एमाले नेतृत्वलाई प्रश्न : प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन केकाे डर ?

गोकर्ण भट्ट ।
आदरणीय एकताको प्रक्रियामा उत्साहपूर्वक अघि बढ्नु भएका एमाले समर्थकहरु, वाम एकताको उत्साहमाथि चौतर्फी पानी छ्याप्ने प्रयास भइरहेको बेला तपाईहरुलाई सम्बोधन गर्नुपर्ने बाध्यता म जस्ता एकतालाई औधी माया गर्नेहरुलाई आइलागेको छ ।

मित्रहरु, दशैंको बेला नेपाली कांग्रेस र माओवादीको सरकार चलिरहेको थियो । निर्वाचन मुखैमा थियो । तपाई हामीलाई एउटा डर थियो । खासगरि स्थानीय निर्वाचनमा मधेसमा हामीले भोग्नुपरेको पराजयले ५० प्रतिशत बढी मतदाता भएको प्रदेश नं. २ मा एमालेको अवस्था के होला ? र, त्यसले भविष्यको समीकरण कस्तो बनाउला भन्ने एउटा आशंका व्याप्त थियो । यो आशंका वामपन्थीहरुलाई फुटाएर राज गर्न खोज्ने जनविरोधीहरु बलियो हुने पनि थियो ।

तत्कालका लागि कांग्रेससँग माओवादी या एमालेको तालमेल भएपनि यसले परिवर्तनको रथलाई नै रोक्ने निश्चित थियो । किनभने संविधान निर्माणको क्रममा यदि एमाले र माओवादीले बल नगरेको भए यो अग्रगामी चरित्रको संविधान बन्न सम्भव थिएन ।

यथास्थितिमा बस्न नचाहने प्रचण्ड, गतिशीलतामा जीवन खोज्ने उनको बानी, सत्ताको सुरक्षा र व्यक्तिगत लाभ र महत्वाकांक्षाको पूर्ति त कांग्रेससँग मिलेर हुनसक्थ्यो ।

नेकपा एमालेले परिवर्तनका लागि लामो संघर्ष गरेको छ । तर यदाकदा इतिहासका घुम्तीहरुमा एमालेले धक्कापूर्ण प्रहार गर्न भने चुकेको छ । जस्तो २०४६ र पछि २०४७ को संविधान बनाउने बेला होस या राजाले शासन सत्ता हातमा लिएपछि असोज १८ गतेपछि राजतन्त्र आधा सच्चिएको छ भन्ने विश्लेषण गदाृ होस्, एमाले जस्तो परिवर्तनकामी शक्तिले खुट्टा लरबराएकै कारण जनविरोधी शक्तिले झन बलियो हुने मौका पाए । यदि नाकाबन्दीको बेला जस्तो एमालेले त्यतिखेर गणतन्त्रको पक्षमा अडान लिएको भए, त्यसपछि पहिलो संविधान सभाको निर्वाचनमा त्यसरी नै अडान लिइदिएको भए…, इतिहासका पानाहरु यसअघि नै अलि फरक ढंगले लेखिन्थे ।

तर जे भएपनि ढिलै भएपनि वामपन्थीहरुबीच अति तिक्ततापूर्ण, शत्रुतापूर्ण सम्बन्ध विकास भइरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विशेष पहलमा एमालेसँग एकताको प्रस्ताव अघि सारियो । यथास्थितिमा बस्न नचाहने प्रचण्ड, गतिशीलतामा जीवन खोज्ने उनको बानी, सत्ताको सुरक्षा र व्यक्तिगत लाभ र महत्वाकांक्षाको पूर्ति त कांग्रेससँग मिलेर हुनसक्थ्यो ।

तर समाज विकासको निरन्तरतामा आकस्मिक धक्का आवश्यक छ भन्ने उनको चिन्तन भएका कारण कसैले नसोचेको एकताको बिन्दुमा हामी आइपुग्यौं । यहाँनेर कमरेड केपी ओलीको दूरदर्शिता र इमान्दारिता निकै सम्मानयोग्य छ । वहाँजस्तो हठी र मुखमा लगाम नलगाएर बेवाफ (निर्धक्क) जे पनि बोल्ने व्यक्तिले विगतको सबै बिर्सेर एकताका लागि सहमति गर्नु भयो । एकताको प्रक्रिया अघि बढयो ।

