प्रचण्डको माया चाहिन्छ, फेरि कार्यकर्ता भएर लाग्छु : सांसद छक्क बहादुर लामा

एउटै मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिए विजयी बनेका छक्कबहादुर लामालाई बुधबार दिउँसो माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा भेटिए ।  हुम्लामा वाम गठबन्धनका उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएकै कारण कारबाहीमा परेका उनी पेरिसडाँडामा माओवादी अध्यक्ष प्रचण्डलाई बधाई दिन पुगेका थिए । पेरिसडाँडामा भेटिएका क्रममा साेधिएका केही प्रश्नहरु

तपाई त माओवादी केन्द्रबाट कारबाहीमा परेको मान्छे, पेरिसडाँडामा पो भेटियो त ?

पेरिसडाँडामा म माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डलाई बधाई दिन आएको थिए । मैले उहाँलाई बधाई दिए र उहाँले पनि मलाई दिनुभयो ।

अध्यक्षले तपाईलाई केही भन्नुभएन ?

उहाँलाई खादा लगाउनुपूर्व मैले सोधे, अध्यक्षज्यु मेरो हातको खादा चल्छ कि चल्दैन ? जवाफमा उहाँले मसक्क मस्केर भन्नुभयो ‘अब खादा मात्रै होइन, सबै चल्छ ।’ त्यतिबाहेक हामीबीच कुराकानी हुन पाएन । उहाँले एक दुई दिनमा भेट्ने वाचा गर्नुभएको छ ।

स्वतन्त्रबाट चुनाव जित्न गाह्रो हुन्छ भन्ने लागेको थिएन ?

मैले उम्मेदवारी स्वतन्त्र रुपमा दिए पनि मसँग आन्तरिक रुपमा धेरैजना साथीहरु हुनुहुन्थ्यो । हुम्लाको निर्वाचनको सन्दर्भमा मःम जस्तै थिए म । बाहिर मैदा भित्र मासु, अर्थात बाहिर म मात्रै देखिने, भित्रभित्रै सबैजनाको साथ थियो । म तपाईको लोकप्रिय सञ्चारमाध्यममार्फत के भन्न चाहन्छु भने, म हुम्लाका वामपन्थी माओवादी र एमालेका साथीहरुको आन्तरिक र बाह्य समर्थनकै कारण जितेको हुँ ।

पार्टीले कारबाही गरेको मान्छेलाई पनि भोट दिँदो रहेछ है ?

पार्टीले कारबाही गर्यो रे भन्ने सुनेको हुँ, औपचारिक रुपमा मलाई जानकारी छैन । रे को आधारमा मैले पार्टीले कारबाही गर्यो भनेर बुझेको छैन ।

हुम्लाका माओवादी कार्यकर्ताहरुको चाहना के छ ?

हुम्ला जिल्ला पार्टीको बहुमत कार्यसमिति साथीहरु मेरो पक्षमा खुलेरै लाग्नुभएको छ । त्यहाँका सबै साथीहरुको अहिलेको चाहना भनेको केन्द्रीय तहका नेतासँग नजिकको सम्बन्धमा रहनुस्, भन्ने नै छ त्यसलाई मैले पनि सहज रुपमा लिएको छु ।

अहिले त स्वतन्त्रत्र सांसदको हैसियतमा हुनुहुन्छ, अब माओवादीकै सांसद् बन्ने हो ?

जिल्ला कार्यकर्ताहरुको चाहना भनेकै माओवादीमै फर्केर माओवादी पार्टीकै सांसद बन्नुस्, भन्ने छ । त्यसकारण म उहाँहरुको चाहनालाई नकार्न सक्दिन । तर केही शर्त राखेर मात्रै म माओवादीमा फर्किन्छु ।

के शर्त हो, त्यस्तो ?

अब मेरो एउटै चाहना भनेको पार्टीका श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डबाट मैले माया पाउनु पर्यो । उहाँको माया मैले राम्रोसँग पाएको खण्डमा म फेरी माओवादीको कार्यकर्ता भएर लाग्छु । -उज्यालाे अनलार्इनबाट

कमेन्ट गर्नुहोस्