच्न सक्छ । बाटामा सर्पले टोकिदिन सक्छ । कुनै पागलले हानेको गोलीले मुटु छेड्न सक्छ….।’

मैले उसलाई रोकेँ । उसका सुरिला गर्दनमा हत्केला चिप्ल्याइदिएँ । अनि कपाललाई थोरै दुख्ने गरी तानेर भनेँ, ‘अनि कुनै पनि क्षण मान्छे बहुलाउन सक्छ !’

ठानेको थिएँ, यसरी उडाइदिएकामा उसले मलाई गाली गर्ली । नभए पहिलेजस्तो अलिकति रिस र अलिकति स्नेह मिसमास पारेर आँखा तर्ली । तर त्यस्तो केही हुन पाएन । उसले आफ्नो तल्लो ओठलाई हल्का टोकी । सेतो भुइँमा पहेँलो फूलको बट्टा भएको पर्दालाई अलिकति खोली । अनि भनी, ‘ठीक हो, मानिस कुनै पनि बेला बहुलाउन सक्छ !’

मलाई जान हतार भइसकेको थियो । उसको कुरा टुंगिने छाँट देखिएन । टुंग्गाउन खोज्दै मैले भनेँ, ‘बहुलाएन भने आत्महत्या त जरुर गर्छ यस्ता कुराहरु सोच्न थालेपछि । घडी हेर, कति बज्यो ! कहीँ जानु छैन ?

केही गर्नु छैन ?’

‘खालि खानु, सुत्नु र हिँड्नु अनि काल पर्खेर मर्नु पनि एउटा आत्महत्या नै त हो नि , तर यो ढिलो र दिनहुँ लगाएर गरिन्छ । कुर्न नसक्नेहरु एकै दिनमा गर्छन् । यसमा फरक के छ र ?’ उसले भनी ।

म चुप लागेँ । भन्नु पनि के र ! कफी सेलाइसकेछ । त्यसलाई त्यसै राखिदिएँ ।

( घनश्याम खड्काको उपन्यास  ‘निर्वाण’बाट साभार )

कमेन्ट गर्नुहोस्