यदि यो एकताको प्रक्रिया अघि नबढेको भए, हामी अझै यथास्थितिको घनचक्करमा रुमल्लिन्थ्यौं । कांग्रेसको केही बढी सीट आउँथ्यो, एमाले र माओवादी अलि खुम्चिन्थे ।

यदि यो एकताको प्रक्रिया अघि नबढेको भए, हामी अझै यथास्थितिको घनचक्करमा रुमल्लिन्थ्यौं । कांग्रेसको केही बढी सीट आउँथ्यो, एमाले र माओवादी अलि खुम्चिन्थे । आकारमा जसको जे भएपनि, एमाले नै पहिलो दल भएपनि यसले समाजको यथास्थितिमा परिवर्तन आउने थिएन । फेरि सरकार बनाउन तिनै प्रतिक्रियावादी र वामपन्थीहरुलाई फुटाएर राज गर्न खोज्ने जनविरोधीहरुसँगै हामीले सरकार बनाउनु पथ्र्यो । तिनै कमल थापा, गच्छदार, मण्डललगायतलाई हामीले मन्त्रीको तमसुक गर्नुपथ्र्यो । घुमिफिरी रुम्जाटारको अवस्थामा हामी पुग्थ्यौं । हामीले २००६ सालमा लेखेको कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र फेरी निराश बन्थ्यो ।

तर इतिहासमा क्रमभंगताका लागि सिपालु प्रचण्ड र अडानका लागि सम्मानयोग्य केपी शर्मा ओली, एमालेका अन्य नेता, माओवादीका नेताहरुको समर्थन र सहकार्यले निर्वाचनमा कसैले कल्पना नगरेको गठबन्धनबाट हामी दुई तिहाई जनमत ल्याउन सफल बन्यौ, जनताले यो एकतालाई दिलैदेखि, मनैदेखि स्वीकार गरे, शुभकामना दिए । ल, कम्युनिष्टहरु एक बन, केही गर, समाजलाई गतिशील बनाउ भनेर आशीस दिए । हामी निर्वाचनको परिणामसम्म आइपुग्यौं ।

तर मित्रहरु, यो एकता यो बिन्दुमा आइपुग्दा संशयमा पर्यो । त्यो पनि कम्युनिष्टहरुको उदात्त छातीभित्रबा निस्केको पदको बहसले । पार्टी अध्यक्ष को बन्ने भन्ने बहसले ? प्रचण्डलाई पार्टी अध्यक्ष दिनुहुन्न भन्ने कलुषित सोचाईले, विदेशी र स्वदेशी प्रतिक्रियावादीहरुले फेरी पुरानै किसिमले वामपन्थीहरुलाई एक अर्कामा लडाउन खेलेको षडयन्त्रले र, यसको अन्तर्यमा केही एमालेका शीर्ष आदरणीय नेताहरुले सरकार बनाउन गैर माओवादी विकल्प खोजेको समेत कुरा सुनियो । मित्रहरु, सरकार नै बनाउनु हाम्रो ध्येय हो, सत्तामा नै पुग्नु ध्येय हो भने यो समग्र वाम एकताको कुनै अर्थ थियो त ? सरकारमा त हिजो पनि कसैको बैशाखी चढेर माओवादी र एमाले पुगेका होइनन र ?

केही नेता कमरेडहरुले जानी जानी बहस उछालिरहेका छन । कार्यकारी दुई जना नेता हुन सक्दैन । पार्टी अध्यक्ष र सरकार प्रमुख एकै व्यक्ति हुनुपर्ने भनिरहदा त्याे हामीले यति लामो सपना बोकेर गरेको एकताको प्रक्रिया, भावना र स्पिरिटसँग मेल खादैन ।

माओवादी केन्द्रका नेताहरुले अहिलेसम्म पनि एकताविरोधी कुरा गरेको सुनिएको छैन । एमालेभित्र पनि एकताका पक्षमा सबै एकढिक्का छन् । तर केही नेता कमरेडहरुले जानी जानी बहस उछालिरहेका छन । कार्यकारी दुई जना नेता हुन सक्दैन भनिरहेका छन् । पार्टी अध्यक्ष र सरकार प्रमुख एकै व्यक्ति हुनुपर्ने बताइरहेका छन्, जुन कुरा हामीले यति लामो सपना बोकेर गरेको एकताको प्रक्रिया, भावना र स्पिरिटसँग मेल खान्छ त ?

