६ महिनामा विनियोजित बजेटको २७ प्रतिशतमात्र खर्च

काठमाडाैं, पुस ९ । चालू आवको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको र कूल विनियोजित बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारमा २६.६ प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार चालू खर्च रु दुई खर्ब ९२ अर्ब ७८ करोड अर्थात् ३६.४४ प्रतिशत खर्च भएको छ । यसैगरी पूँजीगततर्फ रु ३१ अर्ब ९९ करोड अर्थात् ९.५५ प्रतिशत खर्च भएको छ ।

वित्तीय व्यवस्थातर्फ रु १५ अर्ब ४१ करोड अर्थात् १०.९९ प्रतिशत खर्च भएको छ । सरकारले पूँजीगत खर्च बढाउन सम्बन्धित मन्त्रालयमार्फत आयोजना तथा कार्यालयहरुलाई निर्देशन दिइएको जनाएको छ ।

चालू आवको मंसिर महिनासम्ममा रु दुई खर्ब ५१ अर्ब १२ करोड ७४ लाख ९७ हजार राजश्व संकलनको लक्ष्य राखिएकामा ९५.५६ प्रतिशत असुली हुनसकेको छ । यो गत आवको यसै अवधिको तुलनामा ११४.९७ ले वृद्धि हो । (रासस)

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सोलुखोला जलविद्युत् आयोजनामा छ बैंकको लगानी
%d bloggers like this: