फोरम नेता यादवद्धारा नगर भवन निर्माण गर्न १५ करोड मूल्य पर्ने जग्गा दान

सप्तरी, पुस २७। संघीय समाजवादी फोरम नेपालका नेता अनिरुद्धसिंह यादवले नगर भवन निर्माणका लागि १५ करोड मूल्य पर्ने १० कट्ठा जमीन सरकारलाई दान गरेका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिकाको भवन निर्माणका लागि नेता यादवले जमीन दान गरेका हुन् ।

करिब १५ करोड मूल्य बराबरको सो जग्गामा नगर भवन निर्माण गरिने बोदेबरसाइन नगरपालिकाका प्रमुख अतेशसिंह यादवले जानकारी दिए । भर्खरै सम्पन्न भएको प्रथम नगरसभाको भेलामा नेता यादवले नगर भवन निर्माणका लागि सो जग्गा दान गरेका हुन् ।

दान गरिएको जग्गा बोदेबरसाइन नगरपालिका वडा नंं ५ बोदेबरसाइन बजारमा हुलाकी सडक नजिकै रहेको छ । जग्गा दान गर्ने नेता यादव नगर प्रमुख अतेशसिंह यादवका बुबा हुन् ।

फोरम नेपालका केन्द्रीय सदस्य तथा सप्तरी जिल्लाका इन्चार्ज यादवले जग्गा दान गरेसँगै बोदेबरबाइन नगरपालिकालाई आफ्नो भवन निर्माण गर्न सहज भएको छ ।

राजनीतिक र सामाजिक व्यक्तित्वको रुपमा सप्तरीमा निकै नै चर्चित रहेका यादवले चार महिना अघि ८ कट्ठा दुई धुर जग्गा विद्यालयलाई दान गरेका थिए । बोदेबरसाइन नगरपालिकामा ५ करोड बराबर लागतको सो जग्गा श्री चन्दर शत्रुधन माविमा प्लस टू भवन निर्माणका लागि दान गरेका थिए ।

बोदेवरसाइन नगरपालिकाको सम्पन्न नगरसभाबाट आव २०७५/०७६ का लागि रु ५५ करोड ७८ लाख एक हजार सातको अनुमानित खर्च सार्वजनिक गरेको छ । कार्यक्रममा नगरप्रमुख आतेशसिंह यादवले बजेट प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्