मित्रहरु, पार्टी एकता, त्यो पनि फरक कम्युनिष्ट कार्यदिशा बोकेका शक्तिहरु बीच, त्यति चानचुने परिघटना होइन । कहाँ एमाले, कहाँ माओवादी ? कहाँ संसदलाई पूर्ण स्वीकारेर २०५१ देखि सरकारमा यो वा त्यो रुपमा संसदीय अभ्यासमा लागेको एमाले, कहाँ संविधानसभाको माग गर्दै जनयुद्दपछि पनि निरन्तर धक्का दिइरहेको माओवादी । तर, इतिहासमा दम्भ र कतिपय सैद्धान्तिक जडतालाई परित्याग गरि माओवादी र एमाले अहिले एक हुने कुरामा हामीले राजनीतिक कार्यदिशाका लागि जसरी बहस गर्नुपथ्र्यो, त्यो हामीले गर्न सकेका छैनौं ।

अहिले ओली प्रधानमन्त्री हुने संवेदना बोकेर हामीले ओली नै पार्टी अध्यक्ष भनिरहँदा भोली त्यो ठ्याक्कै उल्टो भएमा प्रचण्डलाई दुबै कार्यकारी दिन हामी सक्छौं ।

हामीले त अब माओवादीले भनेको पूँजिवादी जनवादी क्रान्ति पुरा भयो कि भएन ? त्यसका के के कार्यभार बाँकी छन ? हामीले भनेको समाजवाद कस्तो हुने ? त्यहाँ पुग्ने चरण के हो ? संसदलाई रणनीतिक उपयोग गर्ने र नयाँ ढंगको संसदीय व्यवस्था कसरी लागु गर्ने, हाम्रो विदेश नीति, नोकरशाही संयन्त्र र योजनाहरु के हुने ? हामीले कस्तो प्रकारको संगठन बनाउने, मजदूर, किसान र सर्वहाराको नवीन परिभाषा, चरित्र, वर्ग संघर्षको स्वरुप आदिका बारेमा बहस गर्नुपर्ने होइन र ?

तर मित्रहरु, हामी कहाँ अल्झियौं, हामी अल्झियौं सरकारमा को जाने ? पार्टी अध्यक्ष को हुने ? भन्ने बहसमा । यो नियोजित बहस हामीले किन सिर्जना गरयौं कमरेडहरु ? कतै हामीलाई एकताविरोधीहरुले त उचालेको छैन । कता कता आशंका गर्नुपर्ने अवस्था देखिएको छ ।

कल्पना गरौं, पार्टी अध्यक्ष र सरकार प्रमुख एकै व्यक्ति हुने भए । मानौं केपी ओली प्रधानमन्त्री भएनन र प्रचण्ड नै सरकार प्रमुख र पार्टी अध्यक्ष पनि हुने भए । यो अवस्था हामीले स्वीकार्छौं कि स्वीकार्दैनौं । अहिले ओली प्रधानमन्त्री हुने संवेदना बोकेर हामीले ओली नै पार्टी अध्यक्ष भनिरहँदा भोली त्यो ठ्याक्कै उल्टो भएमा प्रचण्डलाई दुबै कार्यकारी दिन हामी सक्छौं ।

प्रचण्डले पद खोजेका भए  ५ वर्षे प्रधानमन्त्रीको तमसुक कांग्रेसले तयार गरेर बसेको सत्य होइन र ?

कल्पना गरौं, पार्टी अध्यक्ष र सरकार प्र्रमुख कमरेड ओली हुनुभयो । त्यो अवस्थामा प्रचण्डको भूमिका के रहने कमरेड ? पार्टी उपाध्यक्ष हुने कि पार्टी महासचिव । नेपाली क्रान्तिको युगलाई समाजवादसम्म पुर्याउन सपना बोक्ने प्रचण्ड के गरेर बस्ने कमरेडहरु ? के प्रचण्डको भूमिका पूर्ण निषेध गरेर पार्टी एकता सम्भव छ ? प्रचण्डले पद खोजेका भए माथि नै भनियो, उनका लागि ५ वर्षे प्रधानमन्त्रीको तमसुक कांग्रेसले तयार गरेर बसेको सत्य होइन र ? यदि एकजना व्यक्ति सबै कुरा बिर्सेर नेपाली समाजको अग्रगमन र समृद्धिका लागि यति ठूलो अभियानमा हिँडन खोजेको छ भने त्यो व्यक्तिले पार्टीको नेतृत्व गर्न पाउनु हाम्रा लागि गौरवको विषय हुनुपर्ने होइन र ?

कता कता सुनिन्छ, एकथरि व्यक्तिहरु प्रचण्डको यो बौद्धिक र राजनीतिक व्यक्तित्वबाट डराउँछन रे, प्रचण्ड निश्चितरुपमा पनि गतिशील नेता हुन । उनले समयको माग चिन्छन, उनी यथास्थितिमा बस्न सक्दैनन । जनवादी राज्यसत्ता स्थापनाको उनको लक्ष्य पुरा नभएपनि समर्पण गर्नुको साटो उनले राजतन्त्रलाई विदाई गर्ने रणनीति अन्तर्गत देशलाई एमाले र काँग्रेसलाई समेत झक्झक्याएर यहाँसम्म ल्याइपुर्याए ।

तर, अब बन्ने पार्टी अध्यक्षको भूमिका र हिजो प्राधिकार प्राप्त प्रचण्डको अवस्था त फरक होला नि कमरेडहरु । प्रचण्ड अध्यक्ष बन्दा त झन पार्टी क्रान्तिकारी हुने, गतिशील हुने, समाजको परिवर्तनलाई अगाडि लैजाने दिशामा अघि नबढला र ? अनि पार्टीको संगठनात्मक नियम हुन्छ, त्यसले त उनी पनि बाँधिएलान नि । त्यसो हो भने प्रचण्डलाई अध्यक्ष बनाउन हामी किन डराउने ?

यदि यो एकता भएपनि फेरि अर्को दशक पनि यही संसदीय आहालमा यो वा त्यो रुपमा जनताका सपनाहरु कुल्चिँदै हामी हिँडनु नपर्ला र ?

मित्रहरु, इतिहासले यस्ता मौका बिरलै दिन्छ , वित्तिय पूँजिवादले चरमरुपमा गाँजेको समयमा नेपाली समाजमा घटिरहेको यो बिरलै घटनालाई हामीले क्यास गर्न सकेनौं र फेरी हाम्रा तुच्छ साना स्वार्थका कारण यो एकता प्रक्रियाले धक्का खायो भने त्यसपछिको अवस्था कल्पना गर्न सक्नुहुन्छ ? हामी २०४८ सालदेखि बुर्जुवा सत्ताको चक्रव्यूहमा फसेका छौं, यदि यो एकता भएपनि फेरि अर्को दशक पनि यही संसदीय आहालमा यो वा त्यो रुपमा जनताका सपनाहरु कुल्चिँदै हामी हिँडनु नपर्ला र ?

त्यसैले अहिले खुला मनले राजनीतिक कार्यदिशाको बहसमा अघि सरौं, केपी ओलीलाई सरकारको नेतृत्व गरेर हामीले बनाएको घोषणापत्रलाई वास्तविकतामा रुपान्तरण गर्न सहयोग गरौ । प्रचण्डलाई पार्टी अध्यक्ष बनाऔ र समाजवादी क्रान्तिको कार्यदिशा तयारा पारौं । यो नै इतिहासले सुम्पेको जिम्मेवारी हो ।

 

कमेन्ट गर्नुहोस्